दृष्टान्तविना येशूले केही भन्नुभएन भनी मत्ती लेख्छन्, “येशूले यी सबै कुरा मानिसहरूलाई दृष्टान्तमा भन्नुभयो । विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन” (१३:३४) । तर येशूले दृष्टान्तविना पनि धेरै कुरा भन्नुभएको तथ्य काँचझैँ छर्लङ्ग छ । उदाहरणको लागि, डाँडाको उपदेश (मत्ती ५-७) लाई लिन सकिन्छ जहाँ उहाँले विनादृष्टान्त लामो उपदेश दिनुभयो । त्यसो हो भने मत्तीद्वारा लिखित “विनादृष्टान्त उहाँले तिनीहरूलाई केही पनि भन्नुभएन” भन्नुको मतलब के हो त ?
मत्तीको सुसमाचारमा येशूले भन्नुभएका पाँचवटा उपदेश उल्लिखित छन्: डाँडाको उपदेश (५-७), मिसनसम्बन्धी उपदेश (१०), दृष्टान्तसम्बन्धी उपदेश (१३), मण्डलीसम्बन्धी उपदेश (१८) र अन्त्यको समयसम्बन्धी उपदेश (२४-२५) । यी पाँचवटा उपदेशमध्ये तेस्रो अर्थात् दृष्टान्तसम्बन्धी उपदेश मत्ती १३ अध्यायमा अभिलिखित छ जहाँ येशूले ७ ओटा दृष्टान्त भन्नुभएको छ ।
मत्तीको भनाइ (१३:३४) को मतलब येशूले दृष्टान्तविना कहिल्यै पनि सिकाउनुभएन भन्ने होइन, न त तिनको भनाइको तात्पर्य यसभन्दा अगि वा पछि उहाँले दृष्टान्तविना केही पनि बोल्नुभएन भन्ने नै हो । उहाँले यसभन्दा पहिले र पछि पनि दृष्टान्तको प्रयोग नगरिकन बोल्नुभएको तथ्य प्रस्ट छ । मत्तीको भनाइको अर्थ यही हो कि येशूको सेवाकार्यको यस चरणमा उहाँ दृष्टान्तविना तिनीहरूसित बोल्नुभएन । मत्ती १३ मा मात्रै उहाँका ७ ओटा दृष्टान्त उल्लिखित छन् । उहाँले सधैँ दृष्टान्तमा बोल्नुभयो भनी मत्ती दाबी गर्दैनन् ।
तर भिडसँग येशू किन दृष्टान्तमा बोल्नुभयो ? येशू आफैले यसको जवाफ दिनुभएको छ, “किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्दैनन्, सुन्न त सुन्छन्, तर सुनेर बुझ्दैनन्” (मत्ती १३:१३) । भिडले येशूलाई पुरानो करारमा प्रतिज्ञा गरिनुभएका मसीहको रूपमा इन्कार गरे । त्यसैले स्वर्गको राज्यबारे भएका सत्यताहरू तिनीहरूले नबुझुन् भनेर उहाँ तिनीहरूसँग दृष्टान्तहरूमा बोल्नुभयो ।