“हातमा बत्ती लिएकी केटी” को उपनामले चिनिने फ्लोरेन्स नाइटिङ्गेलको जन्म ख्रिस्टाब्द १८२० मा इटालीमा भएको थियो । आज विश्वले उनलाई आधुनिक नर्सिङ पेसाको संस्थापकको रूपमा आदर गर्दछ । मानव-जातिको स्वास्थ्यको रेखदेखमा उनले अपार योगदान पुर्याएकी छन् । रातमा पनि हातमा बत्ती लिएर घाइतेहरूको सेवा पुर्याएकी हुनाले उनलाई “हातमा बत्ती लिएकी केटी” को उपनाम दिइएको थियो । अस्पतालमा उनले पुर्याएकी सेवाको कारण उनलाई “सेवा गर्ने स्वर्गदूत” भन्दा पनि अत्युक्ति नहोला । प्राय: “पूर्वको तारा” पनि भनिएकी नाइटिङ्गेलको प्रयासमा सारा संसारभरि नर्सिङ पेसा एउटा आदरणीय पेसा बनेको छ । उनी सामाजिक सुधारकसाथै तथ्याङ्कशास्त्री पनि थिइन् ।
नाइटिङ्गेल एक भक्त स्त्री थिइन् । उनले आफ्नो कामको प्रेरणा प्रभु येशू ख्रीष्टबाट पाएकी थिइन् । उनले जुन सफलता हात पारिन्, त्यो ख्रीष्ट येशूको प्रेरणाविना प्राप्त गर्न सक्दिन थिइन् । स्वास्थ्यको क्षेत्रमा अपार योगदान पुर्याएकी नाइटिङ्गेल ख्रीष्टका सच्चा भक्त थिइन् ।
सत्र वर्षको हुँदा उनलाई परमेश्वरले उहाँको सेवामा डाक्नुभएको थियो भनी उनले बताएकी थिइन् । तर त्यो सेवा के थियो भनेर पत्ता लगाउन उनले २४ वर्षको उमेरसम्म कुर्नुपर्यो ।
१८६० मा नाइटिङ्गेलले लन्डनस्थित सन्त थोमास अस्पतालमा नर्सहरूलाई तालिम दिन नाइटिङ्गेल स्कुलको स्थापना गरिन् । उनको यही कार्यलाई नै आधुनिक नर्सिङ्को थालनीको रूपमा हेरिन्छ । आफ्नो सम्पूर्ण सेवालाई नाइटिङ्गेलले यस वाक्यमा उचित तवरले सारांशमा ल्याएकी छन्, “स्वर्गको राज्य भित्रपट्टि छ, तर यसलाई हामीले बाहिर पनि ल्याउनुपर्छ ।”
नाइटिङ्गेलको जन्मदिनको अवसर पारेर १२ मेमा संसारभरि अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइन्छ ।
साँचो धर्म अरूहरूको सक्रिय वास्ता र प्रेममा प्रकट हुनुपर्छ भन्ने नाइटिङ्गेलको बुझाइ थियो । उनको जीवनकालमा उनका अधिकांश प्रकाशित कृतिहरू चिकित्सा ज्ञानसित सम्बन्धित भए तापनि उनले ईश्वररशास्त्राबारे एउटा कृति पनि लेखेकी छन् । ख्रीष्टप्रति उनको तीव्र भक्ति थियो ।
१३ अगस्त १९१० मा ९० वर्षको दीर्घायुमा लन्डनस्थित आफ्नो कोठामा नाइटिङ्गेल शान्तिसाथ सुतिन् ।
बीबीसीले ख्रिस्टाब्द २००२ मा प्रसारण गरेको इङ्गल्यान्डको इतिहासमा १०० जना महान्तम ब्रिटिस नागरिकको सूचीमा फ्लोरेन्स नाइटिङ्गेलको नाउँ बाउन्नौँ स्थानमा परेको थियो ।