फिजी: बाइबलले सुधारेको देश

तिनको नाउँ हो, सेरु काकोबु । तिनी मुखियासाथै सैनिक नेता थिए । करिब ख्रिस्टाब्द १८१५ मा तिनको जन्म फिजीमा भएको थियो । फिजी प्रशान्त महासागरको दक्षिणमा पर्ने टापुहरूले बनेको देश हो । यो एउटा यस्तो देश थियो जहाँ मान्छेको मासु खाने आदिवासीहरू बस्दथे जो निकै हिंसक थिए । काकोबु पनि नरभक्षी थिए अर्थात् तिनले मान्छेको मासु खान्थे । हत्या-हिंसामा संलग्न हुनु तिनको लागि नौलो कुरो थिएन । तर मिसनरी जेम्स कल्भर्टको सेवाकार्यबाट प्रभावित भई १८५४ मा काकोबु ख्रीष्टियान भए । नयाँ विश्वासलाई अङ्गालेपछि तिनको जीवनमा परिवर्तनका रेखाहरू देखिए । तिनले नरभक्षणलाई त्यागिदिए; बहुविवाहलाई त्यागिदिए । आफ्नो धर्मान्तरणपश्चात् तिनले एपेनिसा (अर्थात् एबेन-एजेर) भन्ने थप नाउँ थपे जसको अर्थ हुन्छ, “परमप्रभुले यहाँसम्‍म हामीलाई सहायता गर्नुभएको हो” (१ शमूएल ७:१२) । युद्धमा पराजित भएका शत्रुहरूलाई तिनले क्षमा दिए । नत्रता पराजित शत्रुहरूलाई अपमान गरिन्थ्यो, मारिन्थ्यो अनि खाइन्थ्यो । हिंसक जातिहरूलाई आफ्नो अधीनमा ल्याई तिनले एकीकृत फिजी राज्य निर्माण गरे र १८७१-१८७४ सम्म राजा भई शासन गरे । नेपालका पृथ्वी नारायण शाहजस्तै तिनी फिजीका राष्ट्रनिर्माता बने । यसरी नरभक्षीसाथै हिंसक काकोबु येशूको सुसमाचारको कारण नाटकीय रूपमा बद्ले । तिनको असल नमुनालाई पछ्याउँदै तिनका देशवासीहरू पनि क्रमश: सभ्यताको बाटोमा लागे ।[1]

फिजीको पूर्वमा टोङ्गा र पश्चिममा भानुआटु अनि उत्तरमा तुभालु र सुदूर दक्षिणमा न्युजिल्यान्ड पर्छ । फिजी टापुहरूको देश हो । ३३० ओटाभन्दा बेसी टापु मिलेर बनेको यस देशमा दुईवटा टापु मुख्य छन् जहाँ झन्डै ८७% जनसङ्ख्या बसोबास गर्छन् । फिजीको राजधानी सुभा हो जुन मुलुककै सर्वाधिक ठुलो सहर हो । १८,२७४ वर्ग किलोमिटरमा फैलिएको यो देश भूगोलको हिसाबले १५१ औँ ठुलो देश हो ।[2] यो नेपालभन्दा आठ गुणा सानो छ ।

ख्रिस्टाब्द १९७० मा फिजीले स्वतन्त्रता पायो र त्योभन्दा अगि यहाँ ब्रिटिस शासन थियो । २०१७ को जनगणनाअनुसार यहाँ झन्डै ९ लाख जनसङ्ख्या थियो । यहाँको संविधानले धार्मिक स्वतन्त्रता प्रदान गरेको छ । यहाँका ९२% मानिस साक्षर छन् । फिजीवासीहरूको सरदर आयु ६९ वर्ष छ । फिजी एउटा विकासोन्मुख मुलुक हो अनि पर्यटन र उखु निर्यात यसको मुख्य आय हो । फिजीको प्रति व्यक्ति आय ६ हजार अमेरिकी डलरभन्दा बेसी छ । मानव विकास सुचाङ्कमा यो मुलुक ९३ औँ स्थानमा रहेको छ ।[3]

१९ औँ शताब्दीको पूर्वार्द्धमा सुसमाचार पुग्नुअगि फिजीका मानिसहरूले सर्वात्मवादमा विश्वास गर्थे । रुख, ढुङ्गा, काठपात आदिजस्ता सबै वस्तुमा आत्मा हुन्छ भन्ने विश्वासलाई सर्वात्मवाद भनिन्छ । धर्म तिनीहरूको दैनिक जीवनसँग गाँसिएको थियो । जन्मदेखि मृत्युसम्म धर्मले भूमिका खेल्थ्यो । फिजीवासीहरूले विविध किसिमका देवी-देवताहरू पुज्ने गर्थे । युद्धदेखि क्षमासम्मका सवालहरूका लागि नियमित रूपमा अनेक देवी-देवताहरूसँग सम्पर्क गरिन्थ्यो । बोक्सी विद्या धर्मको एउटा हिस्सा थियो जसले दैनिक जीवनमा प्रभाव पार्थ्यो । जादुगरी अनौठो थिएन । मृत्युपश्चात् आत्मा आत्मालोकमा जान्थ्यो भनी विश्वास गरिन्थ्यो ।[4] झुट बोल्नु र चोर्नु त्यहाँका स्थानीयहरूका लागि सामान्य कुरा थिए । तिनीहरूले बिरामी र पाकाहरूलाई मारिदिन्थे; स्‍त्रीहरूलाई पशुसमान व्यवहार गर्थे; खानाको लागि चिहान खोतल्थे र एकल महिलाहरूलाई घाँटी निमोठेर मारिदिन्थे । यस्ता क्रूर र जङ्गली मानिसहरूका बिचमा येशूको सुसमाचार लैजानु फलामको चिउरा चपाउनुसरह थियो ।[5]

ख्रिस्टाब्द १८३० मा फिजीमा पहिलो पटक सुसमाचार पुगेको थियो ।[6] लन्डन मिसनरी सोसाइटीका तीन जना शिक्षकले यस भूमिमा ख्रीष्टियान विश्वासलाई परिचित गराए । १८३५ देखि अस्ट्रेलियाका मिसनरीहरूले पनि यस टापुमा काम गर्न थाले । १८५४ सम्म आइपुग्दा फिजीका परिचित मुखियाहरू ख्रीष्टियान भए जसमध्ये एक थिए, सेरु काकोबु । यस्ता उल्लेखनीय धर्मान्तरणहरूपश्चात् धेरै मानिसले सुसमाचारमाथि विश्वास गरेका खुलमखुला घोषणा गरे । मण्डली बढ्दै गएपछि मिसनरी बनी फिजीवासीहरू सोलोमन टापु, पपुआ न्युगिनी र उत्तर अस्ट्रेलियाजस्ता भूभागहरूमा सुसमाचार लिएर गए ।[7]

फिजीवासीहरूको रूपान्तरणको लागि ख्रीष्टियान मिसनरीहरूले ठुलो मूल्य चुकाएका छन् । कतिले आफ्नो ज्यानसमेत गुमाए । उदाहरणको लागि, थोमस बेकरलाई लिन सकिन्छ । ख्रिस्टाब्द १८६७ मा तिनी येशूको सुसमाचार लिएर फिजीको एउटा गाउँमा पुग्दा त्यहाँका स्थानीय नरभक्षीहरूले तिनीसहित तिनीसँगै गएका अन्य सात जना ख्रीष्टियान फिजीवासीलाई मारेर खाइदिएका थिए । तिनलाई मार्न प्रयोग गरिएको चट्टान अझै पनि देख्न सकिन्छ र आदिवासीहरूले पकाएका तिनको जुत्ताको सोल राजधानी सुभास्थित फिजी सङ्ग्रहालयमा राखिएको छ । केही वर्षअगि अर्थात् २००३ मा बेकरका हत्याराहरूका सन्तानहरूले मिलापको एउटा कार्यक्रममा यस दु:खदायी घटनालाई सम्झँदै क्षमा मागेका थिए ।[8]

फिजीमा सेवा गर्ने मिसनरीहरूमध्ये जेम्स कल्भर्ट प्रारम्भिक मिसनरीहरूमा पर्छन् । १८३८ मा ती डरलाग्दा आदिवासीहरूलाई सुसमाचार सुनाउन तिनी फिजी गए । जहाजका कप्तानले यसो भन्दै ती मिसनरीलाई घर फर्काउने चेष्टा गरे, “त्यस्तो जङ्गली जातिको बिचमा जानुभयो भने तपाईं र तपाईंसित जानेहरूले जीवन गुमाउनुहुने छ ।” तर जेम्सले जवाफ दिए, “यहाँ आउनुभन्दा अगि नै हामी मरिसक्यौँ ।” कप्तानको चेताउनीलाई पर्वाह नगरी जेम्स फिजी गए र त्यहाँ तिनले १८ वर्ष बिताए । तिनले अद्भूत सफलता हासिल गरे । तिनको सेवाकार्यद्वारा फिजीका तत्कालीन राजा काकोबुले पनि येशूमाथि विश्वास गरे जसको बारेमा यस पाठको सुरुमा नै चर्चा गरिएको छ ।[9]

जेम्स कल्भर्टसँगै फिजी जाने अर्का मिसनरी हुन्, जोन हन्ट । १८३८ मा हन्नासित बिहे गरेपछि त्यही साल हन्ट दम्पती फिजी प्रस्थान गरे । अस्वस्थताको कारण ३६ वर्षकै उमेरमा तिनी यस धरतीबाट बिदा भए तापनि आफूले सेवा गरेका मानिसहरूका बिचमा तिनले विचारणीय प्रभाव पारे । मृत्युशैय्यैमा तिनको प्रार्थना थियो, “हे प्रभु, फिजीलाई आशिष् दिनुहोस्! फिजीलाई बचाउनुहोस्!”[10]

२००७ को जनगणनाअनुसार फिजी ख्रीष्टियानहरूको बाहुल्यता रहेको मुलुक हो । यहाँका ६४.४% जनसङ्ख्या ख्रीष्टियान छन् । दोस्रोमा हिन्दु (२७.९%) र तेस्रोमा मुसलमान (६.३%) छन् । धर्म नमान्नेहरू ०.८% छन् भने सिख धर्मावलम्बीहरू ०.३% र बाँकीले अन्य धर्महरू मान्छन् ।[11] ख्रीष्टियानहरू पहिलो स्थानमा भए तापनि संविधानले नागरिकलाई कुनै पनि किसिमको धर्म मान्न छुट दिएको छ । पावलले लेखे, “किनकि सुसमाचारसँग म शर्माउँदिनँ । किनभने विश्‍वास गर्ने प्रत्‍येकका मुक्तिको निम्‍ति यो परमेश्‍वरको शक्ति हो, पहिले यहूदीहरूका निम्‍ति र अन्‍यजातिहरूका निम्‍ति पनि” (रोमी १:१६) । सुसमाचार परमेश्वरको शक्ति हो । यो पावलको समयमा मात्र शक्तिशाली थिएन तर त्यसपछिको इतिहासमा पनि शक्तिशाली साबित भएको छ । त्यही सुसमाचारको शक्तिको नतिजास्वरूप फिजीवासीहरू मान्छेको मासु खाने जङ्गली जातिबाट मान्छेको सेवा गर्ने सभ्य जातिमा रूपान्तरित भए ।

 

सन्दर्भ स्रोतहरू:

[1]    https://en.wikipedia.org/wiki/Seru_Epenisa_Cakobau (Accessed 13 July 2021)

[2]    https://en.wikipedia.org/wiki/List_of_countries_and_dependencies_by_area (Accessed 14 July 2021)

[3]    https://en.wikipedia.org/wiki/List_of_countries_by_Human_Development_Index (Accessed 14 July 2021)

[4]    https://en.wikipedia.org/wiki/Religion_in_Fiji (Accessed 14 July 2021)

[5]    कमल अधिकारी, इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (काठमाडौँ: सामदान प्रकाशन, ख्रिस्टाब्द २०१९), पृ. सं. १८० ।

[6]    https://www.familysearch.org/wiki/en/Fiji_Church_Records (Accessed 14 July 2021)

[7]    https://fijisun.com.fj/2008/08/14/how-first-christian-missionaries-arrived-in-fiji/ (Accessed 14 July 2021)

[8]    https://en.wikipedia.org/wiki/Thomas_Baker_(missionary) (Accessed 15 July 2021)

[9]    https://en.wikipedia.org/wiki/James_Calvert_(missionary) (Accessed 15 July 2021)

[10]   https://en.wikipedia.org/wiki/John_Hunt_(missionary) (Accessed 15 July 2021)

[11]   https://en.wikipedia.org/wiki/Fiji#Religion (Accessed 14 July 2021)

Facebook Comments

Powered by Youth Circle