हाम्रा स्वर्गीय पिताको प्रेम-पत्र

मेरा छोरा तथा छोरी,

तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) । तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी मेरै स्वरूपमा सृष्टि गरिएका थियौ (उत्पत्ति १:२७) । तिमी ममा जिउँछौ र ममा चलहल गर्छौ अनि ममा नै तिम्रो अस्तित्व छ, किनकि तिमी मेरा सन्तान हौ (प्रेरित १७:२८) । तिमी आमाको गर्भमा आउनुअगि नै म तिमीलाई चिन्थेँ र सृष्टिको योजना बनाउनुअगावै मैले तिमीलाई चुनेको थिएँ (यर्मिया १:४-५) । तिम्रो अस्तित्वमा कुनै गल्ती थिएन (एफिसी १:११-१२) । किनभने तिम्रा सबै दिन मेरो पुस्तकमा लेखिएका छन् (भजनसंग्रह १३९:१५-१६) । मैले तिम्रो बासस्थान र जन्मको समय तोकिदिएको छु (प्रेरित १७:२६) ।

तिमी भयानक र अद्भुत रीतिले बनाइएका छौ (भजनसंग्रह १३९:१४) । मैले तिमीलाई तिम्री आमाको गर्भमा रचेँ (भजनसंग्रह १३९:१३) । तिम्रो जन्म दिनमा मैले तिमीलाई संसारमा ल्याएँ (भजनसंग्रह ७१:६) । मलाई नचिन्नेहरूबाट म गलत रूपमा प्रस्तुत गरिएको छु (यूहन्ना ८:४१-४४) । तरै पनि म रिसाएको छैनँ र टाढा पनि छैनँ; म स्वयम् प्रेमको सारा स्वरूप हुँ (१ यूहन्ना ८:१६) । तिमीमा मेरो प्रेम खन्याउनु नै मेरो इच्छा हो, किनकि तिमी मेरो सन्तान हौ र म तिम्रो पिता हुँ (१ यूहन्ना ३:१) । तिम्रो शारीरिक पिताले भन्दा मैले तिमीलाई अझै धेरै कुरा दिन चाहेको छु (मत्ती ७:११) ।

म तिम्रो सिद्ध पिता हुँ (मत्ती ५:४८) । तिमीले पाउने हरेक असल वरदान मबाट आउँछ (याकूब १:१७) । म तिम्रा सबै आवश्यकता पूरा गरिदिन्छु किनकि मैले नै जुटाउने काम गर्छु (मत्ती ६:३१-३३) । मेरो योजनामुताबिक तिम्रो भविष्य सधैँ आशाले भरिएको हुन्छ (यर्मिया २९:११) । किनकि म तिमीलाई अनन्तको प्रेमले प्रेम गर्छु (यर्मिया ३१:१) । तिम्रो निम्ति मेरा विचार समुद्र किनारका बालुवाभन्दा बढी छन् (भजनसंग्रह १३९:१७-१८) । म तिम्रो बारेमा गीत गाएर आनन्द प्रकट गर्छु (सपन्याह ३:१७) । म अथक रूपमा तिम्रो भलाइ चाहन्छु (यर्मिया ३२:४०) । किनकि तिमी मेरो अति नै बहुमूल्य सम्पत्ति हौ (प्रस्थान १९:५) । मेरो सारा मन र प्राणले म तिमीलाई स्थापित गर्न चाहन्छु (यर्मिया ३२:४१) । म तिमीलाई महत्त्वपूर्ण र उदेकका कुराहरू देखाउन चाहन्छु (यर्मिया ३३:३) । तिमीले मलाई सम्पूर्ण ह्रदयले खोज्यौ भने मलाई भेट्टाउने छौ (व्यवस्था ४:२९) । ममा आनन्दित होऊ र म तिम्रो चाहना पूरा गर्ने छु (भजनसंग्रह ३७:४) । वास्तवमा तिमीलाई ती चाहना दिने म नै हुँ (फिलिप्पी २:१३) ।

म तिमीले चिताएको भन्दा धेरै मात्रामा गर्न सक्छु (एफिसी ३:२०) । किनकि तिमीलाई अत्यधिक उत्साह दिने म नै हुँ (२ थेसलोनिकी २:१६-१७) । म तिम्रो सारा सङ्कष्टमा तिमीलाई सान्त्वना दिने पिता हुँ (२ कोरिन्थी १:३-४) । तिम्रो ह्रदय टुटेको अवस्थामा म तिम्रो नजिकै हुन्छु (भजनसंग्रह ३४:१८) । गोठालोले थुमालाईझैँ म तिमीलाई मेरो ह्रदयभित्र बोक्छु (यशैया ४०:११) । एक दिन म तिम्रा सबै आँसु पुछिदिने छु र तिमीले यस पृथ्वीमा भोग्नुपरेका सबै कष्ट हरण गरिदिने छु (प्रकाश २१:३-४) । म तिम्रा पिता हुँ र आफ्ना पुत्र येशूलाईझैँ म तिमीलाई प्रेम गर्छु (यूहन्ना १७:२३) । किनकि येशूमा तिम्रो निम्ति मेरो प्रेम प्रकट भएको छ (यूहन्ना १७:२६) । उहाँ मेरा हुबहु प्रतिरूप हुनुहुन्छ (हिब्रू १:३) । म तिम्रो पक्षमा छु, विरुद्धमा होइन भनी देखाउनलाई येशू यस संसारमा आउनुभयो (रोमी ८:३१) । तिम्रो र मेरो बिचमा मिलाप ल्याउन येशू मर्नुभएको थियो (२ कोरिन्थी ५:१८-१९) । उहाँको मृत्यु तिमीप्रति मेरो प्रेमको आखिरी अभिव्यक्ति हो (१ यूहन्ना ४:१०) । तिम्रो प्रेम पाउनलाई मैले प्रेम गरेको हरेक कुरोलाई त्यागेँ (रोमी ८:३१-३२) । तिमीले मेरा पुत्र येशूलाई ग्रहण गर्‍यौ भने तिमीले मलाई ग्रहण गर्ने छौ (१ यूहन्ना २:२३) । तिमीलाई मेरो प्रेमले कहिल्यै कुनै पनि कुरोले अलग गराउने छैन (रोमी ८:३८-३९) । म सधैँ पिता थिएँ र सधैँ पिता नै रहने छु (एफिसी ३:१४-१५) । मेरो प्रश्न यही हो कि के तिमी मेरा छोरा वा छोरी बन्न चाहन्छौ (यूहन्ना १:१२-१३) ? म धैर्यपूर्वक तिम्रो प्रतीक्षामा छु (लूका १५:११-३२) ।

 

तिम्रा प्रेमी पिता

सर्वशक्तिमान् परमेश्वर

(नोटः Father’s Love Letter used by permission Father Heart Communications ©1999 FathersLoveLetter.com)

Facebook Comments

Powered by Youth Circle