मानव-जातिलाई प्रशस्तताको जीवन दिनु येशूको आगमनको एउटा उद्देश्य थियो । उहाँले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । मैले हालै पढेर सिद्ध्याएको पुस्तकमा येशू नआउनुभएको भए के हुनेथियो भनी चिरफार गरिएको छ ।
पुस्तकको नाउँ Unimaginable: What Our World Would Be Like Without Christianity हो । पुस्तक पठन यात्रामा यो मेरो ११९ औँ पुस्तक हो । यसमा २४२ पृष्ठ छन् । ७ दिन (जुन १०-१६) मा ९ घण्टा ३० मिनेट खर्चेर मैले यसलाई सुरुदेखि अन्त्यसम्म निकै रुचिका साथ पढेँ । ख्रिस्टाब्द २०१७ मा प्रकाशित यस कृतिका रचनाकार जेरेमिया जे. जोनसन हुन् । क्रिस्चियन थिङ्कर्स सोसाइटीका प्रमुख तिनी रक्षाशास्त्री हुन् । आफ्नो अद्वितीय सञ्चारका लागि परिचित तिनी नयाँ करारका विद्वान् पनि हुन् । मिडिलसेक्स विश्वविद्यालयबाट विद्यावारिधि गरेका तिनको यो प्रभावशाली कृति हो ।
पुस्तकमा तीनवटा भाग छन् । पहिलो भागमा ख्रिस्टियमतअगिको संसारको चिरफार गरिएको छ भने दोस्रोमा ख्रिस्टियमतविनाको संसारको चर्चा गरिएको छ र तेस्रो भागमा ख्रिस्टियमतसहिको संसारको वर्णन गरिएको छ ।
येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो आजभन्दा झन्डै २,००० वर्षअगि मानवीय चोलामा यस धरतीमा आउनुभएको थियो । उहाँ नआउनुभएको भए के हुनेथियो ? उहाँअगिको संसार कस्तो थियो ? उहाँको शिक्षाले संसारमा के-कस्ता परिवर्तनहरू ल्याए ?
वर्तमान दृष्टिकोणबाट हेर्ने हो भने प्राचीन संसार पृथ्वीमा भएको नरक थियो । गरिबी, रोग, असमायिक मृत्यु, घरेलु हिंसा, आर्थिक अन्याय, दासप्रथा, राजनीतिक भ्रष्टाचार सामान्य गतिविधिहरू थिए । न्याय, समानता, करुणा, आधुनिक लोकतन्त्र, शिक्षा, कमजोरसाथै सीमान्तकृतहरूको सुरक्षाजस्ता अवधारणाहरू अनुपस्थित थिए ।
त्यस संसारमा लिङ्ग, वर्ण, जाति, गरिब, धनी, स्वतन्त्र वा फुक्काको आधारमा गरिने भेदभाव व्याप्त थियो । पहिलो शताब्दीको परिवेशमा पावलको यो वचन निकै क्रान्तिकारी मात्र थिएन, तर साहसिक पनि, “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।
प्राचीन संसारमा दासप्रथा सामान्य अभ्यास थियो । धनीसाथै शक्तिशाली मानिसहरूले दासदासीहरू राख्ने गर्थे । दासदासीहरूलाई पिट्न सकिन्थ्यो; सार्वजनिक रूपमा अपमान गर्न सकिन्थ्यो; यौन दुर्व्यवहार गर्न सकिन्थ्यो र आवश्यकताअनुसार बेच्न पनि सकिन्थ्यो ।
ग्रिक-रोमी संसारमा धनि र गरिब बिचको धाँदो निकै फराकिलो थियो । थोरै मानिस मात्र धनी थिए । अधिकांश मानिसका लागि पैसा नै सब थोक हुन्थे । गरिबी व्याप्त थियो र माग्नेहरू जताततै भेटिन्थे ।
स्त्री र पुरुषबिच ठुलो विभेद थियो । छोरी मान्छेलाई व्यक्ति नभई सम्पत्तिको रूपमा हेरिन्थ्यो ।
प्राचीन ग्रिक-रोमी संसार असमानताले भरिपूर्ण संसार थियो । दासदासीहरूमाथिको दमन, चरम गरिबी, आर्थिक शोषण, स्त्रीहरूप्रतिको दुर्व्यवहार, अन्धविश्वास र असहिष्णुताले भरिएको संसार थियो ।
तर यस्तै संसार र समयमा येशू आउनुभयो । उहाँको जीवनी र शिक्षाले संसारमा उथलपुथल ल्याइदियो । त्यसैले आजको दिनसम्म उहाँ संसारकै सर्वश्रेष्ठ व्यक्तिको रूपमा स्थापित हुनुभएको छ ।
प्राचीन संसारमा येशूका शिक्षाहरूले नैतिकताको पाशविक स्तरलाई माथि उठाए; शिशु हत्यालाई रोके; मानवीय जीवनको मूल्यलाई वृद्धि गरे; स्त्रीहरूलाई मुक्त गरे; दास प्रथालाई निर्मूलन पारे; परोपकार र राहतसम्बन्धी संस्थाहरू जन्माए; अस्पतालहरूको सृजना गरे; अनाथालयहरूको स्थापना गरे र स्कुलहरू खोले ।
मध्य युगमा पाण्डुलिपिहरूको प्रतिलिपि गरेर; पुस्तकालयहरूको निर्माण गरेर; स्थगन दिनहरूमा लडाइँलाई मन्द पारेर र झैझगडाको छिनोफानो गरेर झन्डै ख्रिस्टियमतले मात्रै सर्वश्रेष्ठ संस्कृतिको जगेर्ना गर्यो । कलेजहरू र विश्वविद्यालयहरूको स्थापना गर्नेहरू; श्रमलाई ईश्वरीय पेसाको रूपमा सम्मान दिनेहरू र सभ्यताको ज्योतिलाई सीमा क्षेत्रमा बस्ने असभ्यहरूकहाँ पुर्याउनेहरू ख्रीष्टियानहरू नै थिए ।
आधुनिक कालमा उचित किसिमले व्यक्त ख्रीष्टियान शिक्षाले विज्ञानलाई अगाडि बढायो; राजनीति, सामाजिक र आर्थिक स्वतन्त्रताको अवधारणालाई दृढतापूर्वक स्थापित गर्यो; न्यायको विकास गर्यो र वर्तमान समयसम्म हाम्रो सम्पत्तिको रूपमा रहेका कला, वास्तुकला, सङ्गीतसाथै साहित्यमा विद्यमान वैभवशाली प्राप्तिहरूका लागि प्रेरणाको महान्तम एकल स्रोतलाई उपलब्ध गरायो ।
येशूविना यो संसार कति डरलाग्दो हुनेथियो भनी पुस्तकमा छर्लङ्ग पारिएको छ । यो एउटा शक्तिशाली कृति हो । वास्तवमा भलाइको लागि ख्रिस्टियमत संसारकै सबैभन्दा ठुलो शक्ति हो ।