नोकरको चङ्गाइको निम्ति बिन्ती गर्न को गए— कप्तान वा धर्म-गुरुहरू ?

कप्तानको नोकरको चङ्गाइको निम्ति येशूलाई बिन्ति गर्न को गए— कप्तान आफै (मत्ती ८:५) वा यहूदी धर्म-गुरुहरू (लूका ७:३) ? एक पटक येशू कफर्नहुममा प्रवेश गर्नुहुँदा उहाँलाई एक जना कप्तानको नोकरको चङ्गाइको लागि बिन्ति गरियो । यो कथालाई मत्ती (८:५-१३) र लूका (७:१-१०) दुई जना सुसमाचारीय लेखकले अभिलिखित गरेका छन् । मत्तीको विवरणअनुसार कप्तानको नोकरको चङ्गाइको लागि तिनी आफै नै येशूकहाँ गएको जस्तो देखिन्छ, “येशू कफर्नहुममा पस्नुहुँदा एक जना कप्तान उहाँकहाँ आएर बिन्ती गर्न लागे । तिनले भने, ‘हे प्रभु, मेरो नोकर पक्षाघातले सार्‍है दुःख पाएर घरमा ओछ्यान परेको छ'” (मत्ती ८:५-६) । तर लूकाको विवरणअनुसार कप्तानले यहूदी धर्म-गुरुहरूलाई बिन्ती गर्न पठाए, “जब येशूको बारेमा तिनले सुने, तब तिनको कमारालाई निको पारिदिनोस् भनी तिनले यहूदीहरूका धर्म-गुरुहरूलाई बिन्ती गर्न पठाए” (लूका ७:३) । के सन्देहवादीहरूले भनेजस्तै यी दुईवटा विवरणमा अन्तर्विरोध छ त ?

यस्तो विविधतालाई त्रुटि भनी निष्कर्ष निकाल्नेहरू बाइबलीय लेखकहरूको लेख्ने शैलीलाई ठम्याउन नसकेर भुल गर्न पुग्छन् । वास्तविक काम अरूले नै गरे तापनि त्यसको श्रेय भने अधिकारमा हुनेलाई दिइएका उदाहरणहरू बाइबलमा मनग्गे छन् । उदाहरणको लागि, यूहन्नाले लेखेका छन्, “तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए” (१९:१) । यसको अर्थ यही हो कि हाकिम पिलातसले येशूलाई कोर्रा लगाउने आज्ञा दिए । त्यसै गरी, “यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ” (यूहन्ना ४:१) भन्दा यसको अर्थ उहाँका चेलाहरूले बप्तिस्मा दिँदै थिए भन्ने हुन्छ जुन कुरोलाई यूहन्नाले पछिल्लो पदमा प्रस्ट पारेका छन्, “वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे” (यूहन्ना ४:२) ।

व्यक्तिको पक्षमा मानिसहरूलाई बोल्न पठाइएका नमुनाहरू बाइबलमा हामी थुप्रै पाउँछौँ । आज पनि यस्तो अभ्यास कायमै छ । नेपालको अर्थमन्त्रीले कुनै सम्झौतामा हस्ताक्षर गर्दा त्यो प्रधानमन्त्रीले गरे बराबर नै हुन्छ यद्यपि प्रधानमन्त्री अनुपस्थित हुन सक्छ । कप्तानले तिनको नोकरको चङ्गाइको लागि अरूलाई येशूकहाँ बिन्ती गर्न पठाउँदा तिनी गए बराबर नै थियो । यसरी मत्ती र लूकाको विवरणमा हामी कुनै भुल देख्दैनौँ ।

Facebook Comments

Powered by Youth Circle