लाश गाड्ने वा जलाउने विषयमा बाइबलले के भन्छ ?

२० नोभेम्बर २०११ (अर्थात् २०६८ साल मंसिर ४ गते) आइतबारका दिन रातको ८ बजेर ५९ मिनेट जाँदा काठमान्डौको कलङ्कीस्थित सहिद मेमोरिएल अस्पतालमा ९० वर्षको दीर्घायुमा मेरा पिता मान बहादुर अधिकारी प्रभुमा सुत्नुभयो । भोली पल्ट चर्चमा अन्त्येष्टिको कार्यक्रम गरी दफनको लागि हामीले मृत शरीरलाई ट्रकद्वारा ७ घण्टाको यात्रा गरी आफ्नो गृहनगर आरुघाट लग्यौँ र बुढी गण्डकीको तीरमा दफन गर्‍यौँ । एकातिर काठमाडौँमा गाड्नलाई जग्गा थिएन भने अर्कोतिर कफिन बक्स बनाएर गाडियोस् भन्ने बुबाको इच्छा थियो । उहाँ नामुद जँड्याहाबाट दह्रिलो विश्वासीमा रूपान्तरण हुनुभएको थियो ।

हाम्रो मण्डलीमा मृत्युपश्चात् कतिपय विश्वासीहरू गाडिए भने कतिपयलाई जलाइयो । कतिलाई टेकु त कतिलाई आर्यघाटमा जलाइएको छ भने कतिलाई वनकाली त कतिलाई अन्यत्र गाडिएको छ । गाड्ने वा जलाउने भन्नेमा परिस्थिति र आफन्तहरूको इच्छा निर्णायक बने ।

अब्राहामकी पत्नी साराको मृत्यु भएपछि तिनले “‍सारालाई कनान देशमा मम्रेनेरको, अर्थात्‌ हेब्रोनमा भएको मक्‍पेलाका खेतको ओड़ारमा गाड़े” (उत्पत्ति २३:१९) । अब्राहामको मृत्युपश्चात् तिनका छोराहरूले तिनलाई “हित्ती सोहोरको छोरो एप्रोनको खेतमा भएको, मम्रेनेरको मक्‍पेलाको ओड़ारमा गाड़े” (उत्पत्ति २५:९) । याकूबकी पत्नी राहेलको निधनपश्चात् मानिसहरूले “बेथलेहेम जाने बाटोमा … तिनलाई गाड़े” (उत्पत्ति ३५:१९) । मोआबमा मोशाको मृत्युभएपछि परमेश्वरले “मोआब देशमा बेथ-पोरको सामुन्‍ने एउटा बेँसीमा … तिनलाई गाड्‌नुभयो” (व्यवस्था ३४:६) । यहूदाका तृतीय राजा आसा आफ्ना पित्रहरूसित सुतेपछि “तिनी त्‍यस चिहानमा गाड़िए, जो तिनले दाऊदको सहरमा आफ्‍नो निम्‍ति बनाएका थिए” (२ इतिहास १६:१४) । येशूको मृत्युपश्चात् अरिमाथियाका योसेफले “मृत शरीर लिएर सफा मलमलको कपड़ाले बेह्रे, र तिनले चट्टानमा खोपेर बनाएका आफ्‍नै नयाँ चिहानमा त्‍यो राखे” (मत्ती २७:५९-६०) ।

गाड्ने विषयमा पुरानो करारमा मात्रै २०० ओटाभन्दा बेसी सन्दर्भ पाइन्छन्[i] जसले प्रस्ट पार्छन् कि मृत शरीरलाई गाड्नु इस्राएलीहरूको प्रचलित चलन थियो । चिहान, गुफा वा जमिनमा गाडी मृत शरीरलाई तह लगाउनु इस्राएलीहरूको सामान्य अभ्यास थियो । पुरानो र नयाँ करार दुवैमा मृत शरीरलाई गाड्नु प्रचलित अभ्यास थियो भन्ने कुरामा कसैले वादविवाद गर्छ जस्तो मलाई लाग्दैन ।

तर बाइबलमा यदाकदा लाशहरू जलाइएका सन्दर्भहरू पनि पाइन्छन् । आकानको पापको कारण “सारा इस्राएलीहरूले त्‍यसलाई ढुङ्गाले हाने, अनि बाँकीलाई ढुङ्गाले हानिसकेपछि जलाइदिए” (यहोशू ७:२५) । संयुक्त इस्राएल राज्यका प्रथम राजा शाऊल र तिनका छोराहरूका लाश जलाइए, “पलिश्‍तीहरूले शाऊलको मृतशरीरलाई जे गरेका थिए त्‍यो जब याबेश-गिलादका मानिसहरूले सुने, तब तिनीहरूका वीरहरू रातभरि हिँड़ेर शाऊल र उनका छोराहरूका मृत-शरीरलाई बेथ-शानको पर्खालबाट झिकेर याबेशमा ल्‍याए, र ती लाशहरूलाई जलाइदिए” (१ शमूएल ३१:११) । अर्को ठाउँमा लेखिएको छ, “त्‍यहाँका अल्‍गा-अल्‍गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए” (२ राजा २३:२०) । परमप्रभु भन्नुहुन्छ, “[मोआबले] एदोमको राजाका हड्डीहरू जलाएर चून बनाएको हुनाले म मोआबमा आगो पठाइदिनेछु” (आमोस २:१-२) । नयाँ करारमा पावलले लेखे, “यदि मैले सारा सम्‍पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन” (१ कोरिन्थी १३:३) ।

पुरातात्त्विक अभिलेखअनुसार कम्तीमा पनि १७,००० वर्षअगि मान्छेलाई जलाउने अभ्यास गरिन्थ्यो भन्ने साक्षी पाइन्छ ।[ii] आजभन्दा झन्डै ३,००० वर्षअगि रोमीसाथै ग्रिकहरूले लाश जलाउने गर्थे ।[iii]

ऐतिहासिक रूपमा ख्रीष्टियानहरूले जलाउनुभन्दा गाड्नुलाई रोज्दै आएका भए तापनि आज ख्रीष्टियान जगत्‌का तीनवटै हाँगा (रोमन क्याथोलिक, प्रोटेस्टेन्ट र ग्रिक अर्थोडक्स) ले जलाइउनुलाई अस्वीकार गर्दैनन् ।[iv] ६५% ख्रीष्टियान रहेको मुलुक[v] अमेरिकामा गाड्नेभन्दा जलाउने (मेसिनबाट) हरूको सङ्ख्या बढ्दो छ ।[vi] गाड्नुभन्दा जलाउनु सस्तो पर्नु यसको सामान्य कारण हो ।

प्रतिष्ठित बाइबल विद्वान् जोन माकार्थुर भन्छन्, “वास्तवमा विश्वासीहरूको दफनको आवश्यक तरिकाबारे धर्मशास्त्रले केही पनि भन्दैन ।” तिनको भनाइको मतलब हुन्छ कि ख्रीष्टियानहरूको सन्दर्भमा बाइबलले जलाउनुपर्छ वा गाड्नुपर्छ भनी तोक्दैन । बाइबलमा जलाउन निषेध गरिएको छैन भन्ने कुरामा विश्व प्रसिद्ध सुसमाचार प्रचारक बिल्ली ग्राहम सहमत छन् ।[vii] जलाउने वा गाड्ने सम्बन्धमा बाइबलमा ख्रीष्टियानहरूलाई प्रस्ट आज्ञा नदिइएकोले आज जलाउने अभ्यासमा अधिकांश अगुवाहरूको सहमति छ ।[viii]

बाइबलको समयमा गाड्नु सामान्य चलन भए तापनि जलाउन निषेध गरिएको छैन । बाइबलको कुनै पनि खण्डमा जलाउनु अनुपयुक्त छ भनी व्यक्त गरिएको छैन न त जलाउने कार्यसित कुनै न्याय वा सराप गाँसिएको छ । जलाउनु पाप हुन्थ्यो भने पक्कै पनि परमेश्वरले यसको भर्त्सना गर्नुहुन्थ्यो जस्तो उहाँले कैयौँ अन्य धार्मिक अभ्यासहरूको भर्त्सना गर्नुभयो ।

मान्छे माटो हो र मरेपछि त्यो माटैमा फर्केर जानेथियो भनी परमेश्वरले भन्नुभयो, “माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌ । किनकि माटैबाट तँ निकालिएको थिइस्‌ । तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌” (उत्पत्ति ३:१९) । गाड्दा वर्षौंपश्चात् मान्छे माटोमा परिणत हुन्छ भने जलाउँदा छिट्टै नै । दुवैको आखिरी उद्देश्य शरीरलाई धूलोमा परिणत गर्नु नै हो । फरक यति मात्र हो कि एउटाले छिटो गर्छ भने अर्कोले ढिलो । जलाइएको शरीरको भविष्यमा पुनरुत्थान हुँदैन कि भन्ने सोच अपरिपक्व हो । किनकि परमेश्वरको निम्ति हरेक कुरा सम्भव छ भनी ख्रीष्टियानहरू विश्वास गर्छन् । चाहे जलाइएर होस् वा गाडिएर, दुवै माध्यमबाट शरीर धूलोमा परिणत हुन्छ र भविष्यमा त्यही धुलोको मान्छेलाई परमेश्वरले पुनरुत्थान गराउनहुने छ ।

निष्कर्षमा, अन्य मनग्गे विषयहरूजस्तै गाड्नु वा जलाउनु ख्रीष्टियान स्वतन्त्रताको विषय हो । एउटा मण्डलीले गाड्न सक्छ भने अर्कोले जलाउन । एउटै मण्डलीमा पनि एउटा विश्वासीले गाड्नुलाई रुचाउन सक्छ भने अर्कोले जलाउनुलाई । गाड्ने वा जलाउने विषयमा बाइबलले संसारका सबै ख्रीष्टियानलाई एउटै नियम लागु गर्नुभएको छैन । ख्रिस्टमस मान्ने वा नमान्ने, महिनाको एक पटक प्रभु-भोज खाने कि तीन महिनाको एक पटक, मदर्स डे मान्ने वा नमान्ने, शाकाहारी बन्ने कि मांसाहारी बन्ने, जलाउने वा गाड्नेजस्ता भन्नेजस्ता सैयौँ विषयहरू ख्रीष्टियान स्वतन्त्रताका विषयहरू हुन् । तसर्थ यस्ता सवालहरूमा हरेक मण्डली र हरेक ख्रीष्टियानलाई एउटै नियम लागु हुँदैन । बाइबलले दिएको स्वतन्त्रताको सदुपयोग गरी एकले अर्कालाई आदर गर्न सिकौँ ।

 

सन्दर्भ स्रोतहरू

[i] https://www.christianity.com/wiki/christian-life/what-does-the-bible-say-about-cremation.html  Accessed on 19 May 2021

[ii] https://en.wikipedia.org/wiki/Cremation#History Accessed on 19 May 2021

[iii] https://cremationinstitute.com/bible-say-about-cremation/ Accessed on 19 May 2021

[iv] https://en.wikipedia.org/wiki/Cremation#Religious_views Accessed on 19 May 2021

[v] https://en.wikipedia.org/wiki/Christianity_in_the_United_States Accessed on 19 May 2021

[vi] https://www.christianity.com/wiki/christian-life/what-does-the-bible-say-about-cremation.html Accessed on 19 May 2021

[vii] https://cremationinstitute.com/bible-say-about-cremation/Accessed on 19 May 2021

[viii] https://cremationinstitute.com/bible-say-about-cremation/ Accessed on 19 May 2021

Facebook Comments

Powered by Youth Circle