बिहानको तारा को हो— शैतान (यशैया १४:१२) वा येशू (प्रकाश २२:१६) ?

यशैयाको पुस्तकमा लेखिएको छ, “ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌” (१४:१२) । सन्दर्भलाई विश्लेषण गर्दा यस खण्डले शैतान र त्यसको पतको विषयमा उल्लेख गर्दै छ भनी परम्परागत रूपमा अर्थ खोलिएको छ । त्यसो हो भने यहाँ शैतानलाई “बिहानको तारा” भनिएको छ । तर प्रकाशको पुस्तकमा येशू नै “बिहानको चहकिलो तारा” हुनुहुन्छ भनी उहाँ दाबी गर्नुहुन्छ, “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु । दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ” (२२:१६) । के शैतान बिहानको तारा हो ? वा येशू बिहानको तारा हुनुहुन्छ ?

बिहानको तारा को हो— शैतान वा येशू ? यसको जवाफ हुन्छ: दुवै । तर येशू र शैतान दुवैलाई किन बिहानको तारा भनियो त ?

प्राचीन संसारमा अन्य सबैभन्दा बढि चम्कने तारालाई बिहानको तारा भनिन्थ्यो । बाइबलअनुसार येशू परमेश्वरका पुत्र हुनुहुन्छ र शैतान पतित स्वर्गदूत हो भनी हामीले सिक्दै आएको कुरो हो । पतनअगि शैतान एक सामान्य स्वर्गदूत मात्र नभएर सबैभन्दा महान् स्वर्गदूत थियो । त्यसैले पतनअगिको अवस्थामा त्यसलाई बिहानको तारा भन्नु उपयुक्त नै हुन्थ्यो ।

तर येशूलाई बिलकुलै बेग्लै अर्थमा बिहानको चहकिलो तारा भनिएको छ । उहाँको महान्‌तालाई दर्शाउन पनि यो नाउँ दिइएको हो । उहाँको महान्‌ता सबैभन्दा माथि छ ।

शैतान र येशू दुवैलाई बिहानको तारा भन्ने नाउँ मात्र दिइएको छैन तर दुवै जनालाई “सिंह” को रूपमा पनि चित्रण गरिएको छ । “तब धर्म-गुरुहरूमध्‍ये एक जनाले मलाई भने, ‘नरोऊ! हेर, यहूदाका कुलको सिंह, दाऊदको मूल यो मुट्ठो र यी सात वटा मोहोरहरू खोल्‍न विजयी हुनुभएको छ'” (प्रकाश ५:५) । येशू मात्र सिंह हुनुहुन्न शैतानलाई पनि सिंह भनिएको छ, “सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ” (१ पत्रुस ५:८) । शैतान र येशू दुवैसित सिंहका गुणहरू भएकाले दुवैलाई सिंहसित तुलना गरिएको हो । जसरी सिंह जङ्गलको राजा हो त्यसै गरी येशू राजा हुनुहुन्छ । जसरी सिंहले आफ्नो सिकार खोजी हिँड्छ त्यसै गरी शैतानले आफ्नो सिकार खोजी हिँड्छ । शैतान र येशूलाई एउटै अर्थमा नभई बिलकुलै फरक अर्थमा सिंहसित तुलना गरिएको छ ।

येशू र शैतान दुवैलाई बिहानको तारा भनिए तापनि दुवै एउटै व्यक्ति हो भनेर नझुक्किनु होला । येशू सृष्टिकर्ता हुनुहुन्छ भने शैतान सृजित प्राणी हो ।

तपाईं यहाँ दुईवटा तारा देख्नुहुन्छ: एउटा चहकिलो र अर्को पतन भएको । निस्सन्देह, शैतान पनि एउटा तारा थियो तर त्यसको चमक निभेको छ । येशू त चम्कँदै हुनुहुन्छ । उहाँ मारिनुभए तापनि पुनरुत्थान हुनुभयो र स्वर्गमा विराजमान हुनुहुन्छ ।

 

स्रोतहरू:

  1. https://www.compellingtruth.org/morning-star.html
  2. https://www.gotquestions.org/morning-star.html
  3. https://www.christianity.com/wiki/jesus-christ/jesus-and-satan-referred-to-as-the-morning-star.html
  4. https://www.truelife.org/answers/aren-t-jesus-and-satan-both-referred-to-as-the-morning-star

 

Facebook Comments

Powered by Youth Circle