विज्ञानको एउटा शाखालाई विश्व-उत्पत्तिशास्त्र (अर्थात् कस्मोलोजी) भनिन्छ । यसमा विश्वको उत्पत्ति, विकास र अन्त्यको अध्ययन गरिन्छ । अन्तरिक्ष, समय, शक्ति, पदार्थसाथै ग्रह, तारा अनि तारापुञ्जहरूको समष्टिलाई विश्व (वा युनिभर्स) भनिन्छ ।
बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई उत्पत्ति १:१ मा डोर्याउँदै छन् जहाँ लेखिएको छ, “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो ।” यो विश्व अनन्त छैन तर यसको थालनी भएको थियो भनी यसले बताउँछ । बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले पनि यो विश्व अनन्त छैन तर यसको थालनी भएको थियो भनी बताउँछन् । यहाँ चारवटा खोज प्रस्तुत गरिएका छन् ।
१. पहिलो खोज: आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त
विश्व अनन्त नभई यसको थालनी भएको थियो भन्नाका लागि विविध वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा हो, सामान्य सापेक्षताको सिद्धान्त । यसलाई वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ख्रिस्टाब्द १९१५ मा प्रतिपादन गरेका थिए । यसको आरम्भ विश्व अनन्त छ भन्ने धारणाको अन्त्य थियो । आइन्स्टाइनको सिद्धान्तअनुसार समय, अन्तरिक्ष र पदार्थ निश्चित बिन्दुमा आरम्भ भए । समय, अन्तरिक्ष र पदार्थ एक-अर्कामा यसरी गाँसिएका छन् एउटालाई अर्कोबाट अलग गर्न सकिँदैन ।
२. दोस्रो खोज: सीएमबी विकिरण
विश्वको सुरुवात छ भन्नाका लागि सीएमबी (CMB) नाम गरेको विकिरण अर्को वैज्ञानिक साक्षी हो । यसको पूरा रूप Cosmic Microwave Background हो । यो विद्युत-चुम्बकीय विकिरण विश्वको प्रारम्भिक चरणको अवशेष हो । विश्वको उत्पत्तिको लागि यो महत्त्वपूर्ण दृश्यवान् साक्षी हो ।
ख्रिस्टाब्द १९६५ मा यसलाई सन्जोगवश पत्ता लगाइयो । अर्नो पेन्जिस र रोबर्ट विलसन नाम गरेका दुई वैज्ञानिकले यो खोज पत्ता लगाएका थिए । अमेरिकाको न्यु जेरेसी राज्यस्थित बेल ल्याब्समा राखिएको एन्टिनामा तिनीहरूले अनौठो खालको विकिरण पत्ता लगाए । सुरुमा तिनीहरूले सोचे कि चराहरूले एन्टिनामा गुँड लगाएकाले ती चराका विष्टाका कारण यस्तो भएको थियो । तर ती गुँड र विष्टालाई हटाउँदा पनि चारैतिरबाट विकिरण आइरहेका तिनीहरूले देखे ।
बिसौँ शताब्दीमा यो एउटा यस्तो विस्मयकारी खोज साबित भयो जसले ती दुई वैज्ञानिकलाई नोबेल पुरस्कार दिलायो । वास्तवमा यी वैज्ञानिकद्वयले महाविस्फोटबाट फैलिरहेका विकिरणलाई पत्ता लगाएका थिए ।
महाविस्फोट वास्तवमै घटेको थियो भने यो खालको विकिरण हुनैपर्छ भनी १९४८ मा नै तीन जना वैज्ञानिकले पूर्वानुमान गरेका थिए । तर पेन्जिस र विलसनभन्दा अगि कसैले पनि त्यो पत्ता लगाउने आँट गरेन । यो खोजको पुष्टि भएपछि विश्व अनन्त छ भन्ने आँट गरिएको छैन । नासाका वैज्ञानिक रोबर्ट ज्यास्ट्रोले यस विकिरणको बारेमा टिप्पणी गरे, “यो विकिरणको व्याख्याको लागि महाविस्फोटभन्दा अन्य कुनै व्याख्या छैन । … स्थिरावस्थाको सिद्धान्तका समर्थकहरूले वैकल्पिक व्याख्या खोज्ने दुस्साहस गरेका छन्, तर तिनीहरू सफल भएका छैनन् । वर्तमान समयमा महाविस्फोट सिद्धान्तको कुनै प्रतिद्वन्द्वी छैन ।” यो विकिरणको आविष्कारले विश्वको अनन्तताका समर्थकहरूका सबै आशालाई जलाइदिएको छ ।
३. तेस्रो खोज: विश्वको फैलावट
विश्वको सुरुवात छ भन्नाका लागि विश्वको फैलावट अर्को वैज्ञानिक साक्षी हो । वैज्ञानिक आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्तअनुसार विश्व भकुन्डोझैँ फुकिरहेको तथ्य वैज्ञानिक विलियम डे सितरले प्रकट गरे । प्रसिद्ध अमेरिकी खगोलविद् इडविन पावेल हब्बलले १९२७ मा क्यालिफोर्नियाको पासाडेनास्थित माउन्ट विलसन बेधशालामा राखिएको परावर्तनीय टेलिस्कोपबाट विश्वको फैलावटलाई वास्तवमै अवलोकन गरे । हब्बलभन्दा अगाडि विश्व स्थिर र अपरिवर्तनीय छ भनेर मानिन्थ्यो । तर तिनको अवलोकनले विश्व झन्झन् बिस्तार हुँदै गइरहेको तथ्य उजागर गर्यो ।
१९२९ मा आइन्स्टाइन आफै पनि त्यहाँ गए र हब्बलको टेलिस्कोपबाट अवलोकन गर्दा तिनी चकित परे । सामान्य सापेक्षताले भनेजस्तै गरी विश्व फैलिरहेको रहेछ । आफ्नो इच्छा हुँदाहुँदै पनि साक्षीले आइन्स्टाइनलाई विश्वको अनन्ततामाथि विश्वास गर्न दिएन ।
विश्वको फैलावटले कसरी यो अनन्त छैन भनी पुष्टि गर्छ त ? प्रारम्भिक चरणदेखि विश्वको फैलावटको भिडियो रेकर्ड हामीसँग भइदिएको भए र ‘रिवाइन्ड’ गरेर हामीले त्यो हेर्न पाउने हो भने तर्कशास्त्र र गणितशास्त्रअनुसार यो प्रस्ट छ कि यसको प्रारम्भिक चरण कुनै भकुन्डो नभई वास्तवमै शून्यता थियो अर्थात् प्रारम्भिक चरणमा कुनै समय, कुनै पदार्थ र कुनै अन्तरिक्ष थिएन । विज्ञानको भाषामा यसलाई महाविस्फोट (Big Bang) भनिन्छ ।
विश्व रिक्तस्थानमा फैलिरहेको छैन तर रिक्तस्थान स्वयम् नै फैलिरहेको छ भनी बुझ्नु महत्त्वपूर्ण हुन्छ । महाविस्फोटअगि कुनै अन्तरिक्ष थिएन । अस्तित्वमा रहेको पदार्थबाट विश्वको उत्पत्ति भएको होइन तर शून्यताबाट यसको उत्पत्ति भएको हो भनेर बुझ्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । महाविस्फोटअगि कुनै पदार्थ थिएन । क्रमअनुसार हेर्ने हो भने वास्तवमा महाविस्फोटअगि कुनै ‘अगि’ नै थिएन । किनकि महाविस्फोटमा समयको आरम्भ भएको थियो र समयविना कुनै ‘अगि’ को कल्पना गर्न सकिँदैन । समय, पदार्थ र अन्तरिक्ष वास्तवमै महाविस्फोटमा अस्तित्वमा आएका थिए ।
बिसौँ शताब्दीअगि विश्व भकुन्डोझैँ फैलिरहेको थियो भनी हामीलाई थाहा थिएन । बिसौँ शताब्दीमा पत्ता लागेको यो अर्को वैज्ञानिक खोज हो जसले यो विश्व अनन्त छैन भनी पुष्टि गरिदिन्छ ।
४. चौथो खोज: कोबले पत्ता लगाएका तरङ्गहरू
महाविस्फोट वास्तवमै घटेको थियो भने पेन्जिस र विलसनले पत्ता लगाएका विकिरणको तामपक्रममा तरङ्गहरू हुनैपर्छ भनी वैज्ञानिकहरूले निष्कर्ष निकालेका थिए । यी तरङ्गहरूले गुरुत्वाकर्षण शक्तिद्वारा पदार्थलाई एकत्रित गरी तारापुञ्जको निर्माणलाई योग्य तुल्याएका हुन्छन् । यी तरङ्गहरू फेला पारिएको खण्डमा विश्व अनन्त छैन भन्नाका लागि अर्को वैज्ञानिक साक्षी हुनेथियो ।
यी तरङ्गहरूको खोजीलाई तीव्र पार्न नासाले ख्रिस्टाब्द १९८९ मा कोब नाम गरेको भूउपग्रह प्रक्षेपण गर्यो । ज्यादै संवेदनशील उपकरणहरूलाइै लिएर यो यान यी तरङ्गहरूको खोजीमा लाग्यो । यस परियोजनाका प्रमुख अगुवा जर्ज स्मुटले कोबका खोजहरूलाई ख्रिस्टाब्द १९९२ मा आश्चर्यपूर्ण ढङ्गमा उल्लेख गरे । तिनका शब्दहरूलाई संसारभरका समाचारपत्रहरूमा यसरी छापिएको थियो, “यदि तपाईं धार्मिक व्यक्ति हुनुहुन्छ भने यसले परमेश्वरलाई देखाएको जस्तो देखिन्छ ।” क्याम्ब्रिज विश्वविद्यालयका खगोलविद् स्टिफेन हकिङ्गले यो खोजबारे टिप्पणी गरे, “सम्पूर्ण समयको होइन भने पनि यो शताब्दीकै सबैभन्दा महत्त्वपूर्ण खोज हो ।”
वास्तवमा कोबले त्यस्तो के पत्ता लगाएको थियो र ? कोब जुन तरङ्गको खोजीमा निस्केको थियो त्यो यसले पत्ता लगाएरै छाड्यो । यसरी कोबले महाविस्फोट घटेकै थियो भन्नाका लागि अर्को एउटा दरिलो वैज्ञानिक साक्षी जुटायो ।
बिसौँ शताब्दीका यी चारवटा खोजले यो विश्व अनन्त नभई यसको सुरुआत भएको रहेछ भनी पुष्टि गरिदिन्छन् । विश्वको सुरुआत छ भन्ने तथ्यले चाहिँ के सङ्केत गर्छ त ? विनाकारण कुनै पनि कुरो स्वत: उत्पन्न हुन सक्दैन । आरम्भ भएको हरेक वस्तुको पछाडि कारण हुनैपर्छ, चाहे त्यो कमिला होस् वा सम्पूर्ण विश्व । विश्व आफै अस्तित्वमा आउन सक्दैन । यसको लागि कारण हुनैपर्छ र त्यो कारण समयभन्दा बाहिरको, पराभौतिक, अत्यधिक बुद्धिमान् र अकल्पनीय रूपमा शक्तिशाली हुनुपर्छ । यी गुणहरू पवित्र धर्मशास्त्र बाइबलमा वर्णित परमेश्वरका गुणहरूसित मिल्छ । विश्वको उत्पत्तिबारे भएको हालको वैज्ञानिक व्याख्या बाइबलीय विवरणसित मेल खान्छ अर्थात् “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) ।