येशूको कोखामा भाला रोपिँदा किन “रगत र पानी” निस्क्यो (यूहन्ना १९:३३-३४) ?

यूहन्नाले लेखेका छन्, “जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्‍यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्‌ । तर सिपाहीहरूमध्‍ये एक जनाले उहाँको कोखामा भालाले घोच्‍यो, र तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो” (१९:३३-३४) । सिपाहीले येशूको कोखामा भालाले घोच्दा “तुरुन्‍तै रगत र पानी निस्‍क्‍यो ।” येशूको शरीरबाट रगत मात्र आएन तर पानी पनि आयो । यसको मतलब के हो ? के कोखामा भाला रोप्दा मान्छेको शरीरबाट रगत र पानी निस्कन्छ ? शरीर विज्ञानले यस विषयमा के भन्छ ?

नयाँ करारमा येशूका चारै जना जीवनीकारले उहाँको क्रुसारोहणलाई महत्त्वका साथ अभिलिखित गरेका छन् । तिनीहरूले सविस्तार ढङ्गमा यसको वर्णन गरे । तर येशूको कोखामा घोच्दा “रगत र पानी” निस्केको तथ्यलाई भने केवल यूहन्ना उल्लेख गर्छन् ।

क्रूसमा टाँगिएका अपराधीहरूलाई छिटोभन्दा छिटो मृत्युको मुखमा पुर्‍याउन रोमी सिपाहीहरूले तिनीहरूका खुट्टा भाँच्ने गर्थे । येशू पहिले नै मरिसक्नुभएको देखेर तिनीहरूले उहाँको खुट्टा भाँचेनन् । तर एक जनाचाहिँले उहाँको कोखामा भाला रोप्दा “रगत र पानी” निस्केर आयो ।

क्रूसमा टाँगिएको अपराधी कि रक्त-अल्पताको कारणले मर्थ्यो कि भने श्वासावरोधको कारण । शरीरमा प्रवाह भइरहने रगतको मात्रा घटेको अवस्थालाई रक्त-अल्पता भनिन्छ भने रगतमा अक्सिजनको अभाव भई श्वासप्रश्वास गर्न नसक्नुलाई श्वासावरोध भनिन्छ ।

सिपाहीले येशूको कोखामा किन भालाले घोच्यो भन्ने कुरो प्रस्ट छैन । सायद यो क्रूरताको अर्को नीच काम थियो वा कतै येशू बेहोस मात्र हुनुभएको थियो भन्ठानेर सिपाहीले उहाँको मृत्युलाई पक्का गर्न चाहन्थ्यो । रोमी सिपाहीहरू क्रूरताको निम्ति कहलिएका थिए ।

आधुनिक विज्ञानले विश्वको कुनाकाप्चा मात्र पत्ता लगाएको छैन तर मानवीय शरीरको भित्री भागका रहस्यहरू पनि खोजी गरिसकेका छन् । मान्छेको मुटु पानीको थैलीले घेरिएको हुन्छ जसलाई पेरिकार्डिअम भनिन्छ । यो मुटुलाई छोपेर राख्ने झिल्लीदार थैली हो । सिपाहीद्वारा रोपिएको भालाले येशूको मुटु र यही थैलीलाई पार गरेको हुनुपर्छ । फलत: उहाँको कोखाबाट “रगत र पानी” निस्क्यो । पहिलो शताब्दीका लेखक यूहन्ना पछिल्लो समयमा पत्ता लागेको मानवीय शरीरको संरचनाबारे अनभिज्ञ भए तापनि तिनले जे देखे त्यही लेखे । यो तिनी घटनाका प्रत्यक्षदर्शी थिए भन्ने अर्को सूचक हो । यसले येशू वास्तवमै मर्नुभएको थियो भनेर मात्र पुष्टि गरेन तर उहाँ वास्तविक मानिस हुनुहुन्थ्यो भनेर पनि प्रमाणित गरिदियो । येशू वास्तविक मानिस हुनुहुन्थ्यो जसले वास्तविक मृत्यु भोग्नुभयो भनी यसले देखाउँछ ।

Facebook Comments

Powered by Youth Circle