“परमेश्वर कहिल्यै नमेटिने कलमले लेख्नुहुन्छ, कहिल्यै नचिप्लिने जिब्रोले बोल्नुहुन्छ र कहिल्यै नचुक्ने हातले काम गर्नुहुन्छ ।” प्रचारकहरूका राजकुमार भनेर चिनिने सी. एच. स्पर्जिनको भनाइलाई Has God Spoken? Proof of the Bible’s Divine Inspiration (के परमेश्वर बोल्नुभएको छ ? बाइबलको ईश्वरीय प्रेरणाको प्रमाण) मा उद्धृत गरिएको छ । यो पुस्तकमा बाइबलका ईश्वरीय प्रेरणाको लागि प्रमाणहरू जुटाइएका छन् । बाइबलको ईश्वरीय प्रेरणा विश्वासको विषय मात्र नभएर यसका लागि तर्कसङ्गत साक्षीहरू पनि छन् ।
पुस्तक पठन यात्रामा यो मेरो ११६ औँ पुस्तक हो । ८ दिन (मे २३-३०) मा १२ घण्टा लगाएर मैले ४०३ पृष्ठको यस कृतिलाई पढेर सकेँ । ख्रिस्टाब्द २०१२ मा प्रकाशित यस कृतिका रचनाकार हुन्, ह्याङ्क ह्यानेग्राफ । तिनी “बाइबलको जवाफ दिने” मान्छेको रूपमा परिचित छन् ।
पुस्तकमा चारवटा भाग छन् जसलाई २२ ओटा पाठमा विभाजन गरिएको छ ।
पहिलो भागमा पाण्डुलिपिहरूको चर्चा गरिएको छ । कुनै पनि हस्तलिखित प्रतिलिपिलाई पाण्डुलिपि भनिन्छ । बाइबल प्राचीन समयमा लेखिएको दस्ताबेज हो र समयको मार्गमा यसलाई घरीघरी प्रतिलिपि गरिएकोले यसमा थुप्रै त्रुटिहरू पाइन्छन् भनी बाइबलका आलोचकहरू आरोप लगाउने गर्छन् । तर उपलब्ध पाण्डुलिपिहरूको अध्ययनले उक्त आरोपमा कुनै दम नभएको देखाउँछ । वास्तवमा बाइबल (खास गरी नयाँ करार) को सबैभन्दा बढी पाण्डुलिपि मात्र छैन तर यसलाई सबैभन्दा विशुद्ध ढङ्गमा पनि प्रतिलिपि गरिएको छ भनी अध्ययनले देखाएको छ । बाइबल जस्तो लेखिएको थियो सारमा उस्तै हाम्रो हातमा आइपुगेको छ ।
पाठ दुई पुरातत्त्वविद्यासित सम्बन्धित छ । प्राचीन वस्तुहरूको अध्ययन गर्ने विद्यालाई पुरातत्त्वविद्या भनिन्छ । बाइबल एकादेशमा लेखिएको कथा वा उपन्यास होइन, तर इतिहासमा लेखिएको ऐतिहासिक दस्ताबेज हो । यसमा वास्तविक घटनाहरू, व्यक्तिका नामहरू र संस्कृतिहरूको उल्लेख पाइन्छ जसको सच्चाइलाई पुरातत्त्वविद्याले जाँच्न सक्छ । बाइबलसित सम्बन्धित हजारौँ पुरातातत्त्विक खोजहरू पत्ता लगाइएका छन् जसले एकपछि अर्को गर्दै बाइबलको ऐतिहासिकताको पुष्टि गरिदिएका छन् ।
तेस्रो पाठ भविष्यवाणीसित सम्बन्धित छ । सारा दुनियाँमा बाइबल मात्र यस्तो धर्मग्रन्थ हो जसमा मनग्गे भविष्यवाणीहरू उल्लेख भएका मात्र छैनन् तर समय आएपछि ती एक-एक गरी पूरा पनि भएका छन् । भविष्यवाणीहरूको पूर्णता बाइबलको ईश्वरीय प्रेरणाको मजबुत साक्षी हो । येशूको जन्मभन्दा सैयौँ वर्षअगि उहाँको जन्म, मृत्यु, पुनरुत्थान र स्वर्गारोहणको बारेमा मात्र भविष्यवाणी गरिएन तर ती सबै हुबहु पूरा भए । येशूको जीवनीबाहेक अन्य मनग्गे विषयमा भएका बाइबलीय भविष्यवाणीहरू पनि इतिहासका पानामा जस्ताको तस्तै पूरा भइसकेका छन्, केही पूरा हुँदै छन् भने पूरा हुन बाँकी भविष्यवाणीहरू समय आएपछि पूरा हुने छन् भनी निर्धक्क हुन सकिन्छ ।
चौथो पाठमा बाइबलको अर्थ खोलाइको चर्चा गरिएको छ । हामी बाइबल अध्ययनमा प्रवेश गर्दा छुट्टै समय, छुट्टै भूगोल र छुट्टै जातिकहाँ गएका हुन्छौँ । तत्कालीन समय, भूगोल र जातिका मनग्गे नीति नियमहरू बाइबलका पानामा लेखिएका छन् जसमध्ये कैयौँलाई सिधै जस्ताको तस्तै लागु गर्न सकिँदैन । बाइबलीय शिक्षालाइ बुझ्न अपनाइने विधिहरूलाई ख्याल गरिनुपर्छ । बाइबल एउटा धार्मिक ग्रन्थ मात्र नभएर साहित्यिक ग्रन्थ पनि भएकोले हामीले पढेका पाठ इतिहास, कानुन, कथा, संस्मरण, दृष्टान्त, जीवनजस्ता कुनचाहिँ साहित्यिक शैली हो भनी ठम्याउनुपर्ने हुन्छ । यसले हामीलाई बाइबलको वचनलाई सही प्रकारले लागु गर्न मदत पुर्याउँछ ।
संसारका सबै पुस्तकहरूका बिचमा बाइबल अतुलनीय मात्र छैन तर यसको ईश्वरीय प्रेरणाका लागि दरिला साक्षीहरू पनि छन् । मनग्गे क्षेत्रमा इतिहास रच्न सफल पुस्तक हो, बाइबल । वास्तवमा बाइबल मोतीहरूको खानी हो । “तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती, र मेरो बाटोको निम्ति उज्यालो हो” (भजन ११९:१०५) । उहाँको अनमोल वचनले भजनका लेखकको समयमा मात्र उज्यालो दिँदनथ्यो तर आज पनि यो उत्तिकै चम्किलो छ जसले हामी सबैलाई उज्यालोमा हिँड्न मदत पुर्याउँछ ।