परमेश्वरको अस्तित्वलाई देखाउने हालै पत्ता लागेका तीनवटा वैज्ञानिक खोज

विज्ञानका इतिहासकार फ्रेडरिक बर्नहाम अवलोकन गर्छन्, “परमेश्वरले विश्वको सृष्टि गर्नुभयो भन्ने अवधारणा विगत १०० वर्षको कुनै पनि समयमा भन्दा आज निकै आदरणीय परिकल्पना हो ।” फ्रेडरिकको भनाइ कति साँचो छ भनी बुझ्न मदत गर्ने एउटा कृति हालै बजारमा आएको छ । वैज्ञानिक जगत्‌मा देखा परेको यो अति नै प्रभावशाली पुस्तकको नाउँ Return of the God Hypothesis: Three Scientific Discoveries That Reveal the Mind Behind the Universe हो । पुस्तक पठन यात्रामा यो मेरो ११२ औँ पुस्तक हो । गत ३१ मार्चमा मात्र प्रकाशित यस कृतिलाई पढेर सक्न मलाई १४ दिन (अप्रिल २-१५) मा साढे बिस घण्टा लाग्यो । ८५९ पृष्ठको यस बडेमाको पुस्तकका लेखक हुन्, स्टिफेन सी. मेएर । क्याम्ब्रिज विश्वविद्यालयबाट विज्ञानको दर्शनशास्त्रमा पीएचडी गरेका मेएर Darwin’s DoubtSignature in the Cell जस्ता विश्वकै प्रभावशाली कृतिहरूका रचनाकार पनि हुन् ।

पुस्तकमा लेखक मेएरले विश्व उत्पत्तिशास्त्र (Cosmology), भौतिकशास्त्र (Physics) र जीवशास्त्र (Biology) मा पत्ता लागेका नयाँ नयाँ खोजहरूले तपाईं र मलाई परमेश्वरतर्फ डोर्‍याउँदै छन् भनी तर्क गरेका छन् । विज्ञानका यी तीनवटा शाखामा फेला पारिएका वैज्ञानिक खोजहरू परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने बलिया साक्षी हुन् । लेखकाअनुसार यो सम्पूर्ण भौतिक जगत्‌को पछाडि परमचेतनाको हात छ भन्नाका लागि हालै पत्ता लागेका तीनवटा खोज यस प्रकार छन् ।

(१) विश्व उत्पत्तिशास्त्रको साक्षी

यो विश्व अनन्त छ भनी लामो समयदेखि विश्वास गरिँदै आएको थियो तर आइन्स्टाइनको सामान्य सापेक्षताको सिद्धान्त, विश्वको फैलावटसाथै सीएमबी नामक विकिरणजस्ता साक्षीहरूले यो विश्व अनन्त छैन भनी पुष्टि गरिदिएका छन् । यो विश्व अनन्त नभई यसको निश्चित बिन्दुमा थालनी भएको छ भनी यी खोजहरूले देखाउँदै छन् ।

(२) भौतिकशास्त्रको साक्षी

विश्व (अर्थात् युनिभर्स) को आरम्भदेखि नै यो अति नै व्यवस्थित ढङ्गमा अस्तित्वमा छ जसको परिणामस्वरूप जीवको अस्तित्व सम्भव भएको हो । भौतिकशास्त्रमा थोरै मात्र फेरबदल भइदियो भने जीव अस्तित्वमा हुँदैन ।

(३) जीवशास्त्रको साक्षी

नयाँ नयाँ खोजहरूले जीवबारे भएको हाम्रो धारणामा ठुलो परिवर्तन ल्याइदिएका छन् जसले यसको पछाडि बुद्धिमान् रचनाकारको हात छ भनी अङ्कित गर्छन् । ख्रिस्टाब्द १९५३ मा वैज्ञानिकद्वय फ्रान्सिस क्रिक र जेम्स वाटसनले डीएनको आविष्कार गरेपछि जीवको जटिलता झन्झन् छर्लङ्ग हुँदै गइरहेको छ ।

वैज्ञानिक इतिहासको कुनै कालखण्डमा केही वैज्ञानिकहरू वा वैज्ञानिक सिद्धान्तहरूले परमेश्वरमाथिको विश्वासलाई चुनौति दिए तापनि वास्तवमा वैज्ञानिक उन्नतिलाई प्रेरणा दिने त ख्रीष्टियान जगत् नै थियो । विज्ञानका इतिहासकारहरूले देखाएका छन् कि परमेश्वरमाथिको विश्वासले नै वैज्ञानिक खोजहरूका लागि प्रेरणा दिएको थियो जसले वैज्ञानिक क्रान्ति (लगभग ख्रिस्टाब्द १५००-१७५०) लागि आधार तयार पार्‍यो जुन समयावधिमा आधुनिक विज्ञानले जन्म लिएको थियो । सोर्‍हौँ र सत्रौँ शताब्दीमा आइपुगेपछि मात्र पाश्चात्य ख्रिस्टियमतले बाइबललाई अधिकारको स्रोतको रूपमा बेसी भरोसा गर्न थालेपछि ‘प्राकृतिक नियम’ भन्ने शब्दावलीले जन्म लिएको देखिन्छ । बेकन, डेस्कार्टेस, केप्लर, ह्युजेन्स, हुकर, बोएले र न्युटनजस्ता दार्शनिकसाथै वैज्ञानिकहरूका रचनाहरूमा प्रकृतिको नियमित गतिविधिलाई व्याख्या गर्न ‘प्राकृतिक नियम’ भन्ने धारणाको प्रयोग गरियो । चेतनशील र बुद्धिमान् सृष्टिकर्तामाथिको विश्वासले नै आधुनिक विज्ञानको विकासमा मलजल गरेको थियो ।

यो प्राकृतिक ईश्वरशास्त्रको प्रयोग गरी परमेश्वरको अस्तित्वको पक्षमा लिखित शानदार कृति हो । हामी जति धेरै विश्व र प्रकृतिका रहस्यहरू उजागर गर्दै जान्छौँ त्यति नै धेरै ती रहस्यहरूका व्याख्याको लागि परमेश्वरको खाँचो देख्दै जान्छौँ भन्नाका लागि यो पुस्तक गतिलो उदाहरण हो ।

Facebook Comments

Powered by Youth Circle