दक्षिण एसियाली मुलुक भारतको उत्तर-पूर्वमा अवस्थित आठवटामध्ये एउटा राज्यको नाउँ हो, नागाल्यान्ड । यसको पूर्वमा म्यान्मा, पश्चिममा आसाम, उत्तरमा अरुणाञ्चल प्रदेश र दक्षिणमा मनिपुर पर्छ । नागाल्यान्डको राजधानी कोहिमा हो भने सबैभन्दा ठुलो सहर दिमापुर हो । १६,५७९ वर्ग किलोमिटरमा फैलिएको यो राज्य भारतका २८ ओटा राज्यमध्ये भुगोलको हिसाबले २५ औँ ठुलो राज्य हो । त्रिपुरा, सिक्किम र गोवा योभन्दा साना छन् ।
ख्रिस्टाब्द २०११ को जनगणनामुताबिक नागाल्यान्डको जनसङ्ख्या झन्डै २० लाख थियो । नागाल्यान्डको मानिसलाई नागा भनिन्छ । मानव विकास सूचाङ्कमा भारतका राज्यहरूमा नागाल्यान्ड २० औँ स्थानमा छ भने साक्षरतामा १५ औँ स्थानमा । यहाँका ८०% भन्दा बेसी मानिस साक्षर छन् । १९६३ मा भारतको १६ औँ राज्य घोषित नागाल्यान्डको औपचारिक भाषा अङ्ग्रेजी हो । कृषिप्रधान राज्य नागाल्यान्डका आयस्रोतहरूमा वन-जङ्गल, पर्यटन, बीमा आदि पर्छन् ।
ख्रीष्टियान विश्वासलाई अङ्गाल्नुअगि तिनीहरूले मान्छेको सिकार गर्थे । तिनीहरू प्रकृति-पूजकसाथै अन्धविश्वासी थिए । नागाहरूलाई वरिपरिका गैरनागा जातिहरूबाट छुट्ट्याउने एउटा मुख्य तत्त्व नै मानव सिकार थियो । मानव सिकार पुरुषार्थको सङ्केत थियो । बिसौँ शताब्दीको उत्तरार्द्धसम्म पनि नागाहरू र खास गरी क्रूर कोन्याक जातिका बिचमा मानव सिकार जारी थियो । तिनीहरू बर्बरतापूर्ण आक्रमणका लागि कहलिएका थिए । शत्रुको शिर गेड्नु तिनीहरूका लागि नौलो कुरो थिएन । मान्छे मारेपछि तिनीहरूले खप्परचाहिँ घरको अगाडि सजाउने गर्थे । तिनीहरूका जाति, अन्नबाली र जनावरहरूको उन्नतिको लागि मान्छेको खप्परको खाँचो पर्थ्यो भनी तिनीहरू विश्वास गर्थे । कहिलेकाहीँ बिहेमा समेत खप्परको आवश्यकता ठानिन्थ्यो । तिनीहरूले खप्परमा राखेर रक्सी पिउँथे ।
नागाल्यान्डमा सुसमाचार लिएर आउनेमा माइल्स ब्रोनसोनलाई प्रथम मिसनरीको रूपमा लिइन्छ ।अमेरिकी मिसनरी ब्रोनसोन १८३९ मा येशूको सुसमाचार लिएर नागाहरूकहाँ आएका थिए । येशूको सुसमाचार सुनाउनुका अतिरिक्त तिनले स्थानीहरूलाई चिया खेतीको बारेमा सिकाए र प्राथमिक स्कुल खोले । तिनले नागा भाषामा पुस्तक तयार पारे जुन नागा भाषामा लिखित प्रथम पुस्तक हो । तर अस्वस्थताको कारण तिनले उक्त ठाउँ छाड्नुपर्यो ।
१२ सेप्टेम्बर १८४७ मा नाथान ब्राउनले प्रथम नागालाई बप्तिस्मा दिए जसको नाउँ हो हुबी । तर अर्को महिना हुबी प्रभुमा सुते । लङ्गचाङ्गलेपलेपजुक नाउँ गरेका अर्का नागाले येशूमा नयाँ जन्म पाई १८५१ मा बप्तिस्मा लिए । आफ्नी पत्नीलाई पनि नयाँ विश्वासमा डोर्याउने उद्देश्यसहित आफ्नो गाउँमा जाँदा छिमेकी नागा जातिको आक्रमणमा परी तिनी मारिए । फलत: नागाहरूलाई सुसमाचार सुनाउने मिसनमा आगामी झन्डै २० वर्षसम्म पूर्ण विराम लाग्यो ।
१८६९ मा मिसनरी एडवार्ड विन्टर क्लार्क आसामको शिवसागर जिल्लामा आए र तिनले नागाहरूका बिचमा सुसमाचार पुर्याउने मिसनलाई ब्युँताए । १८७१ मा तिनले मिसन बोर्डलाई लेखे, “नागा जातिहरूकहाँ सुसमाचार पुर्याउन सकिन्छ ।” क्लार्कले गुधोला ब्राउन नाउँ गरेका सुसमाचार प्रचारकलाई नागाहरूका बिचमा पठाए । ब्राउनले केही मानिसहरूलाई प्रभुमा जिते र आफूसँग थप ९ जना मानिस लिएर फर्के जसलाई १८७२ क्लार्कद्वारा बप्तिस्मा दिइयो । एकातिर त्यो समयमा ब्रिटिस सरकारले क्लार्कलाई नागाल्यान्डमा प्रवेश दिएको थिएन भने अर्कोतिर यस विषयमा तिनको आफ्नै मिसन बोर्डले पनि अनुमोदन गर्न आनाकानी गर्दै थियो । त्यसैले मिसनरी क्लार्कले छिमेकी राज्यको भूभागमा बसेर नै नागाहरूकहाँ शुभ खबर लैजाने चेष्टा गरेका थिए । तिनी लागिरहे । फलस्वरूप २२ डिसेम्बर १८७२ मा नागाल्यान्डमा पहिलो मण्डली स्थापना गरियो । नागा मण्डली इतिहासमा यो ऐतिहासिक दिन थियो ।
१८७६ मा क्लार्क नागाल्यान्डको मोकोचुङ्ग जिल्लामा आइपुगे । मान्छेको सिकार गर्ने नागाहरूका बिचमा सेवा गर्नु क्लार्कको लागि सजिलो थिएन । ब्रिटिस सेनाको जस्तै तिनी पनि श्वेत भएकाले कति नागाहरूले तिनीमाथि भरोसा गरेनन् । परिणामत: नयाँ धर्मको विषयलाई लिएर स्थानीयहरू विभाजित भए । नागाहरूलाई प्रभुमा जित्नु आफ्नो जीवनको लक्ष्य भएकाले क्लार्क अगाडि बढिरहे । तिनले स्कुल स्थापना गरे; आओ नाउँले चिनिने नागा जातिको भाषामा शब्दकोशसाथै व्याकरण तयार गरे । स्थानीयहरूका भाषा सिक्नुका अतिरिक्त तिनले तिनीहरूका चरित्रसाथै औषधीको बारेमा पनि ज्ञान बटुले । आत्मा जित्न यी सिपहरू मदतदायी साबित भए । नागा जातिहरूका बिचमा थप सुसमाचार लिएर जान १८९४ मा मुलोङ्ग मिसन केन्द्र बन्यो । मुलोङ्ग नागाल्यान्डमा प्रथम ख्रीष्टियान गाउँ बन्यो । नागाहरूलाई सुसमाचार सुनाई सभ्यताको ज्योतिमा ल्याउनमा क्लार्कले अत्यधिक प्रशंसनीय योगदान दिएका छन् ।
ख्रीष्टको ज्योतिले तिनीहरूको अन्धकारलाई हटायो र प्राय: हरेक नागा जातिहरूका बिचमा मण्डली स्थापना भयो । गाउँमा मात्र नभई सहरमा पनि ख्रीष्टियानहरूको सङ्ख्या द्रुत गतिमा बढ्न थाल्यो । मण्डली भवनहरू निर्माण गरिए; गाउँलेहरू मिलापमा आए; शत्रुहरू मित्र बने र टुटेका परिवारहरू जोडिए । हामी इतिहासमा मात्र तिनीहरूका परिवर्तनका कथाहरू पढ्दैनौँ तर अहिले पनि तिनीहरूका आफ्नै मुखबाट तिनीहरूका गवाही सुन्न र हेर्न सक्छौँ ।
हाल नागाल्यान्डको प्रमुख धर्म ख्रीष्टियान हो । २०११ को जनगणनाअनुसार ८७.९% जनसङ्ख्या ख्रीष्टियान थिए । ख्रीष्टियानहरूको बाहुल्यता रहेका भारतका तीनवटा राज्यमध्ये नागाल्यान्ड एक हो । मिजोराम र मेघालय अन्य दुईवटा राज्य हुन् जहाँ क्रमश: ८७.१६% र ७४.५९% ख्रीष्टियान छन् । नागाल्यान्ड भारतमा सबैभन्दा बेसी ख्रीष्टियान रहेको राज्य हो । नागाल्यान्डमा हिन्दु दोस्रो स्थानमा (८.७%) र इस्लाम (२.५%) तेस्रो स्थानमा पर्छ । यहाँ बौद्ध धर्मावलम्बी, जैन, सिखसाथै अन्य अन्य धर्म मान्नेहरूको सङ्ख्या गौण छ ।
जङ्गली नागाहरूका बिचमा येशूको सुसमाचार प्रभावशाली ठहरियो । सुसमाचारले तिनीहरीका परम्परा, सोच र जीवन-शैलीमा १८० डिग्रीको परिवर्तन ल्याइदियो । पुरानो र क्रूर आस्थाका अनुयायीहरूले शान्ति र प्रेमको सुसमाचारलाई अङ्गाले । शत्रुहरू मारेर खप्परहरूले सजाइएका घरहरू शीघ्र रूपमा रित्तो हुँदै गए । आफ्ना पूर्वजहरूले अभ्यास गर्दै आएका अधिकांश पुराना रीतिरिवाजहरू क्रमश: हराउँदै गए । ख्रीष्टियान शिक्षाको कारण मान्छेको सिकार गर्ने पुरानो अभ्यास इतिहास बन्यो । सुसमाचारको ज्योतिद्वारा नागाल्यान्डका डाँडाकाँडाहरू झिलिमिलि भए । मानव हत्या-हिंसाको लागि प्रयोग गरिने हतियारहरू खेतीपातिको लागि प्रयोग गरिए जस्तो हजारौँ वर्ष पहिले मीका अगमवक्ताले भविष्यवाणी गरेका थिए, “उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं । … तिनीहरूले आफ्ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्ने हँसिया बनाउनेछन् । जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्” (मीका ४:२-३) ।
लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।