येशूलाई वाहियात ठान्ने पीएचडी गरेकी नास्तिक लेखिका येशूद्वारा नै परिवर्तित

“२८ वर्ष पुग्दा म समलिङ्गी थिएँ भनी मैले साहसपूर्वक घोषणा गरेँ । अङ्ग्रेजी साहित्य र सांस्कृतिक अध्ययनमा मैले विद्यावारिधि सक्नै लागेकी थिएँ ।” यो The Secret Thoughts of an Unlikely Convert: An English Professor’s Journey into Christian Faith नामक पुस्तकमा रोजारिया बटरफिल्डद्वारा व्यक्त भनाइ हो । यो उनको आत्मकथा हो जसमा उनले आफ्नो परिवर्तनको कथालाई सविस्तार ढङ्गमा व्यक्त गरेकी छन् । उनी परमेश्वरको खोजीमा थिइनन्, तर परमेश्वर उनको खोजीमा हुनुहुन्थ्यो । धर्मान्तरण उनले चाहेकी कुरो थिएन, तर अनुसन्धानले उनलाई त्यहीँ पुर्‍यायो ।

पुस्तक पठन यात्रामा यो मेरो १११ औँ पुस्तक हो । ख्रिस्टाब्द २०१२ मा प्रकाशित यस कृतिका रचनाकार रोजारिया बटरफिल्ड आफै हुन् । १६९ पृष्ठ भएको यस रचनालाई पढेर सिद्ध्याउन मैले ५ दिन (मार्च २८-अप्रिल १) मा ८ घण्टा लगानी गर्नुपर्‍यो ।

३४ वर्षको पुग्दा बटरफिल्ड समलिङ्गी मात्र थिइनन्, तर नास्तिकसाथै न्युयोर्कस्थित साइराकुस विश्वविद्यालयका प्राध्यापकसमेत भइसकेकी थिइन् । उनी फ्राएड, हेगेल, मार्क्ससाथै डार्बिनका अवधारणाहरूको पक्षपोषक थिइन् । समलिङ्गी अवधारणाको पक्षमा उनी खुलेरै बोल्थिन् । उनी ख्रीष्टियानहरूलाई घृणा गर्थिन् र येशू उनको लागि वाहियात थियो । येशूको नाउँ उनको घाँटीमा हात्तिको दाराजस्तै गरी अड्किन्थ्यो । त्यो नाउँको उच्चारण गर्नेहरूदेखि पनि उनलाई रिस उठ्थ्यो ।

दिनहरू बित्दै गर्दा बटरफिल्डले धर्मसित जोडिएको सवालबारे अनुसन्धान गरिन् र आफ्नो खोज पूरा गर्नलाई उनले एउटा पुस्तक पढ्नुपर्ने भयो जसको नाउँ हो, बाइबल । यसले धेरै मानिसलाई कुबाटोमा डोर्‍याएको थियो भन्ने उनको विश्वास रहेको थियो । आफ्नो अनुसन्धानमा सहायता मिलोस् भन्नाका लागि उनी बाइबल विद्वान्‌को खोजीमा थिइन् । त्यसैले उनले स्थानीय अखबारपत्रमा ख्रीष्टियान आस्थाको विरुद्धमा लेख छपाइन् । मिश्रित प्रतिक्रियाहरू आए र एक जना स्थानीय पास्टरले उनलाई आफ्नो अडानको वकालत गर्न चुनौती दिए । तर्कवितर्क गर्नुको साटो पास्टरले तर्कसङ्गत प्रश्नहरू अगाडि सारेका थिए: तपाईं कसरी आफ्नो अर्थ खोलाइमा पुग्नुभयो ? तपाईं ठिक हुनुहुन्छ भनेर कसरी थाहा पाउने ?

यो चुनौतीले बटरफिल्डलाई पास्टरसित भेट गर्न प्रेरित गर्‍यो । उनको भेटघाट पास्टर र उनकी पत्नीसित घनिष्ठ सम्बन्धमा परिणत भयो । तिनीहरूले एक-अर्कालाई आफ्ना विचार आदानप्रदान गर्नुका अतिरिक्त पुस्तकहरू पनि साटासाट गरे । तिनीहरू सँगै खानपान गर्थे र यौनसाथै राजनीतिजस्ता विषयहरूबारे खुलेरै कुराकानी गर्थे । यी सबै गतिविधिले बटरफिल्डलाई पटक-पटक बाइबल पढ्न अभिप्रेरित गरे । वचन पढ्दै गर्दा यसको सत्यताबाट प्रभावित हुनेथिइन् भनी उनले अपेक्षा गरेकी थिइनन् । उनले बाइबल अध्ययनमा दिनमै घण्टौँ बिताउँथिन् ।

गम्भीर रूपमा बाइबल अध्ययन गर्ने क्रममा बटरफिल्डले तीनवटा सिद्धान्तलाई पराजित गर्न सकिनन्: परमेश्वरको भलाइ, उहाँको पवित्रता र धर्मशास्त्रको अधिकार । अन्तत: बाइबलको एउटा खण्डले उनलाई क्रूसमा टाँगिदियो, “बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे । यसकारण परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो, कि तिनीहरूले आपसमा आफ्‍ना शरीरको अनादर गरून्‌ । किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे । यसैकारण परमेश्‍वरले तिनीहरूलाई लाजमर्दो कामुकताको निम्‍ति छोडिदिनुभयो” (रोमी १:२२-२६) ।

ख्रिस्टाब्द १९९९ मा ३६ वर्षको उमेरमा बटरफिल्डले येशू ख्रीष्टमा नयाँ जन्म पाइन् । उनी सम्झन्छिन्, “प्रार्थना गर्दा मैले भित्रैदेखि जीवित परमेश्वरको उपस्थितिको महसुस गरेँ । लाग्थ्यो, येशू उपस्थिति हुनुभएको छ र जीवित हुनुहुन्छ ।” ख्रीष्टियान भइसकेपछि उनले हरेक कुरा अर्थात् आफ्ना मित्रहरू, लेख, शिक्षण, कपडा, बोलीवचन, विचार परिवर्तन गर्नुपर्‍यो किनकि उनी समलिङ्गी पृष्ठभूमिबाट आएकी थिइन् । उनले झन्डै १० वर्षसम्म समलिङ्गी जीवन बिताएकी थिइन् ।

बटरफिल्डले जीवनमा नाटकीय परिवर्तनको अनुभव गरिन् । समलिङ्गता मौलिक पापको नतिजा हो भन्ने महसुस गरेपछि पश्चात्तापको लागि उनी परमेश्वरकहाँ फर्किन् ।

ख्रिस्टाब्द १९६२ मा जन्मेकी बटरफिल्ड लेखिका, वक्तासाथै विश्वविद्यालयका प्राध्यापक हुन् । ५ ओटा पुस्तकका लेखिका उनले २००१ मा पास्टर केन्टसित बिहे गरिन् । ओहियो स्टेट युनिभर्सिटीबाट अङ्ग्रेजी साहित्यमा विद्यावारिधि गरेकी उनी एक भक्त ख्रीष्टियान हुन् ।

Facebook Comments

Powered by Youth Circle