युके: बाइबलले निर्माण गरेको देश  

एक पटक अफ्रिकाका राजकुमारका राजदूत महारानी भिक्टोरियालाई भेट्न आए । महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति र सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “बेलायतको सफलताको रहस्य यही पुस्तक हो भनी तपाईंको राजकुमारलाई बताइदिनू ।” उनले हातमा उठाएकी पुस्तक अरू कुनै नभएर पवित्र बाइबल थियो । लन्डनस्थित नेसनल ग्यालरी सङ्ग्रहालयमा यस दृश्यको एउटा प्रसिद्ध चित्र पनि छ । १८६३ मा ब्रिटिस चित्रकार थोमस जे. बार्करद्वारा बनाइएको यस चित्रमा महारानीले हातमा बाइबल लिएकी छन् । १८ वर्षको उमेरमा भिक्टोरिया बेलायतकी महारानी बनेकी थिइन् । उनले बेलायतमाथि ६३ वर्ष ७ महिना राज्य गरिन् । एकातिर उनले कुनै पनि राजाले भन्दा बेसी शासन गरिन् भने अर्कोतिर उनी नै सारा इतिहासमा सबैभन्दा बेसी राज्य गर्ने महिला रानी बनिन् । महारानी भिक्टोरियाको शासनकालमा बेलायतले औद्योगिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिक र सैनिक क्षेत्रमा व्यापक परिवर्तन ल्याएको थियो । एक वाक्यमा भन्नुपर्दा, बेलायतले उनको शासनकालमा जति उन्नति गर्‍यो त्यति कहिल्यै गरेको थिएन । उनले उन्नाइसौँ शताब्दीभरि नै आफ्नो नाउँ चम्काइन् । उन्नाइसौँ शताब्दीमा नै मिसनरी गतिविधि विश्वभर विस्फोट भएको थियो । संसारमा बेलायत सर्वश्रेष्ठ मुलुक हुनुको पछाडि बाइबलको उल्लेखनीय भूमिका थियो भन्ने तथ्यमा उनी सचेत थिइन् । ।[1]

सार्वभौम मुलुक बेलायत युरोपको उत्तर-पश्चिममा अवस्थित छ । युरोप र पश्चिमी गोलार्द्ध दुवैमा सबैभन्दा ठुलो टापुको देश हो, बेलायत । चारवटा देश अर्थात् इङ्गल्यान्ड, स्कटल्यान्ड, वेल्स र उत्तरी आएरल्यान्ड मिलेर बेलायत बनेको छ । बेलायतको एउटा भाग आएरल्यान्डसित जोडिएको छ भने बाँकी सबै भागलाई आन्ध्र महासागरले घेरेको छ । यस मुलुकको पूर्वमा उत्तरी सागर, दक्षिणमा अङ्ग्रेज जलमार्ग र दक्षिण-पश्चिममा सेल्टिक सागर पर्छन् । स्मरण रहोस्, उत्तरी सागर, अङ्ग्रेज जलमार्ग र सेल्टिक सागर आन्ध्र महासागरकै भाग हुन् । २,४२,४९५ वर्ग किलोमिटरमा फैलिएको बेलायत भूगोलको हिसाबले संसारको ७८ औँ ठुलो देश हो ।[2]

बेलायतलाई युके, युनाइटेड किङ्गडम, ब्रिटेन, ग्रेट ब्रिटेन, संयुक्त अधिराज्य भनेर पनि चिनिन्छ । बेलायत पाँचौँ धनी देश हो ।[3] लन्डन बेलायतको राजधानी तथा सर्वाधिक ठुलो सहर हो । २०२० को अनुमानअनुसार यहाँको जनसङ्ख्या ६ करोड ७८ लाख थियो ।[4] बेलायतका ९९% मानिस साक्षर छन् । मानव विकास सूचाङ्कमा यो मुलुक १३ औँ स्थानमा पर्छ ।[5] बेलायतीहरूको प्रतिव्यक्ति आय ४७ हजार अमेरिकी डलर छ । ९०% जनसङ्ख्या सहरवासी भएको बेलायतको औपचारिक भाषा अङ्ग्रेजी हो । बेलायतीहरूको सरदर आयु ७९ वर्ष छ ।[6]

प्राचीन कालमा आधुनिक बेलायतको अधिकांश भूभाग रोमको अधीनमा थियो जसलाई रोमी ब्रिटेन भनेर चिनिन्थ्यो । सुसमाचारले प्रवेश पाउनुअगि रोमी ब्रिटेनवासीहरू बहुईश्वरवादी थिए अर्थात् तिनीहरूले थरी-थरीका देवी-देवताहरू पुज्थे ।[7] वुडेन, थोर, टिऊ प्रमुख देवहरू थिए । मछुवाहरूले समुद्र देवताको पूजा गर्थे; किसानहरूले पृथ्वी देवताको पूजा गर्थे भने सिकारीहरूले वन देवताको पूजा गर्थे । ब्रिटेनवासीहरूले देवी-देवताहरूलाई पशु-पक्षीको बलिदान चढाउँथे । आफ्ना पुर्खाहरूको पुजा गर्ने तिनीहरूले जादुगरीसाथै बोक्सी विद्या अभ्यास गर्थे । तिनीहरू सर्वात्मवादी पनि थिए अर्थात् तिनीहरूले रुख, खोला, नदी, तालजस्ता कुराहरूमा पनि आत्मा हुन्थे भनी विश्वास गरी तिनको पूजा गर्थे ।

रोमी ब्रिटेनमा ठ्याक्कै कुन मितिमा सुसमाचार भित्रियो भन्ने कुरा अज्ञात छ । इङ्गल्यान्डका प्रथम मण्डली इतिहासकार भेनेरेबल बेडेका अनुसार दोस्रो शताब्दीको उत्तरार्द्धमा ब्रिटेनमा सुसमाचार पुगेको थियो ।[8] तेस्रो शताब्दीको मध्यतिर रोमी साम्राज्यले ख्रीष्टियानहरूको विरुद्धमा उग्र सतावट ल्याउँदा सतावटका तरङ्गहरू ब्रिटेनस्थित ख्रीष्टियान समुदायहरूमा पनि पुगेका हुन सक्छन् । ३१३ मा जारी मिलानको घोषणाले रोमी साम्राज्यमा ख्रीष्टियान धर्मलाई वैधानिकता दिएपछि सतावटको अन्त्य भयो र त्यसको अर्को वर्ष आर्लेसको परिषद्मा ब्रिटिस बिशपहरू पनि सहभागी भएका थिए भन्ने अभिलेख पाइन्छ ।[9] चौथो शताब्दीको अन्त्यतिर रोमी साम्राज्यको पतन सुरु भएपछि ४१० मा ब्रिटेनमा रोमी शासनको अन्त्य भयो । रोमले ४३-४१० सम्म ब्रिटेनमाथि शासन गरेको थियो ।[10]

ब्रिटेनमा ख्रीष्टियान बन्ने प्रथम राजाचाहिँ इथेलबर्थ हुन् जसले ५९७ मा मिसनरी अगस्टिनको हातबाट बप्तिस्मा लिएका थिए ।[11] नयाँ जन्म पाउनुअगि तिनी मूर्तिपूजक थिए । आफू ख्रीष्टियान भए तापनि राजाले जनताहरूलाई जबरजस्ती नयाँ विश्वास अङ्गाल्न लगाएनन् । तरै पनि हजारौँ जनताले राजाकै विश्वासलाई अङ्गाले र यसरी ख्रीष्टको सन्देश देशैभरि फैलियो । अङ्ग्रेजी भाषामा प्रथम लिखित कानुन ल्याउने श्रेय राजा इथेलबर्थलाई जान्छ र तिनले यो कुरो बाइबलबाट सिकेका थिए । सातौँ शताब्दीमा इङ्गल्यान्ड ख्रीष्टियान मुलुक बन्यो ।

आठौँ शताब्दीको अन्त्यबाट भाइकिङ्गहरूले ब्रिटेनमा आक्रमणको थालनी गरे । भाइकिङ्गहरू लुटेराहरू थिए जसले मण्डली, मठाश्रम तहसनहस पारी त्यहाँका बहुमुल्य वस्तुहरू चोरेर लानुका अतिरिक्त रक्तपात मच्च्याउँथे । भाइकिङ्गहरूले ब्रिटेन टापुका ख्रीष्टियानहरूलाई त्रसित पारे । यहाँसम्म कि राजा अल्फ्रेड महान् ज्यान बचाउन भागेर लुक्नुपरेको थियो । भाइकिङ्गहरूको आक्रमणको नतिजास्वरूप ब्रिटेनबाट ख्रिस्टियमत झन्डै लोप भएको थियो । राजा अल्फ्रेडले परमेश्वरसितको करारलाई नवीकरण गरे र पराजित सिपाहीहरूलाई एकत्रित गरी भाइकिङ्गहरूको विरुद्धमा लडाइँ गरी जित हासिल गरे । यसरी राजाले ब्रिटेनमा ख्रिस्टियमतको मात्र रक्षा गरेनन् तर देशलाई नै बचाए । आफ्नो देशको सुरक्षाको निम्ति तिनलाई नियम-कानुनको खाँचो थियो जुन तिनले बाइबलबाट पाए । तिनले मोशीय व्यवस्थालाई नमुनाको रूपमा लिए र अङ्ग्रेज कानुन दश आज्ञासहित सुरु भयो । बार्‍हौँ शताब्दीको अन्त्यम्म आइपुग्दा भाइकिङ्गहरूको वासस्थान भनेर चिनिने डेनमार्क, नर्वे र स्वीडेनले ख्रीष्टियान विश्वासलाई अङ्गाले । बाइबलको परमेश्वरलाई विश्वास गर्ने देशको रूपमा इङ्गल्यान्ड खडा भयो । यसका राजा र शासकहरूले परमेश्वरसितको करारलाई निरन्तर रूपमा नवीकरण गर्थे र यसको थालनी राजा इथेलबर्थबाट सुरु भएको थियो ।

१८०१ मा बेलायतको स्थापना भयो । मानव इतिहासमा स्थापना भएका मनग्गे साम्राज्यहरूमध्ये ब्रिटिस साम्राज्य विशालतम अर्थात् सबैभन्दा विशाल साम्राज्य थियो ।[12] कुनै बेला यसले संसारकै एक-चौथाई भूभागमा साम्राज्य गरेको थियो । बेलायत संसारमै पहिलो औद्योगिक मुलुक मात्र बनेन तर उन्नाइसौँ र बिसौँ शताब्दीमा यो संसारकै सर्वाधिक शक्तिशाली देश पनि थियो । सारा दुनियाँमा आर्थिक, सांस्कृतिक, सैनिक, वैज्ञानिक, प्राविधिक, राजनीतिक, धार्मिकलगायत अन्य मनग्गे क्षेत्रहरूमा बेलायतको उल्लेखनीय प्रभाव छ ।

ख्रीष्टियान बेलायतको सबैभन्दा ठुलो धर्म हो । यहाँका झन्डै ६०% जनसङ्ख्या ख्रीष्टियान छन् । २६% सहित धर्म नमान्नेहरू दोस्रोमा र ४% सहित मुसलमानहरू तेस्रो स्थानमा छन् । हिन्दु, सिख, यहूदी, बौद्ध धर्मावलम्बीसाथै अन्य धर्म मान्नेहरूको सङ्ख्या न्युन छ ।[13] यहाँ धार्मिक स्वतन्त्रता छ ।

बाइबलले निर्माण गरेको देश हो, बेलायत । यसको नीतिशास्त्र, न्याय र कानुन, समाजका मूल्य-मान्यताहरू, ठिक र बेठिकको बोध, गरिबहरूको सुरक्षालयागत समाजमा हेर्ने मनग्गे कुराहरूमा ख्रीष्टियान प्रभाव छ । मनग्गे अस्पतालहरूको स्थापना, विश्वव्यापी शैक्षिक प्रणाली, झ्यालखानाहरूमा ख्रीष्टियान अगुवाहरूको उपस्थिति, कला, साहित्य, सङ्गीत, संस्कृति, सौन्दर्यको बोध आदिजस्ता दर्जनौँ क्षेत्रहरूमा बेलायत बाइबलप्रति ऋणी छ । बेलायती राजनीतिज्ञ सर एडवार्ड ली भन्छन्, “सत्यता यही हो कि बेलायती मूल्य-मान्यताहरू ख्रीष्टियान मूल्य-मान्यताहरू हुन् । ख्रिस्टियमतको प्रभावले नै हामीलाई पृथ्वीकै एक सर्वाधिक सहिष्णु र सफल देश बनायो ।”[14]

 

[1]   कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. ३२ ।

[2]   https://en.wikipedia.org/wiki/United_Kingdom (Accessed 08 August 2021)

[3]   https://en.wikipedia.org/wiki/United_Kingdom#Demographics (Accessed 08 August 2021)

[4]   https://en.wikipedia.org/wiki/United_Kingdom (Accessed 08 August 2021)

[5]   https://operationworld.org/locations/united-kingdom-of-gb-ni/ (Accessed 08 August 2021)

[6]   Jason Mandryk, Operation World Seventh Edition (Colorado Springs, Co: Biblica Publishing, 2010), pp. 850-851.

[7]   https://en.wikipedia.org/wiki/Anglo-Saxon_paganism (Accessed 10 August 2021)

[8]   https://www.christianitytoday.com/history/2008/august/when-did-christianity-reach-british-isles-and-how-did-it.html (Accessed 09 August 2021)

[9] https://en.wikipedia.org/wiki/Christianity_in_Roman_Britain#Fourth_and_fifth_centuries (Accessed 09 August 2021)

[10] https://en.wikipedia.org/wiki/Roman_Britain (Accessed 09 August 2021)

[11] अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह, पृ. सं. १६९ ।

[12] https://en.wikipedia.org/wiki/List_of_largest_empires#Empires_at_their_greatest_extent (Accessed 08 August 2021)

[13] https://en.wikipedia.org/wiki/Religion_in_the_United_Kingdom (Accessed 08 August 2021)

[14] Quoted by Paul Backholer, Britain, a Christian Country, [Kindle Version, 2015]. Retrieved from Amazon.com (Chapter 28, para. 30).

Facebook Comments

Powered by Youth Circle