इस्राएलको बारेमा बाइबलीय भविष्यवाणी

वर्तमान विश्वको अवस्थालाई बाइबलको परिप्रेक्ष्यबाट हेर्दा इस्राएल जातिको शानदार पुनः प्रतिष्ठापन र तिनीहरूको प्राचीन भूमिमा भएको फिर्ती साँच्चै उल्लेखनीय छ । इस्राएलको पुनः प्रतिष्ठापन र १४ मे १९४८ मा भएको इस्राएलको नयाँ राज्यको संरचना मध्यपूर्वको बढ्दो महत्त्वको सन्दर्भमा देखा परेको छ । मानव सभ्यताको उद्भवस्थानको रूपमा चिनिने यस भूमिले मनग्गे क्षेत्रमा महत्त्व राखेको छ । पवित्र भूमिको भौगोलिक रचना यसिया, युरोप र अफ्रिकाको केन्द्रबिन्दुमा छ । वास्तवमा यो संसारकै केन्द्रस्थल हो । भूमध्यसागर र सुइज नहरबाट विश्वको वाणिज्य बग्ने भएकोले आर्थिक दृष्टिकोणबाट मध्यपूर्व निकै महत्त्वपूर्ण छ र यस क्षेत्रलाई नियन्त्रण गर्ने राष्ट्रहरू आर्थिक रणनीतिक स्थानमा छन् । आर्थिक उन्नति र विकासको क्षेत्रमा धेरै शताब्दीसम्म यस क्षेत्रले गरिबीको पीडा भोगेको भए तापनि आधुनिक घटनाहरूले यस क्षेत्रमा परिवर्तनका रेखाहरू ल्याएका जस्तो देखिन्छन् । यो परिवर्तन आर्थिक क्षेत्रमा मध्यपूर्व महत्त्वपूर्ण हुने छ भन्ने सूचक पनि हो । इस्राएलको आफ्नै आर्थिक विकास र यसको वरिपरिका क्षेत्रमा भएको अत्यधिक तेलको भण्डारले यसको पुष्टि गर्दछ ।

धेरै पहिलेदेखि नै सैनिक दृष्टिकोणबाट पनि मध्यपूर्वलाई महत्त्वपूर्ण स्थलको रूपमा हेरिएको छ । पहिलो र दोस्रो विश्वयुद्धका उद्देश्यहरूमध्ये एउटा थियो— भूमध्यसागर र मध्यपूर्वमाथिको नियन्त्रण । विश्व कामकाजमा प्रमुख भूमिका खेल्न चाहने कुनै पनि राष्ट्रले यस क्षेत्रमा प्रभाव पारेको हुनुपर्छ भन्ने कुरा स्पष्ट छ ।

धार्मिक परिप्रेक्ष्यबाट पनि मध्यपूर्व महत्त्वपूर्ण छ किनकि यो ख्रिस्टियमतको उद्गमस्थान मात्र नभएर यहूदी धर्म र इस्लाम विश्वासको पनि उद्भवस्थान हो । अनुगामी धर्म, संस्कृति र मानवीय विचारमाथि आफ्नो प्रभावमा अन्य कुनै भूभाग यसभन्दा महत्त्वपूर्ण भएको छैन ।

बाइबलीय परिप्रेक्ष्यबाट हेर्दा मध्यपूर्व निकै महत्त्वपूर्ण क्षेत्र हो किनकि यसमा त्यो भूमि अवस्थित छ जुन इस्राएल जातिलाई प्रतिज्ञा गरिएको थियो । परमप्रभुले अब्रामलाई भन्नुभयो, “म तेरा सन्तानलाई यो देश दिनेछु” (उत्पत्ति १२:७) । पछि उत्पत्ति १३:१४ र १५ मा यस प्रतिज्ञालाई दोहोर्‍याइएको छ र उत्पत्ति १५:१८–२१ मा यसको ठिक सिमाना तोकिएको छ । उत्पत्ति १७:८ मा परमेश्वरले यस भूमि अब्राहामका भावी सन्तानलाई अनन्त अधिकारको निम्ति दिने प्रतिज्ञा गर्नुभएको छ ।

तर यस देशलाई अधिकार नगरिकनै अब्राहाम मरे । इसहाक र याकूबले पनि यसलाई अधिकार गर्न पाएनन् । प्रतिज्ञाको देशलाई अनिकालले ढाकेपछि योसेफको निमन्त्रणाको फाइदा उठाई याकूब आफ्नो सपरिवार लिएर मिश्रतर्फ प्रस्थान गरे । इस्राएलीहरू मिश्रको दासत्वमा परी त्यहाँबाट धनसम्पत्ति लिएर निस्किआउनेथिए भनी परमेश्वरले चार सय वर्षअगि बताइसक्नुभएको थियो (उत्पत्ति १५:१३–१४) । मिश्रतर्फको यात्रा र मिश्रबाट प्रतिज्ञाको देशतर्फको यात्रा दुवै नै हुबहु पूरा भए भनी प्रस्थानको पुस्तक र पुरानो करारका अनुगामी पुस्तकहरूमा अभिलिखित छन् ।

तर इस्राएल प्रतिज्ञाको देशमा आइपुगे पनि यसले सबै भूमि कब्जा गर्न सकेन । सोलोमनको समयमा धेरै भूमि कब्जा गरिएको भए तापनि अब्राहामलाई प्रतिज्ञा गरेमुताबिक इस्राएलीहरूले त्यस भूमिलाई कहिल्यै अधिकार गर्न पाएनन् । बरु सोलोमनपछि संयुक्त राज्य इस्राएल र यहूदा गरी दुई भागमा विभाजन भयो । पछि ७२२ ख्रिस्टपूर्वमा अश्शूरीहरूद्वारा उत्तरी राज्य निर्वासनमा लगियो भने ६०५ ख्रिस्टपूर्वमाबाट दक्षिणी राज्य यहूदा पनि बेबिलोनीहरूको कब्जामा पर्न थाल्यो । इस्राएलीहरूको पापको कारणले तिनीहरू निर्वासनमा लगिएका हुन् भन्ने भनाइ पूर्ववर्ती अगमवक्ताहरूका मुख्य विषयवस्तु नै थियो ।

यरूशलेम र यसमा निर्माण भएको सुन्दर मन्दिरको विनाशपछि देखा परेको इस्राएलको संस्कृति र सभ्यताको ध्वंसावशेषको बिचमा सत्तरी वर्षपछि इस्राएल आफ्नै भूमिमा फर्केर आउनेथियो भनी यर्मियाले भविष्यवाणी गरे (यर्मिया २९:१०) । यर्मियाको भविष्यवाणीमुताबिक सत्तरी वर्ष बितेपछि यरुबाबेलको नेतृत्वमा ५०,००० यहूदी इस्राएलको प्राचीन भूमिमा फर्के र पछिबाट मन्दिर पुनर्निर्माण गरियो अनि वर्षौंपछि नहेम्याहको नेतृत्वमा पर्खालको पनि पुनर्निर्माण गरियो ।

अब्राहामका सन्तानहरू बेबिलोन र अश्शूरमा मात्रै तितरबितर हुनेथिए भनी भविष्यवाणी गरिएन, तर मोशाले बताएअनुसार इस्राएलीहरूको पापको परिणामस्वरूप तिनीहरू संसारको चारै कुनामा छरपष्ट हुनेथिए । मोशाले इस्राएलीहरूलाई चेतावनी दिए, “जसरी परमप्रभुले खुसीसाथ तिमीहरूको भलाइ र वृद्धि गर्नुभयो, त्यसरी नै तिमीहरूलाई खुसीसाथ ध्वंस र विनाश गर्नुहुनेछ । अनि तिमीहरूले अधिकार गर्नलाई पस्न लागको देशबाट तिमीहरू उखेलिने छौ । तब पृथ्वीका एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तिमीहरूलाई तितरबितर पार्नुहुनेछ । त्यहाँ तिमीहरू र तिमीहरूका पूर्खाहरूले नजानेका काठ र ढुङ्गा अन्य देवताहरू तिमीहरूले पुज्नेछौ” (व्यवस्था २८:६३–६४) । यस भविष्यवाणीमा भएको सार्थक पक्ष भनेको तिनीहरू “विभिन्न जातिका बीचमा” छरपष्ट हुनेथिए भनी बताइनु हो । इस्राएलले मसीहलाई इन्कार गरेपछि ख्रिस्टाब्द ७० मा पुनर्निर्मित यरूशलेमको मन्दिर नष्ट गरियो अनि इस्राएलीहरू चारैतिर तितरबितर भए । पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बिचमा भएको इस्राएलको तितरबितरले झन्डै १९०० वर्षसम्म निरन्तरता पायो । बिसौँ शताब्दीको मध्यभन्दा अगाडि तिनीहरूको कुनै उल्लेखनीय पुनः जमघट भएको थिएन ।

अब्राहामका सन्तानहरू विभिन्न जातिका बिचमा छरपष्ट भएको भए तापनि परमेश्वरको वचन आश्चर्यमय ढङ्गमा पूरा भएको छ किनकि इस्राएल जाति सुरक्षित छ । सूर्य र चन्द्रमा रहुन्जेल इस्राएल जाति रहनेछ भनी यर्मियाले भविष्यवाणी गरे (यर्मिया ३१:३५–३६) । इस्राएल यसरी बचाइएको छ कि त्यसको सट्टामा अर्को जाति भइदिएको भए त्यो उहिले नै इतिहासमा बिलाउने थियो । तिनीहरूका पृथक् धर्म, संस्कृति र पैतृक सम्पत्तिको कारणले आफ्नो प्राचीन भूमिमा फर्कन तिनीहरूलाई अगुवाइ गर्‍यो । बिसौँ शताब्दीको सुरुमा इस्राएलीहरूको प्राचीन भूमिमा एउटै पनि यहूदी गाउँ थिएन र आफ्ना पिता पुर्खाहरूको देशमा छरपष्ट भएका करिब २५,००० यहूदी थिए भनी अनुमान गरिएको छ ।

मध्यपूर्वमा इस्राएलको नयाँ राज्यको अवधारणालाई ख्रिस्टाब्द १८९७ मा थियोडोर हर्जले अगाडि ल्याए । १९१७ मा बालफोर घोषणापत्रले यस अभियानलाई उत्साह दियो । इस्राएलीहरूलाई तिनीहरूको पैतृक भूमि दिन ब्रिटिस सरकार पनि पक्षमा थियो भनी यस घोषणापत्रले अङ्कित गर्छ । तर पहिलो विश्वयुद्धको समाप्तीसँगै ब्रिटिस सरकारले यस अवधारणलाई खारेज गरिदियो । ख्रिस्टाब्द १९३९ मा दोस्रो विश्वयुद्धको आरम्भ हुँदा यस पवित्र भूमिमा इस्राएलीहरूको सङ्ख्या लगभग ४,००,००० पुगिसकेको थियो र फेरि यहूदी राज्य हुनुपर्छ भन्ने विचारलाई बिउँताइयो । मनग्गे धोका र वैपरित्यका बाबजुत पनि १४ मे १९४८ मा इस्राएलीहरूले नयाँ राज्य पाएरै छाडे ।

यसको पहिलो वर्षमा यसले अरबी छिमेकीहरूसँग युद्धमा बिताउनु परे तापनि आज यसले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ र अन्य राज्यहरूका बिचमा आज यो भिन्नै राज्यको रूपमा स्थापित छ । झन्डै बिस लाख यहूदी आफ्नो भूमिमा फर्किसकेका छन् ।

बाइबलीय भविष्यवाणीको दृष्टिकोणबाट नयाँ इस्राएल राज्यको गठन अत्यधिक महत्त्वपूर्ण छ । विश्वले अहिले जे देखाइरहेको छ त्यो बाइबलको भविष्यवाणी मुताबिक नै छ । यर्मिया २३:७–८ अनुसार जब येशू ख्रीष्ट पृथ्वीमा शासन गर्न आउनुहुन्छ, त्यसको लगत्तै इस्राएलीहरू पूर्णरूपमा जम्मा हुनुपर्छ, “यसैले यस्ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्यै यस्तो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।’ तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ–जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।’ त्यसपछि तिनीहरू आफ्नै देशमा बस्नेछन् ।” यो पुनः जमघट अन्य ऐतिहासिक पुनः जमघटभन्दा यस अर्थमा फरक छ कि यस पुनः जमघटमा इस्राएलका सबै सन्तान छरपष्ट भएका विभिन्न राष्ट्रबाट फर्की आउनेछन् ।

यस विषयमा इजकिएलको पुस्तकमा थप ज्योति पाइन्छ । इजकिएलले लेखे, “तब तिनीहरूले जान्नेछन् कि म परमप्रभु तिनीहरूका परमेश्वर हुँ, किनकि मैले तिनीहरूलाई जाति–जातिहरूका बीचमा निर्वासित गरे तापनि तिनीहरूमध्ये कोही पनि नछुट्नेगरी म नै तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा भेला गराउनेछु” (इजकिएल ३९:२८) । बिसौँ शताब्दीमा इस्राएलको पुनः जमघट उल्लेखनीय रूपमा देखिएको छ । यो ज्यादै सम्भाव्य छ कि जब येशू आउनुहुन्छ सबै इस्राएली त्यस समयमा पवित्र भूमिमा फर्किसकेका हुने छन् । ठूला र साना भविष्यवक्ताका पुस्तकहरूमा यस विषयलाई पटक–पटक दोहोर्‍याइएको छ ।

आमोसको पुस्तकमा यस बारेमा अझै थप बताइएको छ, “म मेरो निर्वासनमा गएका प्रजा इस्राएललाई फर्काएर ल्याउनेछु । ध्वंस भएका सहरहरूलाई तिनीहरूले फेरि निर्माण गरेर तिनमा वास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाएर तिनका दाखमद्य पिउनेछन् । तिनीहरूले बगैँचाहरू बनाएर तिनका फलहरू खानेछन् । म इस्राएललाई तिनीहरूकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु,’ परमप्रभु भन्नुहुन्छ” (आमोस ९:१४–१५) । इस्राएलीहरू आफ्नो प्राचीन भूमिमा फर्केर तिनीहरूले ध्वंस भएका सहरहरू निर्माण गर्नेछन्, दाखबारीहरू लगाउनेछन्, दाखमद्य पिउनेछन् र बगैंचाहरू लगाएर तिनका फलहरू खानेछन् भन्ने यस भविष्यवाणीको उल्लेखनीय पक्ष हो । इस्राएलको वर्तमान पुनर्स्थापनामा यो भविष्यवाणी स्पष्टतः पूरा हुँदै छ र सहस्राब्दीय युगमा पनि यसको भावी समाप्ती हुनेछ । तथापि यस खण्डमा भएको सबैभन्दा उल्लेखनीय पक्ष पद १५ को अन्त्यमा पाइन्छ । परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म इस्राएललाई तिनीहरूकै देशमा कहिल्यै नउखेलिने गरी बसाल्नेछु, जुन देश मैले तिनीहरूलाई दिएको छु ।” इस्राएलीहरूको इतिहासमा तिनीहरू दुई पटक पुनः जमघट भएका थिए । तर दुवै पटक तिनीहरू आफ्नो देशबाट उखेलिए । तिनीहरू मिश्रबाट फर्केका थिए, तर पछि अश्शूरी र बेबिलोनी निर्वासनमा लगिए । बेबिलोनबाट फेरि फर्केका थिए, तर पहिलो शताब्दी ख्रिस्टाब्दको उत्तराद्र्धमा तिनीहरू तितरबितर भए । तर तिनीहरूको अन्तिम पुनः जमघट कहिल्यै नउखेलिने गरी हुने छ भनी आमोस बताउँदै छन् ।

इस्राएलको पुनः प्रतिष्ठापन बाइबलमा भएका अनगिन्ती भविष्यवाणीहरूमध्ये वर्तमान समयमा पूरा भएको एउटा आश्चर्यमय भविष्यवाणी हो । केही शताब्दीको लागि अस्तित्वविहीन भई पुनः संसारको इतिहासमा राजनैतिक अस्तित्वको रूपमा आफैलाई स्थापित गराउने एउटै मात्र प्राचीन राष्ट्रको रूपमा इस्राएलले आफैलाई चिनाएको छ । वर्तमान समयमा भएको इस्राएलको पुनर्स्थापना इतिहासमा परमेश्वरको हात छ भन्ने प्रस्ट सङ्केत मात्र नभई इस्राएलीहरूलाई उहाँले गर्नुभएका अनगिन्ती प्रतिज्ञाबमोजिम कुनै पनि हालतमा उहाँले तिनीहरूलाई त्याग्नुहुने छैन भन्ने परमेश्वरको प्रतिज्ञाको पूर्णताको सुस्पष्ट प्रमाण पनि हो ।

Facebook Comments

Powered by Youth Circle