येशू पनि हिन्दु रे!

साझा प्रकाशनद्वारा प्रकाशित वेदमा के छ ? नामक पुस्तकमा डा. स्वामी प्रपन्नाचार्यले लेखेका छन्, “विश्वका ८० करोड ईसाईहरूको धर्माचार्यमाथि लेखिएका प्रमाणहरूबाट उनी [येशू] हिन्दु नै सिद्ध भएको देखिन्छ र अवश्य नै भारत आएको पनि उनै प्रमाणहरूले सिद्ध छ । अनि जीवनको महत्त्वपूर्ण १८ वर्षसम्म ईसा कहाँ थिए ? यस प्रश्नको उत्तर ईसाई पादरीहरूसँग नहुनुले पनि यसै कुरालाई सिद्ध गर्छ ।” कतिपय पूर्वीय र पाश्चात्य तथाकथित स्रोतहरूलाई आधार मानी येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभएको थियो भनी पुष्टि गर्ने दुष्प्रयास गरेका छन् प्रपन्नाचार्यले ।

२०६७ सालको ख्रिस्टमसको केही दिनअगि दीर्घराज प्रसाईले नेपाल समाचारपत्रमा क्रिस्चियन धर्मको उद्गम र विकास शीर्षकअन्तर्गत लेखे, “जिसस् क्राइष्टकी आमा हिन्दु थिइन् । जिसस् पनि हिन्दु संस्कारबाट उठेका हुन् ।” प्रसाईले थपेका छन्, “नेपालमा ६ वर्ष बसेर योगसाधना र बौद्ध दर्शन सिकेकाले क्राइष्टलाई निरंकुश अन्धा धर्मभिरु सत्ताले इजरायलमा किला ठोकेर मारिएको अवस्थामा वैदिक योगका प्रतापले मरेको जस्तो अभिनय गरेर गाडिएको चिहानबाट उठेर ईशु भारततिर लागेको र पछि उनको मृत्युपछि कास्मिरमा राखिएको ईशाको समाधि देख्न सकिन्छ । ईशा १३ वर्षदेखि ३० वर्षसम्म धार्मिक शिक्षा लिनका लागि हिन्दु सन्यासीको भेषमा नेपाल र भारतमा आएका र काशी, जगन्नाथ, बिहार, नालन्दा आदिमा वैदिक धर्मशास्त्र पढ्ने गरेका तथ्यहरू छन् ।”

येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा पनि आउनुभएको थियो भनी पुस्तकहरूसमेत लेखिएका छन् । एउटा नेपाली भएको नाताले प्रपन्नाचार्य र प्रसाईले भनेझैँ येशूले हाम्रो भूमिमा पाइला टेक्नुभएको थियो भन्ने कुरा साँचो भइदिए कति गर्वको कुरो हुन्थ्यो! उहाँका पवित्र पाउले हाम्रो भूमिमा पाइला टेकेका कुरा साँचो भइदिए म खुसीले गद्‌गद् हुँदै बुर्लुक्क उफ्रन्थेँ ।

तर अपरिवर्तनशिलता इतिहासको एउटा प्रकृति हो । चाहेर पनि हामी इतिहासलाई बदल्न सक्दैनौँ । कथित स्रोतहरूलाई आधार बनाई मान्छेको आँखामा छारो हाली सत्यतालाई बङ्ग्याउने दुष्चेटा गरिए तापनि इतिहासको सुस्पष्ट यथार्थतालाई कसैले  परिवर्तन गर्न सक्दैन । यो खण्डन गर्नुपर्ने विषयजस्तो मलाई लाग्दैन । तरै पनि कतिपय मानिसहरू यसको सिकार भएकाले येशू हिन्दु हुनुहुन्थेन न त उहाँ भारतमा आउनुभयो भन्नाका लागि यहाँ तीनवटा कारण प्रस्तुत गरिएका छन् ।

१. निकोलस नोटोविचले पत्ता लगाएका इशा (येशू) बाइबलको येशू होइन  

नयाँ करारका चारवटा सुसमाचार येशूको जीवनीबारे बताउने सर्वाधिक भरपर्दा स्रोत हुन् । चारवटा सुसमाचारमध्ये दुईवटा (मत्ती र लूका) ले मात्र उहाँको जन्मको बारेमा चर्चा गर्छन् । उहाँको सेवाकार्यअगि बाह्र वर्षको उमेरमा एक पटक येशू यरूशलेममा देखा पर्नुहुन्छ (लूका २:४२) । बाइबलको विवरणअनुसार उहाँ तिस वर्षको हुनुभएपछि मात्र उहाँले सेवा आरम्भ गर्नुभयो (लूका ३:२३) । उहाँको जन्मदेखि बाह्र वर्षको उमेर र बाह्रदेखि तिस वर्षको उमेरसम्म येशू कहाँ हुनुहुन्थ्यो भन्ने प्रश्न विचारणीय छ । उहाँको बाल्यकाल नासरतमै बितेको थियो होला भनी अनुमान गर्ने हो भने पनि उहाँले १८ वर्ष (१२–३०) कहाँ बिताउनुभयो भनी प्रश्न गरिन्छ । येशूका यी मध्यवर्ती वर्षहरूमा विचित्रका दन्त्यकथाहरू भर्नको लागि आलोचकहरूले कुटिल जुक्तीहरू रचेका छन् ।

निकोलस नोटोविच एक रूसी यात्रु थिए जसले उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा भारत र तिब्बतको यात्रा गरे । तिब्बतमा तिनले सन्त ईशाको बारेमा जानकारीहरू बटुले । तिनै जानकारीहरूलाई समेटी तिनले एउटा पुस्तक लेखे जसको नाम हो, येशू ख्रीष्टको अज्ञात जीवन । नोटोविचको भनाइअनुसार यी सन्त ईशा भारतमा आई विभिन्न हिन्दु गुरुहरूसँग सिक्दै १८ वर्ष बिताए । तिनको विचारमा कश्मिरका यी सन्त ईशा नै बाइबलका येशू हुन् । यही गलत बुझाइको कारणले येशूको अज्ञात जीवनको सम्बन्धमा अनेक षड्यन्त्रमूलक दन्त्यकथाहरू जन्मिन पुगे । बाइबलको विवरणअनुसार येशूले आफ्नो जन्मदेश छाड्नुभएको एउटै पनि सङ्केत पाईंदैन । नोटोविचको कृतिलाई जे. आर्खिबाल्ड डग्लासले अप्रमाणित गरिसकेका छन् ।

२. येशूको शिक्षा र हिन्दु गुरुहरूको शिक्षामा स्पष्टतः बेमेलता पाइन्छ  

साढे तीन वर्षको सेवाकार्यअगि येशू भारतमा आउनुभई हिन्दु गुरुहरूसँग सिक्नुभएको थियो भने उहाँको शिक्षामा हिन्दु गन्ध अवश्य हुनुपर्थ्यो । तर सुसमाचारहरूलाई अध्ययन गर्दा हामी हिन्दु शिक्षाहरू नभई अद्वितीय शिक्षाहरू पाउँछौँ । यसका अतिरिक्त येशूले पुरानो करारबाट प्रचुर मात्रामा उद्धृत गर्नुभयो । यहाँसम्म कि त्यस समयका यहूदी विज्ञहरूलाई पनि उहाँले सुधार्नुभयो । पञ्चग्रन्थमा भएको त्यो विस्तृत ज्ञान येशूले कहाँबाट पाउनुभयो ? उहाँको सिकाउने शैली त्यस समयका घुमन्ते यहूदी शिक्षकहरूको शैलीसँग मेल खान्छ । येशूले कहिल्यै पनि सबै कुरा ईश्वर हुन् भन्ने धारणा अर्थात् सर्वेश्वरवादको बारेमा सिकाउनुभएन् जस्तो हिन्दु गुरुहरूले सिकाउने गर्थे र गर्छन् । उहाँले कहिल्यै हिन्दु वेदबाट उद्धृत गर्नुभएन तर सधैँ यहूदी पुरानो करारबाट । येशू भारतमा आउनुभई हिन्दु गुरुहरूबाट सिक्नुभयो भन्नाका लागि साक्षी यथार्थतः शून्य छ । येशूले हिन्दु गुरुहरूबाट सिके भन्ने विचार पूर्णतः वाहियात छ ।

३. येशू भारतमा आउनुभयो भनी बाइबलले कहीँ पनि अङ्कित गरेको छैन  

चारवटा सुसमाचार येशूको बारेमा बताउने सबैभन्दा भरपर्दा, विश्वसनीय र पूर्ण स्रोतहरू हुन् । येशू ख्रीष्ट प्यालेसटाइनमा रहनुभयो भनी अङ्कित गर्ने खण्डहरू बाइबलमा धेरै छन् । बाह्र वर्षपछिको येशूको जीवनीलाई लूकाले सङ्क्षेपमा ल्याएका छन्, “अनि येशू बुद्धिमा, कदमा र परमेश्वर र मानिसहरूको अनुग्रहमा बढ्दैजानुभयो” (लूका २:५२) । येशू ख्रीष्ट परमेश्वर–मानव हुनुहुन्थ्यो । उहाँ सर्वज्ञानी हुनुभएकोले ईश्वरीय परिप्रेक्ष्यबाट उहाँलाई कहिल्यै बुद्धिमा बढ्न आवश्यक थिएन । तर उहाँ मानिस पनि हुनुभएकाले अन्य यहूदी केटाहरूले जस्तै उहाँले पनि पुरानो करारको धर्मशास्त्रको अध्ययन र पाकाहरूको अर्तीबाट सिक्नुभयो ।

उहाँको समुदायमा येशूलाई सिकर्मी (मर्कूस ६:३) र सिकर्मीको छोरो (मत्ती १३:५५) को रूपमा चिनिन्थ्यो । आफ्ना छोराहरूलाई व्यवसाय सिकाउनु यहूदी बाबुहरूका बिचमा सामान्य चलन थियो । येशू परिपक्व हुँदै जानुभएपछि योसेफले उहाँलाई सिकर्मीको पेसा सिकाएका हुनुपर्छ । येशू नासरतमै हुर्कनुभयो भनी लूकाले यहाँ अझ प्रस्ट रूपमा बताएका छन्, “उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो । उहाँ आफ्नो आदतअनुसार शबाथ–दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खडा हुनुभयो । … सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, ‘यिनी योसेफका छोरा होइनन् र ?’ उहाँले तिनीहरूलाई भन्नुभयो, ‘निःसन्देह, तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार । कफर्नहुममा तिमीले जे जति गर्‍यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्नो शहरमा पनि गर ।’ अनि उहाँले भन्नुभयो, ‘साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन’” (लूका ४:१६, २२–२४) । लूकाले प्रस्टसँग लेखेका छन् कि येशू ख्रीष्ट नासरतमा नै हुर्कनुभयो र नासरत उहाँको आफ्नो सहर थियो । सभाघरका मानिसहरूले येशूलाई राम्ररी चिन्दथे र उहाँ योसेफका छोरा हुनुहुन्थ्यो भनी जान्दथे । येशू नासरतमा हुर्कनुभयो, भारतमा होइन । उहाँको आदत सभाघरहरूमा जाने थियो, मन्दिरहरूमा होइन ।

एउटा प्रश्न अझै बाँकी छ— येशूले १८ वर्षको अवधि पनि प्यालेसटाइनमा नै बिताउनुभएको थियो भने उहाँका जीवनीकारहरूले यस बारेमा किन केही नलेखेका त ? यसका दुई ओटा कारण छन्ः साहित्यिक र ईश्वरशास्त्रीय ।

साहित्यिक कारण भन्नाले प्राचीन संसारमा जीवनी आधारभूत रूपमा यसरी नै लेखिन्थ्यो । जीवनीलाई अहिले हामी जसरी बुझ्दछौँ तिनीहरूले त्यसरी बुझ्दैनथ्ये । जीवनी लेख्दा आज हाम्रो लागि व्यक्तिको जीवनीको हरेक अवधि उत्तिकै महत्त्वपूर्ण हुन्छ । उसको जीवनीलाई हामी क्रमिक रूपमा प्रस्तुत गर्छौं र सकेसम्म उसका भनाइहरूलाई जस्ताको तस्तै राख्ने प्रयास गर्छौं । तर प्राचीन लेखकहरूले कुनै व्यक्तिको जीवनीबाट अनुकरणीय पक्षलाई मात्र अभिलेखको लागि उपयुक्त ठान्दथे । जीवनको हरेक पक्षलाई नभई त्यस्तो पक्ष जसले अरूलाई मदत गर्थ्यो, जुन उदाहरणीय छ, जीवनका त्यस्ता पाटाहरूलाई मात्र लेख्ने गर्थे ।

दोस्रो ईश्वरशास्त्रीय कारण हो । येशू ख्रीष्ट यस संसारमा मानिसहरूका पापको निम्ति मर्न आउनुभयो । उहाँ परमेश्वरका पापरहित पुत्र हुनुहुन्थ्यो । सुसमाचारका लेखकहरू यही तथ्यमा मात्र केन्द्रित रहे ।

निष्कर्षमा, येशू हिन्दु हुनुहुन्थ्यो र उहाँ भारतमा आउनुभयो भन्ने अवधारणा मनगढन्तेसिवाय केही होइन । यसको लागि कुनै साक्षी छैन ।

 

लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।

 

Facebook Comments

Powered by Youth Circle