आफ्नो नियमित पुस्तक पठनमा हिजो मैले How Christianity Transformed the World नामक पुस्तकमा डर्क विलेम्सको बारेमा पढेँ । साढे चार सय वर्षअगि तिनले अर्को मानवप्रति जुन त्याग गरे, त्यो अवर्णनीय छ । तिनको कथाले कसको मन नछोला र ?
डर्क विलेम्सको जन्म पश्चिम युरोपेली मुलुक नेदरल्यान्डमा भएको थियो । तिनले आफूले बप्तिस्मा लिनुका साथै अरूलाई पनि बप्तिस्मा दिएका ‘अभियोग’ मा ख्रिस्टाब्द १५६९ मा तिनलाई जेल हालियो । मृत्यु कुर्दै थिए भनी तिनलाई थाहा थियो । त्यसैले तिनले भाग्ने योजना बनाए ।
लुगाबाट निर्मित डोरीको सहायताबाट विलेम्स बन्दीगृहको झ्यालबाट भाग्न सफल भए । पहरेदारले तिनलाई देखे र तिनको पिछा गरे । विलियम्सले बरफ बनेको तलाउ पार गर्ने जोखिम मोले र कम तौलको मानिस भएकाले तिनले पार पनि गरे । तर तिनलाई पछ्याउने क्रममा बढी तौल भएका पहरेदारलाई भने बरफले थेग्न सकेन । फलस्वरूप तिनी तलाउमा डुब्न पुगे र आफ्नो जीवन रक्षाको लागि गुहार मागे । आफ्ना शत्रुहरूलाई पनि प्रेम गर्नुपर्छ भन्ने बाइबलीय वचनमाथि विलेम्सको विश्वास थियो । मदतको लागि पहरेदारको दयनीय अवस्था देखेर विलेम्स पछाडि फर्के र तिनको ज्यान बचाए । तर विलेम्स पुन: समातिए अनि झ्यालखानामा हालिए ।
पछि विलियम्सलाई दोषी ठहर गरियो र १६ मे १५६९ मा तिनलाई जिउँदै जलाइनुका अतिरिक्त तिनका सबै सम्पत्ति जफ्त गरिए ।
यसरी विलेम्स धार्मिक असहिष्णुताको सिकार बन्न पुगे । तर आफैलाई पिछा गर्ने पहरेदारप्रति तिनले जुन मानवता देखाए, त्यसले तिनी येशू ख्रीष्टका साँचा अनुयायी थिए जसले येशूले भन्नुभएको “असल सामरीको दृष्टान्त” मा सामरीको भूमिका निर्वाह गरी छिमेकीप्रतिको प्रेम प्रदर्शन गरे । तिनी येशूका अनुयायी मात्र बनेनन्, तर एक अर्थमा तिनी आफै नै येशू बने किनकि तिनले आफ्नो जीवन जोखिममा हालेर पहरेदारको जीवन बचाए ।
मण्डली इतिहासमा विलेम्स अविस्मरणीय सहिद हुन् ।
“तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन । दु:ख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन । तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो” (१ पत्रुस २:२३) ।