येशू यस धरतीमा किन आउनुभयो— तरवार चलाउन वा शान्ति ल्याउन ?

येशू यस धरतीमा तरवार चलाउन आउनुभयो (मत्ती १०:३४) कि शान्ति ल्याउन (यूहन्ना १४:२७) ? मत्ती १०:३४ मा प्रभु येशूले भन्नुभयो, “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान । शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ ।” जब कि अर्को ठाउँमा येशूले भन्नुभएको छ, “शान्ति म तिमीहरूसँग छोडिराख्छु । म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु । संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ । तिमीहरूको ह्रदय व्याकुल नहोस् र भयभीत नहोस्” (यूहन्ना १४:२७) । येशूका यी दुईवटा भनाइलाई हेर्दा उहाँको आगमनको उद्देश्यमा बेमेल भएकोजस्तो देखिन्छ । येशू किन आउनुभयो— तरवार चलाउन वा शान्ति स्थापित गर्न ?

धर्मशास्त्रको साक्षीलाई हेर्दा येशूले आफ्ना अनुयायीहरूलाई शान्ति प्रदान गर्न चाहनुहुन्थ्यो भन्ने तथ्य अखण्डनीय छ । तलका यी केही पदहरूले यसको पुष्टि गर्छन् । पावलले लेखे, “परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति” (फिलिप्पी १:२) । येशूलाई “शान्तिको राजकुमार” (यशैया ९:६) भनिन्छ । येशू हामीलाई शान्ति दिन चाहनुहुन्छ (यूहन्ना १४:२७) ।

त्यसो भए मत्ती १०:३४ को अर्थ के हो त ? एक अर्थमा येशू कोलाहाल मच्चाउन आउनुभएको थियो भन्ने उद्देश्यलाई पनि इन्कार गर्न सकिँदैन । मत्ती १०:३४ मा येशू आफ्ना चेलाहरूलाई व्याख्या गर्दै हुनुहुन्छ कि कतिपय अवस्थामा सुसमाचारले फुट ल्याउँछ । एउटै परिवारमा छोरोले उहाँमाथि विश्वास गर्न सक्छ जब कि बुबाले नगर्न सक्छ । आमाले विश्वास गर्न सक्छे भने छोरीले इन्कार गर्न सक्छे ।

हामीले उहाँको आगमनको वास्तविक उद्देश्य र उहाँको आगमनले निम्त्याउन सक्ने आसन्न प्रभावबिचको भिन्नतालाई छुट्ट्याउन सक्नुपर्छ । उहाँमाथि विश्वास गरेपछि परमेश्वरका मानिसहरू संसारका मानिसहरूबाट अलग गरिन्छन् । उहाँको आगमनको आखिरी उद्देश्य मानवीय ह्रदय र पृथ्वीमा शान्ति स्थापित गर्नु भए तापनि तत्कालको लागि त्यसले फुट ल्याउन सक्थ्यो ।

Facebook Comments

Powered by Youth Circle