ख्रिस्टाब्द १९९४ मा उत्तर कोरियामा अनिकाल पर्दा जोसेफ किम ४ वर्षका थिए । अनुगामी वर्षहरूमा भोकमरीले १० लाखभन्दा बेसीको ज्यान लिएर गयो जसमध्ये एक जना थिए, जोसेफका पिता । पैसा कमाएर घरमा पठाउने उद्देश्यले आमा चीनमा भाग्न सफल भइन् तर छोरोले उनलाई फेरि कहिल्यै देख्न पाएनन् । १२ वर्ष पुग्दा जोसेफ अनाथ बने र राजधानी सहर पेङ्गयोङ्गका सडकहरू नै तिनको वासस्थान बने ।
जोसेफको दैनिक लक्ष्य एउटै हुन्थ्यो: खाना फेला पारी पेट पाल्नु । तीन वर्ष यसरी नै बित्यो । तिनले दुईमध्ये एउटा छान्नुपर्ने समय आएको थियो: बुबाजस्तै गरी भोकले आफ्नै देशमा मर्ने कि भागेर जीवन बचाउने कोसिस गर्ने । तिनले दोस्रो रोजे ।
१६ वर्षको उमेरमा जोसेफ चीनमा भाग्न सफल भए । तिनले ख्रीष्टियान विश्वासको बारेमा कहिल्यै सुनेका थिएनन् र चीनमा तिनी सबैका दृष्टिमा अपरिचित भए तापनि एक जना दयालु ख्रीष्टियान स्त्रीले अधिकारीहरूको दृष्टिबाट लुकाई तिनको मदत गरे । बाइबल विश्वास गर्ने ती स्त्रीले जोसेफमा आशा जगाइदिए । ख्रीष्टियान मिसनरीहरूको सहायताबाट अन्तत: तिनी अमेरिका पुग्न सफल भए ।
जोसेफको बुझाइमा उत्तर कोरिया मानव अधिकार र जनताप्रति शासकहरूको व्यवहारको सम्बन्धमा पृथ्वीकै एउटा अन्धकारपूर्ण ठाउँ हो । पूर्वी एसियामा अवस्थित यो सम्भवत: यस ग्रहकै सबैभन्दा कम स्वतन्त्र मुलुक हो । श्रम शिविर र व्यापक गिरफ्तारीको सञ्जालमार्फत सरकारको दबदबा रहेको छ । उत्तर कोरियामा मानव अधिकार उल्लङ्घनका घटनाहरू सामान्य हुन् । हत्या, दासत्व, यातना, कैद, बलात्कार, यौन दुर्व्यवहार, धार्मिक सतावट, मानव बेपत्तासाथै स्वेच्छाचारी भोकमरीजस्ता अमानवीय क्रियाकलापहरू व्याप्त छन् । सिमाना छिचोल्दै चीनमा भागेर जान खोज्नेहरू अक्सर पक्रिन्छन् । पक्राउ परेमा कि तिनीहरूलाई श्रम शिविरमा पठाइन्छ कि भने मृत्युदण्ड दिइन्छ ।
चीनमा भएका ख्रीष्टियानहरू आफै पनि अधिकारीहरूको तीव्र दबाबमुनि रहे तापनि उत्तर कोरियाबाट भागेर आएकाहरूको ज्यान बचाउन धेरैले आफ्नै जीवन जोखिममा हाल्छन् । जोसेफ यस्तै समूहका विश्वासीहरूमध्येबाट जोगाइएका थिए ।
अमेरिका प्रवेश गरेपछि जोसेफले सङ्घर्ष गेरर अङ्ग्रेजी सिके; डिग्री प्राप्त गरे र अमेरिकी नागरिक बने ।
आशाको महत्त्वबारे तिनको भिडियो प्रस्तुति र अन्डर द सेम स्काई नामक आफ्नो आत्मकथाको प्रकाशनपश्चात् जोसेफको कथाले लाखौँको ध्यान खिँच्यो । हाल तिनी मानव अधिकारको पक्षमा वकालत गर्ने योद्धा हुन् ।
किन ती ख्रीष्टियान स्त्रीसाथै मिसनरीहरूले आफ्ना जीवन नै जोखिममा हालेर जोसेफको मदत गरे ? किनकि परमेश्वरको स्वरूपमा सृष्टि गरिएकोले हरेक व्यक्ति अमूल्य छ, “परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो” (उत्पत्ति १:२७) । ख्रीष्टियान दृष्टिकोणमा चिनियाँ हो कि उत्तर कोरियाली वा अमेरिकी हो कि नेपाली भनेर भेदभाव हुँदैन किनकि ख्रीष्ट येशूमा हामी सबै एउटै हौँ, “अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हौ” (गलाती ३:२८) ।