नेपाल बाइबल सोसाइटीद्वारा प्रकाशित पवित्र बाइबलको पहिलो पुस्तकको पहिलो अध्यायको पहिलो पदमा लेखिएको छः “आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) । सृष्टिसम्बन्धी यस कथनसहित बाइबलीय कथाको आरम्भ हुन्छ । बाइबलको यस पहिलो पदमा अभिलिखित केवल ७ ओटा शब्दबाट थुप्रै सत्यता बाहिर आउँछन् । यस पदबारे तपाईंले ५ ओटा कुरा जान्नु आवश्यक छ जुन यस प्रकार छन्ः
१. यो विश्व अनन्त छैन
यो पदअनुसार यो सम्पूर्ण विश्व एउटा निश्चित बिन्दुमा आरम्भ भयो । विश्व (अङ्ग्रेजीमा युनिभर्स) लाई व्यक्त गर्न यहाँ ‘आकाश र पृथ्वी’ भन्ने अभिव्यक्ति प्रयोग गरिएको छ । यसको सृष्टि गरियो । विगतमा विश्व अनन्त छ भनी विश्वास गरिएको भए तापनि बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले यो अनन्त छैन भनी पुष्टि गरेका छन् । महाविस्फोटमा यसको आरम्भ भएको थियो भनी अधिकांश वैज्ञानिकहरू सहमत छन् । विश्व अनन्त नभई यसको थालनी भएको थियो भन्ने कथनमा बाइबलको यो पहिलो पद र बिसौँ शताब्दीका वैज्ञानिक खोजहरू मेल खान्छन् ।
२. यो आफै सृष्टि भएको होइन
अस्तित्वविहीनले कुनै पनि वस्तुलाई अस्तित्वमा ल्याउन सक्दैन । शून्यताबाट कहिल्यै पनि स्वतः कुनै पनि वस्तु अस्तित्वमा आएको हामीलाई थाहा छैन र आउँदैन । सारा वैज्ञानिक नियमहरू महाविस्फोटमा मात्र अस्तित्वमा आएकाले वैज्ञानिक नियमहरूबाट यो विश्वको उदय हुन सक्ने सम्भावना छैन । संयोगले कुनै पनि थोकलाई अस्तित्वमा ल्याउन सक्दैन । संयोगसँग सृजना गर्ने वा सोच्ने क्षमता हुँदैन । यस पदमा व्यक्त भाषामा तपाईं कारक देख्नुहुन्छ जसलाई परमेश्वर भनिएको छ ।
३. बुद्धिमान् रचनाकारले सारा विश्वलाई अस्तित्वमा ल्याउनुभयो
एकातिर यो विश्व अनन्त छैन र अर्कोतिर यो आफै उत्पत्ति भएको हुन सक्दैन भने यसको अस्तित्वको पछाडि एक जना रचनाकार हुनैपर्छ जसलाई परमेश्वर भनिएको छ ।
४. सारा विश्व शून्यताबाट सृष्टि गरियो
परमेश्वरले विश्वलाई पहिले नै अस्तित्वमा भएका थोकहरूबाट सृजना गर्नुभएन । यसको सृजनाअगि कुनै पनि कुरो अस्तित्वमा थिएन, केवल परमेश्वर अस्तित्वमा हुनुहुन्थ्यो । यसको अर्थ हुन्छ कि सारा विश्व शून्यताबाट सृष्टि हुन आयो ।
५. परमेश्वरले विश्वलाई उहाँको आफ्नै अंशबाट सृष्टि गर्नुभएन
उहाँले यसलाई आफ्ना हात वा खुट्टा वा टाउकोबाट सृजनुभएन । यो विश्व फरक हिस्सा हो । यो उहाँको भाग होइन यद्यपि यो उहाँमा आश्रित छ ।
उत्पत्ति १:१ मा व्यक्त वचनलाई आधुनिक वैज्ञानिक खोजहरूको दृष्टिकोणबाट हेर्दा पनि तपाईं यसलाई साँचो देख्नुहुन्छ अर्थात् विश्वको उत्पत्तिबारे बिसौँ शताब्दीका वैज्ञानिक खोजहरूले तपाईं र मलाई बाइबलको पहिलो पदमा डोर्याउँदै छन् ।