ख्रीष्टियानहरूलाई घृणा गर्ने हिन्दु गुरु ख्रीष्टियान गुरुमा परिणत

रबीले ख्रीष्टियानहरूलाई घृणा गर्थे र आफू कहिल्यै ख्रीष्टियान नबन्ने प्रतिज्ञा गरेका थिए, “म कहिल्यै ख्रीष्टियान बन्ने छैनँ । मेरो मृत्युशैय्यामा पनि बन्दिनँ । म हिन्दु भएर जन्मेँ र हिन्दै भएरै मर्ने छु ।” यो Death of a Guru: A Remarkable True Story of one Man’s Search for Truth नामक पुस्तकबाट साभार गरिएको अंश हो । यो रबी महाराजको आत्मकथा हो जसमा तिनी कसरी हिन्दु गुरुबाट ख्रीष्टियान गुरु बने भनी वर्णन गरिएको छ । ख्रीष्टियान भएपछि सत्यताको खोजीबारे तिनले आफ्नो कथालाई गुरुको मृत्यु नामक पुस्तकमा प्रकाशित गरे ।

ख्रिस्टाब्द १९७७ मा यस पुस्तकलाई पहिलो पटक छापिएको थियो । मैले भने १९८४ को संस्करण पढेँ । २१२ पृष्ठको यस कृतिलाई पढेर सक्न मलाई १० दिन (मार्च १८-२७) मा १० घण्टा लाग्यो । परिचित लेखक देव हन्ट यस रचनाका सहलेखक हुन् । यो पुस्तक पठन यात्रामा यो मेरो ११० औँ कृति हो । ६० ओटाभन्दा बढी भाषामा अनूदित तिनको यस कृतिलाई पढेर हजारौँ मानिसले येशू ख्रीष्टमा नयाँ जीवनको अनुभूति गरेका छन् ।

रबी महाराजकी आमाले बिहे गर्दा उनी केवल पन्ध्र वर्षकी थिइन् । उनी गर्भवती हुँदा उनका पति मौन ध्यानको दुनियाँमा प्रवेश गरे जसमा उनी कसैसित बोल्दैनथ्ये । आमा नै रबीको प्रथम शिक्षिका बनिन् । उनले छोरोलाई हिन्दु धर्मका देवी-देवताहरूमा समर्पित हुन सिकाइन् ।

रबी ब्राह्मण थिए । बुबाको नमुनालाई पछ्याउँदै तिनले पाँच वर्षको बाल्यावस्थादेखि नै दैनिक ध्यान गर्न थाले । छोरोको समर्पणता देखेर आमा निकै खुसी थिइन् र उनी भन्ने गर्थिन्, “तिमी एक दिन महान् योगी बन्ने छौ ।” १० वर्षकै बाल्यावस्थामा बुबा गुमाएका रबी धार्मिक गतिविधिमा निकै अनुशासित थिए । ११ वर्षमा आइपुग्दा नै मानिसहरूले तिनलाई ढोग्नुका अतिरिक्त भेटीसाथै अन्य सामानहरू चढाउने गर्थे ।

हिन्दू विश्वासअनुसार रबीले विविध जनावरहरूलाई भगवान्‌को रूपमा पुज्थे । तिनी लेख्छन्, “मैले बाँदर र हात्तीलाई भगवान्‌को रूपमा पुज्थेँ अनि त्योभन्दा पनि बेसी गाईलाई भगवान्‌को रूपमा पुज्थेँ । मेरो लागि ईश्वर सबै थोक हुनुहुन्थ्यो र सबै थोक ईश्वर हुनुहुन्थ्यो ।”

एक दिन रबीको नातेदारले तिनको घरमा बाइबलको नयाँ करार लिएर आयो । हिन्दु धर्मशास्त्रसँगै हिन्दु समुदायको कट्टर ब्राह्मण परिवारमा हुर्केका रबीले नयाँ करारको पठनसाथै अन्य मानिसहरूको साक्षीबाट येशूको दाबीबारे सिके, “बाटो, सत्य र जीवन म नै हुँ । मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन” (यूहन्ना १४:६) ।

रबीले घुँडा टेके र आफ्ना सबै पाप-क्षमाको निम्ति येशू ख्रीष्टलाई बिन्ती गरी उहाँलाई धन्यवाद दिए, “हे प्रभु येशू, … मेरो पापको निम्ति मर्नुभएको लागि र मेरो ह्रदयमा आउनुभई मलाई क्षमा दिनुभएको लागि तपाईंलाई धन्यवाद छ । म नयाँ र परिवर्तित व्यक्ति बन्न चाहन्छु ।” तिनले केही मिनेट प्रार्थना चढाए र येशू लाखौँ-करोडौँ देवी-देवतामध्ये एक हुनुहुन्थेन भनी जाने । उहाँ वास्तवमा तिनले खोजी गरिरहेका परमेश्वर हुनुहुन्थ्यो । यसरी ब्रह्माको खोजी गर्दै हिँडेका रबीले अन्तत: येशूलाई पाए । पुरानो रबी महाराज ख्रीष्टमा मरे र त्यस चिहानबाट नयाँ रबीको उदय भयो ।

प्रभु येशू रबीको जीवनमा आउनुभयो र तिनको दृष्टिकोणमा आमूल परिवर्तन ल्याइदिनुभयो । तिनको परिवारमा झगडा र तिक्तताको साटो आनन्द र शान्तिले बास गर्न थाले । येशूले ल्याउनुभएको रूपान्तरणलाई दैनिक महसुस गर्न सकिन्थ्यो । वर्षौंसम्म आफन्तप्रति भएको तिनको वैमनश्यता पनि पानीको बाफझैँ बिलय भएर गयो ।

रबी ख्रीष्टको एक प्रसिद्ध सुसमाचार प्रचारक कहलाइए । ८ अगस्त १९४७ मा भारतमा जन्मेका रबी महाराज सुसमाचार प्रचारकसाथै इस्टवेस्ट गस्पल मिनिस्ट्रजका संस्थापक हुन् । ड्रग्सको कुलतमा फसेका मानिसहरूलाई छुटकारा दिने काममा पनि तिनले आफ्नो समय खर्चेका छन् । सर्वश्रेष्ठ प्रचारक बिल्ली ग्राहमसँगै काम गरेका रबीले हजारौँ मण्डली, कलेजसाथै सभागृहमा प्रचार गरिसकेका छन् । ख्रीष्टको सुसमाचारको सन्देश लिएर तिनी १०० ओटाभन्दा बेसी मुलुक पुगिसकेका छन् ।

Facebook Comments

Powered by Youth Circle