“बाइबलले आधुनिक विज्ञान र सिकाइको आधुनिक संसार सृजना गर्यो किनकि वास्तविकता के हो भनी यसले हामीलाई सृष्टिकर्ताको दर्शन प्रदान गर्यो । यसले नै आधुनिक पाश्चात्य जगत्लाई पढ्ने र सोच्ने सभ्यता बनायो ।” यो विशाल मंगलवाडीद्वारा लिखित The Book that Made Your World: How the Bible Created the Soul of Western Civilization नामक पुस्तकबाट साभार गरिएको अंश हो । मंगलवाडी सामाजिक सुधारक, ख्रीष्टियान दार्शनिकसाथै लेखक हुन् । भारतमा जन्मेका तिनका डेढ दर्जनभन्दा बेसी कृति प्रकाशित भइसकेका छन् । तिनी पूर्वीय जगत्का बौद्धिक स्रष्टा हुन् ।
पुस्तक पठन यात्रामा यो मेरो १२१ औँ पुस्तक हो । ४६६ पृष्ठको यस बडेमाको पुस्तकलाई पढेर सिद्ध्याउन मलाई १८ दिन (जुलाई १७-२४) मा २३ घण्टा लाग्यो । यो ख्रिस्टाब्द २०१२ मा प्रकाशित रचना हो । यो पुस्तक पढ्दा निकै आनन्दको महसुस गरेँ । पुस्तकमा जम्माजम्मी ७ ओटा भाग छन् जसलाई २० ओटा अध्यायमा विभाजन गरिएको छ ।
यो मूलत: बाइबलको अचम्मको प्रभाव (खास गरी पश्चात्य जगत्मा) बारे लिखित पुस्तक हो । बाइबल पाश्चात्य सभ्यताको आत्मा थियो; यो ख्रीष्टको आगमनपछि दोस्रो सहस्राब्दीय पुस्तक थियो र यो पाश्चात्य सभ्यतालाई विश्वव्यापीकरण गर्ने शक्ति बन्यो । पाश्चात्य सभ्यताको उदयमा बाइबलले सर्वाधिक महत्त्वपूर्ण शक्तिको रूपमा काम गरेको छ । आधुनिक पाश्चात्य समाजको निर्माणमा बाइबलको व्यापक प्रभाव रहेको छ ।
हामीले प्राप्त गरेका शिक्षा, संसारभरि प्रभाव पारेको अमेरिकी अर्थ व्यवस्था, झन्डै दुनियाँले स्वीकार गरेको प्रेस स्वतन्त्रतासाथै राजनीतिक स्वतन्त्रता सबै बाइबलबाट आएका हुन् । बाइबल ख्रीष्टियानहरूको पवित्र-शास्त्र मात्र होइन, यो विश्वकै महान् साहित्य पनि हो । बाइबलले नै परमेश्वर, विश्व (अर्थात् युनिभर्स) र मानव-जातिबारे सबै प्रमुख पश्चात्य भाषामा आफ्नो दृष्टिकोणलाई लिएर आएको थियो ।
विश्वविद्यालयको जन्म दिने पाश्चात्य मण्डली नै थियो । बोलोग्ने, पेरिस, अक्सफोर्ड, क्याम्ब्रिजजस्ता विश्वविद्यालहरूको नमुनालाई पछ्याउँदै अमेरिकाको प्रथम विश्वविद्यालय (हार्बड) को स्थापना भएको थियो जसको प्रभाव हाम्रो भूमिसम्म परेको तथ्य सर्वविदितै छ ।
बाइबल सङ्गीतले ओतप्रोत पुस्तक हो । वास्तवमा बाइबलको सबैभन्दा लामो पुस्तक (भजनसंग्रह) पद्य नै हो । बाइबलले हामीलाई गाउन आव्हान गर्छ । पाश्चात्य शिक्षा र विश्वदृष्टिमा सङ्गीतलाई घुसाउने व्यक्ति अगस्टिन थिए जो ख्रीष्टियान ईश्वरशास्त्री तथा दार्शनिक थिए । आज ख्रीष्टियान मण्डली मात्र गाउने समुदाय भएको छैन तर दुनियाँ नै सङ्गीतमा मन्त्रमुग्ध हुन्छ ।
स्वतन्त्रता मान्छेको अर्को सम्पत्ति हो । यो स्वतन्त्रता हामीले परमेश्वरबाट पाएका हौँ, सरकारको दानबाट होइन । सरकार हाम्रो स्वतन्त्रताको रक्षा गर्न परमेश्वरबाट स्थापित संस्था हो । हामीलाई यसबाट विमुख पार्नु सरकारको काम होइन ।
हामी नेपालीहरू भाग्यवादको विश्वदृष्टिमा जन्म्यौँ र हुर्क्यौं । यसले सामाजिक गतिविधिहरूमा व्यापक रूपमा प्रभाव पार्छ । गरिबी, रोग, थिचोमिचो आदिजस्ता अवस्थाहरू हाम्रो ‘भाग्य’ का नतिजाहरू हुन् र हामी तिनलाई बद्लन सक्दैनौँ भनी सिकाइयो र सिकाइन्छ । तर मानव-जाति सृजनशील प्राणी हुन् भनी पाश्चात्य जगत्ले विश्वास गर्यो जसले हामी अझै राम्रो गर्न सक्छौँ; हाम्रो परिस्थितिलाई आफ्नो सृजनात्मक क्षमता प्रयोग गरी सुधार गर्न सक्छौँ भनी सिकाउँछ । हाम्रो समाजलाई अझै पनि कुरुप बनाउने यस्ता मनग्गे ‘रोगहरू’ लाई पाश्चात्य जगत्ले उहिले नै निमिट्ट्यान्न पारिदियो ।
किन पूर्वीय जगत् र पाश्चात्य जगत्को बिचमा मनग्गे क्षेत्रहरूमा व्यापाक भिन्नता छ ? बाँकी संसार यथास्थितिमा रहँदा केले पाश्चात्य जगत्मा नाटकीय उदय ल्याइदियो ? यसको जवाफ हुन्छ: पन्ध्रौँ-सोर्हौँ शताब्दीमा उदयीमान पुनर्जागरण कालमा मानवीय प्रतिष्ठाको खोज । मान्छे अद्वितीय र अनमोल प्राणी हो भन्ने अवधारणा बाइबलबाट उदय भएको हो र यस अवधारणाले संसार सवार गर्दै छ । पाश्चात्य जगत् मानवीय सभ्यता बन्यो किनकि यो त्यस्ता शिक्षाहरूमा स्थापित थियो जसका गुरुले मान्छे मूल्यवान् प्राणी हो भनी सिकाउनुभयो । पाश्चात्य संसार ‘सोच्ने सभ्यता’ बनेपछि वैज्ञानिक, प्राविधिक, सैनिक र आर्थिक सफलता आएको थियो ।
सारमा आधुनिक पाश्चात्य जगत् बाइबलको निर्माण हो । पाश्चात्य धारणाहरू आज विश्वव्यापी भएका छन् । परमेश्वरको स्वरूपमा सृष्टि गरिएकोले हरेक मान्छे अनमोल प्राणी छ । बाइबलले पाश्चात्य जगत्लाई ‘सोच्ने सभ्यता’ मात्र बनाएन तर प्रविधितिर लाग्न पनि प्रेरित गराइदियो । बाइबलले विश्वविद्यालयजस्ता उच्चस्तरीय शैक्षिक संस्थाहरू जन्माउन मात्र प्रेरित गरेन तर मान्छेको सेवा गर्ने अस्पतालहरू जन्माउन पनि भूमिका खेल्यो । भाषा, साहित्य, सङ्गीत, अर्थतन्त्र, विज्ञान, नैतिकता, परिवार, परोपकारिता, सामाजिक सुधार, नीजि सम्पत्ति, स्वतन्त्रता आदिजस्ता मनग्गे अवधारणाहरूमा बाइबलको उल्लेखनीय प्रभाव रहेको छ । बाइबल तपाईं र मेरो संसार निर्माण गर्ने पुस्तक हो । त्यसैले “बाइबल मानिसलाई परमेश्वरले दिनुभएको सर्वोत्तम उपहार हो” भनी अमेरिकाका सोर्हौँ राष्ट्रपति अब्राहाम लिङ्कनले उचित किसिमले भन्न सके ।