RIP लेख्ने वा नलेख्नेबारे बाइबलीय दृष्टिकोण

RIP (रिप) अङ्ग्रेजी Rest in Peace बाट निर्मित सङ्क्षिप्त शब्द हो । यो ल्याटिन भाषाको requiescat in pace बाट आएको हो जसको अर्थ हुन्छ, “उसले शान्तिमा विश्राम पाओस् ।”

ख्रिस्टाब्द पाँचौँ शताब्दीपछि यो शब्दावली पहिलो पटक चिहानहरूमा राखिएका ढुङ्गाहरूमा देखा पर्‍यो । अठारौँ शताब्दीमा ख्रीष्टियानका चिहानहरूमा यो जताततै देखियो । आज यो मृतकको निम्ति उसका आफन्त, मित्रसाथै शुभ-चिन्तकहरूद्वारा प्रयोग गरिने सामान्य अभिव्यक्ति बनेको छ । ऐतिहासिक रूपमा यो ख्रीष्टियान अभिव्यक्ति भए तापनि आज ख्रीष्टियानहरूले मात्र नभएर गैरख्रिस्टियानहरूले पनि यसलाई प्रयोग गर्छन् । आज यो प्रचलित समवेदना भएको छ ।

यो अभिव्यक्तिको जरा बाइबलका पानाहरूमा पाइन्छ । करिब २,७०० वर्षअगि यशैयाले लेखे, “धर्मको बाटोमा हिँड्‌नेहरू शान्‍तिमा प्रवेश गर्छन्‌ । तिनीहरू मृत्‍युमा सुतिरहँदा विश्राम पाउँछन्‌” (५७:२) । यो पद मृत्युको घडीमा आशा दिने सान्त्वना हो । अर्को ठाउँमा लेखिएको छ, “तिमीचाहिँ अन्‍तसम्‍मै आफ्‍नो बाटो लाग । तिमीले विश्राम गर्नेछौ, र त्‍यसपछि तोकिएको उत्तराधिकार प्राप्‍त गर्नलाई तिमी दिनहरूको अन्‍तमा खड़ा हुनेछौ” (दानिएल १२:१३) ।

ख्रीष्टियान भएकाले हामी विश्वास गर्दछौँ कि मृत्यु स्वर्गमा अनन्त जीवनको थालनी हो । पावल लेख्छन्, “हामीमा पूर्ण भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्‍छौं” (२ कोरिन्थी ५:८) । मृत्युमा आत्माको अमरत्व ख्रीष्टियान विश्वास हो भने भविष्यमा भौतिक शरीरको पुनरुत्थान ख्रीष्टियान आशा हो । मृत्यमा हामी हाम्रो स्थायी घरमा प्रवेश गर्छौं जहाँ प्रभुसित हाम्रो भेट हुने छ र हामीले उहाँमा साँचो विश्राम पाउँछौँ । ख्रीष्टमा नभएकाहरूका लागि मृत्यु शत्रु हो भने ख्रीष्टमा भएकाहरूका लागि मित्र हो किनकि यसले हामीलाई उहाँकहाँ पुर्‍याउँछ । पावलले मृत्युलाई “लाभ” भनेका छन्, “किनकि मेरो निम्‍ति जिउनु ख्रीष्‍ट हो, र मर्नु लाभ हो” (फिलिप्पी १:२१) । तिनी अचेत नभई ख्रीष्टको उपस्थितिमा हुनेथिए भन्ने जानेर तिनले यसो भनेका थिए ।

ख्रीष्टमा हुनेहरूको मृत्युलाई बाइबलले अक्सर “सुताइ” को रूपमा उल्लेख गर्छ । “सुतिजानेहरूमध्‍येमा” येशू “प्रथम फल हुनुहुन्‍छ” (१ कोरिन्थी १५:२०) । “सुतिगएकाहरूका विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्‍छा गर्दैनौं, । … परमेश्‍वरले उहाँमा सुतिगएकाहरूलाई येशूद्वारा ल्‍याउनुहुनेछ” (१ थेस्सलोनिकी ४:१०) । जसरी राती सुतेको मान्छे बिहान उठ्छ, त्यसै गरी ख्रीष्टमा सुतेकाहरू भविष्यमा एक दिन उठ्ने छन् । जसरी सुताइ अस्थायी हो, त्यसै गरी ख्रीष्टियानको लागि मृत्यु अस्थायी हो । मृत्युपश्चात् हामी येशू ख्रीष्टसितको व्यक्तिगत सम्बन्धमा प्रवेश गर्दा वास्तवमा हामी साँचो शान्तिमा प्रवेश गरेका हुन्छौँ । यसरी मृत्युपश्चात् ख्रीष्टियानहरू “विश्राम” मा प्रवेश गर्छन् र यो विश्राम “शान्तिपूर्ण” हुन्छ ।

“RIP” का वैकल्पिक अभिव्यक्तिहरू पनि छन् । तपाईंले Rest in God (परमेश्वरमा विश्राम पाओस्), Rest in Christ’s Love (ख्रीष्टको प्रेममा विश्राम पाओस्), Peace in Heaven (स्वर्गमा शान्ति मिलोस्) जस्ता अभिव्यक्तिहरू पनि प्रयोग गर्न सक्नुहुन्छ ।

व्यक्तिको अनन्त गन्तव्य मृत्युअगि नै निधो गरिन्छ भनी बाइबलले सिकाउँछ, “मानिसको निम्‍ति एक पटक मर्नु निश्‍चित छ, र त्‍यसपछि इन्‍साफ” (हिब्रू ९:२७) । त्यसैले ख्रीष्टियानहरूले मरेको व्यक्तिको लागि प्रार्थना चढाउँदैनन् । हामी जिउँदाहरूका निम्ति प्रार्थना गर्छौं । ऐतिहासिक रूपमा “RIP” मृतकको निम्ति गरिने प्रार्थना थियो भनी बुझ्नेहरूले यो अभिव्यक्ति लेख्न हिच्किचाउँछन् र कतिले त यसको विरोधसमेत गर्छन् । तर “RIP” लाई हामीले प्रार्थनाको रूपमा नभई समवेदना वा इच्छाको अभिव्यक्तिको रूपमा बुझ्नुमा कुनै भुल हुँदैन भन्दा फरक नहोला । यो एउटा गौण विषय भएकोले हामीले ख्रीष्टियान स्वतन्त्रताको प्रयोग गर्दै असहमतिको कदर गर्न सिक्यौँ भने हामीबिचको दुरी अवश्य कम हुन्छ ।

स्रोतहरू:

  1. https://en.wikipedia.org/wiki/Rest_in_peace
  2. https://www.gotquestions.org/rest-in-peace-RIP.html
  3. https://www.crosswalk.com/faith/spiritual-life/does-rest-in-peace-rip-have-a-christian-origin.html
  4. https://www.openbible.info/topics/rest_in_peace
Facebook Comments

Powered by Youth Circle