के येशू क्रूसमा बेहोस मात्र हुनुभएको थियो ?

भारतका राष्ट्रिय हिन्दु सङ्घका अगुवा के. एस. सुदर्सनले एउटा भाषणमा येशू कहिल्यै क्रूसमा मारिनुभएन भनी बताए । तिनका अनुसार, “उहाँलाई केवल चोट लागेको थियो र उपचारपछि उहाँ भारत फर्कनुभयो जहाँ उहाँको वास्तवमा मृत्यु भएको थियो ।”[i] इस्लाम धर्मको धर्मशास्त्र कुरआनअनुसार येशू क्रूसमा मारिनुभएन बरु उहाँको सट्टामा अरू कसैलाई क्रूसमा झुन्ड्याइयो; येशू त नमरिकनै स्वर्ग लगिनुभयो ।[ii]

येशू ख्रीष्टको मृत्यु र पुनरुत्थान ख्रिस्टियमतको कुनेढुङ्गो हो । येशू नै क्रूसमा मारिनुभएको थिएन भने मुक्तिबारे ख्रीष्टियान शिक्षाको कुनै औचित्य हुँदैन । ख्रिस्टियमतको जग येशूको पुनरुत्थान भएकोले र पुनरुत्थान उहाँको मृत्युसित प्रत्यक्ष रूपमा जोडिएकोले उहाँको मृत्युविना ख्रिस्टियमत गर्ल्यामगुर्लुम ढल्छ ।

येशूको पुनरुत्थानलाई प्राकृतिक घटनाको रूपमा व्याख्या गर्न विभिन्न सिद्धान्तहरू अगाडि सारिएका छन् जसमध्ये एउटालाई मूर्छाको सिद्धान्त भनिन्छ । येशू वास्तवमा क्रूसमा मर्नुभएको थिएन तर बेहोस मात्र हुनुभएको थियो भन्ने सिद्धान्तलाई मुर्छाको सिद्धान्त भनिन्छ । उहाँलाई योसेफको चिहानमा राखिँदा उहाँ अझै जीवितै हुनुहुन्थ्यो र केही घण्टा बितेपछि चिहानको चिसो वातावरणमा उहाँको होस खुल्यो अनि उहाँ त्यहाँबाट प्रस्थान गर्नुभयो भनी यस परिकल्पनाले बताउँछ । येशूको शारीरिक पुनरुत्थानलाई पाखा लगाउन दुष्प्रयास गर्ने यस सिद्धान्तलाई ख्रिस्टाब्द १७८० मा कार्ल फ्रेडरिकले अगाडि सारेका थिए ।[iii] तर तलका ५ ओटा तर्कले यस परिकल्पनाको खण्डन गर्छन् ।

क. येशू रोमी क्रुसारोहणबाट बाँच्न सक्नुहुन्नथ्यो 

रोमी पद्धति यति होसियार थियो कि क्रुसारोहणबाट येशू बाँच्न सक्ने सम्भावनालाई त्यसले नामेट पार्थ्यो । पेसेवार जल्लादहरूले येशूलाई कोर्रा लगाएका थिए; उहाँलाई निर्ममतापूर्वक पिटेका थिए । उहाँका हात र खुट्टामा ६/६ इन्च लामा काँटीहरू ठोकी उहाँलाई क्रूसमा झुण्ड्याइएको थियो । उहाँको शिरमा काँडाको मुकुट लगाइएको थियो । रोमी कानुन यति कडा थियो कि मृत्युदण्ड पाएको अपराधी बाँचेको खण्डमा सिपाहीलाई नै मृत्युदण्ड दिइन्थ्यो ।

ख. येशू मर्नुभएको थियो भनी शत्रुहरूसाथै मित्रहरूले निष्कर्ष निकाले 

येशू शुक्रबार नै मरिसक्नुभएको थियो भन्ने तथ्यमा कसैले शङ्का गरेन । प्रत्यक्षदर्शी यूहन्नाले गवाही दिएका छन् कि एक जना सिपाहीले येशूको कोखामा घोच्दा रगत र पानी निस्क्यो (यूहन्ना १९:३४) । यसले येशूको फोक्सोले काम गर्न छाडेकोले श्वास अवरोधबाट उहाँको मृत्यु भइसकेको थियो भनी देखाउँछ । क्रूसमा टाँगिएको व्यक्तिलाई चाँडै मृत्युको मुखमा पुर्‍याउन खुट्टा भाँच्ने गरिन्थ्यो । तर येशूको मृत्यु भइसकेकोले सिपाहीहरूले उहाँको खुट्टा भाँचेनन् (यूहन्ना १९:३३) । येशूको मृत्यु भएको पक्का थाहा भएपछि मात्रै पिलातसले उहाँको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए (मर्कूस १५:४५) ।

ग. चेलाहरूले वास्तवमै पुनरुत्थान हुनुभएका येशूलाई देखे

यदि येशू ख्रीष्ट केवल बेहासीपश्चात् चिहानबाट आउनुभएको थियो भने उहाँमा शारीरिक कमजोरीहरू हुनैपर्थ्यो । तर पुनरुत्थानपश्चात् उहाँका विभिन्न प्रकटीकरणका विवरणहरूमा यसको कुनै सङ्केत पाईंदैन । पुनरुत्थानपश्चात् येशूका प्रकटीकरणहरूलाई चेलाहरूले वास्तविक पुनरुत्थानको रूपमा बुझेका थिए । येशू बेहोस भएर चिहानबाट फर्कनुभएको थियो भनी तिनीहरूले कल्पनासमेत गरेका थिएनन् । चेलाहरूले रगताम्मे, शरीरभरि चोटैचोट लागेका, औषधीको खाँचोमा परेका येशूलाई देखेनन् । त्यस्तो दृश्यले तिनीहरूलाई कहिल्यै बदल्दैनथ्यो । तिनीहरूले मृत्युमाथि विजय हासिल गर्नुभएका येशूलाई देखे जसले तिनीहरूलाई सदाको निम्ति परिवर्तन गरिदिनुभयो ।

घ. येशूको चिहान रुँग्न पहरादारहरूको एउटा दल खटाइएको थियो 

येशूलाई जुन चिहानमा राखिएको थियो त्यसको मुखमा एउटा ठुलो ढुङ्गो राखिएको थियो जसमा छाप लगाइएको थियो । पहरादारहरू चिहानको सुरक्षाको लागि खटिएका थिए । मर्नै लागेको मान्छेले कसरी चिहानको विशाल ढुङ्गोलाई हटाउन सक्छ ? कसरी येशू ती पहरादारहरूबाट उम्केर आउन सक्नुहुन्थ्यो ? के येशूको मृत शरीर कुनै पनि तरिकाले त्यहाँबाट गायब नहोस् भनेर पहरादारहरू सजग थिएनन् र ?

ङ. थुप्रै गैरख्रिस्टियान लेखकहरूले क्रुसारोहणबाट येशूको मृत्यु भएको साक्षी दिएका छन्  

येशूको क्रुसारोहणको निम्ति हामीसँग चारवटा सुसमाचारीय स्रोतका अतिरिक्त थुप्रै गैरख्रिस्टियान स्रोतहरू पनि छन् । उदाहरणको लागि, रोमी इतिहासकार टासिटसले बताए कि येशूले “तिबेरिअसको शासनकालमा चरम दण्ड भोग्नुभयो ।”[iv] यहूदी इतिहासकार योसिफसले अभिलिखित गरेका छन् कि पिलातसले “उहाँलाई क्रुसारोहणको निम्ति सुम्पिदिनुभयो ।”[v]

येशूको पुनरुत्थानसित सम्बन्धित सबै विवरणलाई एकत्रित गरी तिनको विश्लेषण गर्दा मुर्छाको सिद्धान्त जावच पडतालमा खडा हुन सक्दैन । यो तर्कसङ्गत व्याख्या हुन सक्दैन । येशू क्रूसबाट उम्कन सक्नुहुन्थेन । इतिहासको सत्यता यही हो कि येशू वास्तवमै मर्नुभएको थियो ।

 

सन्दर्भ स्रोतहरू

[i] Quoted by Lee Strobel, The Case for the Real Jesus, pp.102-103.

[ii] नेपाली भाषामा अनुवादति कुरआन मजीद (काठमाडौंः इस्लामी संघ नेपाल, बि. सं. २०६५), पृष्ठहरू १६२–१६३

[iii] https://en.wikipedia.org/wiki/Swoon_hypothesis#18th_and_19th_centuries Accessed on 28 March 2021

[iv] Tacitus, Annals 15.44.

[v] Josepus, Antiquiteis 18.63-64.

Facebook Comments

Powered by Youth Circle