पृथ्वीमा हुनुहुँदा येशूले भन्नुभएको थियो, “तब तिमीहरूले सत्य के हो सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ” (यूहन्ना ८:३२) । मान्छेलाई स्वतन्त्र तुल्याउने तत्त्व हो, सत्यता । मैले हालै पढेर सकेको पुस्तक यही विषयवस्तुसित सम्बन्धित छ ।
Christianity and Freedom: Volume 1, Historical Perspectives (Law and Christianity) पुस्तकको नाउँ हो । यो निबन्ध-सङ्ग्रह हो । यस रचनाका लागि १५ जना बेग्लाबेग्लै लेखकले योगदान दिएका छन् । तिमोथी समुएल साह र अल्लेन डी. हर्जके सम्पादकद्वय हुन् । ४१७ पृष्ठ लामो यस कृतिलाई पढेर फत्ते गर्न मलाई २० दिन (जुन १७-जुलाई ६) मा २४ घण्टा लाग्यो । यो ख्रिस्टाब्द २०१६ मा प्रकाशित कृति हो । पुस्तक पठन यात्रामा यो मेरो १२० औँ पुस्तक हो ।
इतिहास, राजनीतिशास्त्र, समाजशास्त्रजस्ता विविध क्षेत्रहरूबाट लिखित यो पुस्तक इतिहासकार, राजनीतिज्ञ, ईश्वरशास्त्री, विद्यार्थी, पत्रकार, व्यावसायी, नीति-निर्माणकर्ता आदि सबैका लागि उपयोगी कृति हो ।
आज तपाईं र म स्वतन्त्रताको युगमा बाँचेका छौँ । वर्तमान समयमा शिक्षा, स्वास्थ्यजस्ता मनग्गे हकहरू मान्छेका नैसर्गिक अधिकार भएका छन् । आज तपाईं निर्धक्कसँग बोल्न सक्नुहुन्छ; निर्धक्कसँग लेख्न सक्नुहुन्छ; चाहेको भूगोलमा बस्न सक्नुहुन्छ; चाहेको कुरो खान सक्नुहुन्छ; लगाउन सक्नुहुन्छ अनि हेर्न सक्नुहुन्छ । यसका अलवा, मान्छेले चाहेको धर्म मान्न पाउनु उसको अधिकार हो भनी प्राय: सबै भूगोलमा बुझिएको छ ।
तर संसार सधैँ यस्तो थिएन । हाम्रो स्वतन्त्रताको अभ्यास गर्न आज तपाईं र मलाई यस सभ्यतासम्म डोर्याउने प्रमुख तत्त्वचाहिँ कुन हो त ? यसको जवाफ हुन्छ: ख्रीष्टियान शिक्षा । कतिले सत्रौँ-अठारौँ शताब्दीको प्रबोधन युगलाई यसको श्रेय दिने भए तापनि शताब्दीऔँअगि ख्रीष्टियान विचारकहरूले धार्मिक स्वतन्त्रताको पक्षमा वकालत गरिसकेका थिए । उदाहरणको लागि, ख्रिस्टाब्द ३१३ मा जारी मिलानको उर्दीलाई लिन सकिन्छ जसले ख्रीष्टियानहरूलगायत सबै धर्मावलम्बीहरूलाई आआफ्नो धर्मको अभ्यास गर्न छुट दिएको थियो ।
आधारभूत मानव अधिकार र स्वतन्त्रताको विकासको लागि ख्रिस्टियमतले अभूतपूर्व भूमिका खेलेको छ । जुनसुकै जात, लिङ्ग, वर्ण र भूगोलको भए तापनि सबै मानिस समान र मूल्यवान् छन् आज हामीले बुझेका छौँ । कुनै पनि व्यक्तिलाई जबरजस्ती ख्रीष्टियान वा मुसलमान वा हिन्दु बनाउन सकिँदैन, बरु धर्म भन्ने कुरो व्यक्तिको स्वतन्त्रताको कुरो हो भनी इतिहासदेखि नै ख्रीष्टियानहरूले सिकाउँदै आएका छन् । समानता, धार्मिक स्वतन्त्रता, विवेकको स्वतन्त्रता, सीमितसाथै लोकतान्त्रिक सरकार, आर्थिक स्वतन्त्रता, नागरिक समाज, धर्म र राज्यको विच्छेद आदिजस्ता अवधारणाहरूको विकासमा ख्रिस्टियमतले संसारलाई ठुलो ऋण लगाएको छ । यसका अतिरिक्त, प्रजातन्त्र, मानव अधिकार र मानव विकासको क्षेत्रमा येशूका अनुयायीहरू प्रशंसाका पात्रहरू हुन् ।
नेपाली माटोमा येशूका अनुयायीहरूको विरोध गर्नु कुनै नौलो नभए तापनि इतिहासमा तिनै येशूका अनुयायीहरूले यस्ता अमूल्य उपहाहरू सुम्पेर गएका छन् जसलाई आज हरेक नेपालीले उपभोग गर्दै छ । शिक्षा, स्वास्थ्य, न्याय, समानता, लोकतन्त्र, धार्मिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकारजस्ता मनग्गे अवधारणाहरू हामीले हाम्रा पूर्वजहरूबाट पाएका अमूल्य उपहारहरू हौँ । येशूबाट नयाँ जन्म पाएकाहरूले स्वन्त्रताको निम्ति पहल नगरेका भए आज पनि हामी कस्तो दुर्भाग्यपूर्ण जीवन बाँचिरहेका हुन्थ्यौँ होला! सत्यले स्वतन्त्र तुल्याउँछ भन्ने येशूको वचन उहाँ शरीरमा हुनुहुँदा जति साँचो थियो आज पनि उत्तिकै साँचो छ ।