निष्पाप हुनुभएर पनि येशूले किन बप्तिस्मा लिनुभयो (मत्ती ३:१३-१७) ?

येशूले कहिल्यै पाप गर्नुभएन भन्ने तथ्य काँचझैँ छर्लङ्ग छ । येशूका केही शत्रुहरूले उहाँको विरुद्धमा झुटा दोषहरू अगाडि ल्याए तर उहाँको जाँचको समयमा पिलातसले दिएको निर्णय इतिहासकै निर्णय भएको छ, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ” (लूका २३:४) । क्रूस नजिक भएका कप्तानले यसो भन्दै सहमति जनाए, “निश्चय नै यिनी धार्मिक मानिस थिए” (लूका २३:४७) । येशूसँग क्रूसमा टाँगिएको एक अपराधीले भन्यो, “यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लूका २३:४१) । येशू सबै कुरामा परीक्षित हुनु भए तापनि “पापरहित हुनुहुन्थ्यो” भनी हिब्रूका लेखकले गवाही दिए (४:१५) । येशूमा “कुनै पाप छैन” (१ यूहन्ना ३:५) । तर उहाँले बप्तिस्मा-दिने यूहन्नाबाट पानीको बप्तिस्मा लिनुभयो जसले पश्चात्ताको बप्तिस्मा दिन्थे, “तब येशू गालीलबाट यूहन्‍नाकहाँ तिनीद्वारा बप्‍तिस्‍मा लिन यर्दनमा आउनुभयो” (मत्ती ३:१३) । निष्पाप हुनुभएर पनि येशूलाई किन बप्तिस्मा लिन आवश्यक पर्‍यो त ?

बप्तिस्मा-दिने यूहन्नाद्वारा येशूको बप्तिस्मा उहाँको जीवनमा भएको एउटा महत्त्वपूर्ण घटना थियो । सम्लिलित सुसमाचारहरूका लेखकत्रय मत्ती, मर्कूस र लूका तीनै जनाले यसको वर्णन गरेका छन् (मत्ती ३:१३-१७; मर्कूस १:९-११ र लूका ३:२१-२२) । बप्तिस्मा लिनुहुँदा येशू करिब ३० वर्षको हुनुहुन्थ्यो भनी हामी भन्न सक्छौँ किनकि बप्तिस्मासँगै उहाँको सेवाकार्य आरम्भ भयो (लूका ३:२३) । उहाँले यर्दन नदीमा बप्तिस्मा लिनुभएको थियो जुन ठाउँलाई अहिले अल-माघटस भनेर चिनिन्छ र यसको अर्थ हुन्छ, ‘बप्तिस्मा ।’ विश्व सम्पदा सूचीमा सूचीकृत यो ठाउँ हाल पश्चिम एसियाली मुलुक जोर्डनमा पर्छ ।

यूहन्नाको बप्तिस्माको लागि येशू उपयुक्त व्यक्ति हुनुहुन्थेन किनकि तिनले पश्चात्तापको बप्तिस्मा दिन्थे र येशू निष्पाप हुनुहुन्थ्यो । अरूहरूले यूहन्नाबाट जुन अर्थमा (अर्थात् पश्चात्ताप गरी पाप-क्षमा पाउने) बप्तिस्मा लिए येशूले त्यही अर्थमा बप्तिस्मा लिनुभएन । बप्तिस्मा दिने व्यक्ति उही भए तापनि बप्तिस्मा फरक थियो । उही नदीमा उही पानीको प्रयोग गरिएको भए तापनि त्यसको महत्त्व बेग्लै थियो । यूहन्नाद्वारा येशूको बप्तिस्मा विशेष र अद्वितीय थियो । यूहन्नाले अरूहरूलाई दिएका पश्चात्ताको बप्तिस्मा र आज विश्वासीहरूले लिने पानीको बप्तिस्माभन्दा येशूको बप्तिस्मा भिन्नै थियो ।

येशूले किन बप्तिस्मा लिनुभयो ? बाइबलले विविध कारणहरू दिएको छ । मेरो अध्ययनमा मैले चारवटा कारण फेला पारेको छु ।

१. सबै धार्मिकता पूरा गर्न    

यूहन्नाले येशूलाई बप्तिस्मा नदिन खोज्दा येशूले भन्नुभयो, “‘अहिलेलाई यसै हुन देऊ । किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ ।’ तब यूहन्‍ना राजी भए” (मत्ती ३:१५) । येशूले किन बप्तिस्मा लिनुभयो ? उहाँको आफ्नै भनाइअनुसार ‘सबै धार्मिकता पूरा गर्न’ उहाँले बप्तिस्मा लिनुभयो । तर येशूको भनाइको मतलब के हो ? येशू पुरानो करारको व्यवस्थाको अधीनमा जन्मनुभयो । त्यसैले आठौँ दिनमा उहाँको खतना गरियो र चालिसौँ दिनमा उहाँलाई मन्दिरमा अर्पण गरियो । १२ वर्षको उमेरमा उहाँ व्यवस्थाको पुत्र बन्नुभयो । उहाँ परमेश्वरका पुत्र हुनुभए तापनि पछि उहाँले कर तिर्नुभयो । उहाँ व्यवस्थालाई रद्ध गर्न नभई पूरा गर्न आउनुभएको थियो (मत्ती ५;१७) । व्यवस्थाको अधीनमा भएकाहरूलाई छुटकारा दिन आफ्नो जीवनभरि उहाँले व्यवस्था पूरा गर्नुभयो । पुरानो करारको व्यवस्थाले सिधै बप्तिस्माको माग नगरे तापनि पानीले नुहाएर पुजारीले आफूलाई अलग गर्नुपर्थ्यो (लेवी १६:४) । उसले शुद्देइँको विधिलाई पालन गर्नुपर्थ्यो । येशू पुजारीको सेवामा नभई मसीहको सेवामा प्रवेश गर्दै हुनुहुन्थ्यो । तर व्यवस्था पूरा गर्न उहाँले बप्तिस्मा लिनुभयो । उहाँ परमेश्वरको निम्ति अलग गरिनुभएको थियो र मसीहको सेवाको निम्ति योग्य हुनुहुन्थ्यो भनी बप्तिस्माले अङ्कित गर्‍यो ।

२. सार्वजनिक रूपमा घोषणा गर्न   

यूहन्नाले भने, “मैले उहाँलाई चिनेको थिइनँ, तर जसले मलाई पानीले बप्‍तिस्‍मा दिनू भनी पठाउनुभयो, उहाँले नै मलाई भन्‍नुभयो, ‘जसमाथि तिमी पवित्र आत्‍मालाई ओर्लंदै र बस्‍दैगर्नुभएको देख्‍छौ, पवित्र आत्‍माले बप्‍तिस्‍मा दिनुहुने उहाँ नै हुनुहुन्‍छ ।’ मैले देखेको छु, र गवाही दिएको छु, कि परमेश्‍वरका पुत्र उहाँ नै हुनुहुन्‍छ” (यूहन्ना १:३३-३४) । येशू बप्तिस्मा लिन आउनुहुँदा यूहन्नाले येशूलाई आउनेवाला मसीहको रूपमा चिने तापनि त्यो घोषणा गर्न तिनलाई अनुमति दिइएको थिएन । ढुकुरको रूपमा पवित्र आत्मा ओर्लनुभएपछि मात्र यूहन्नाले सार्वजनिक रूपमा घोषणा गर्न सके । तसर्थ, येशूको बप्तिस्मा उहाँ नै मसीह हुनुहुन्छ भन्ने सार्वजनिक घोषणा थियो ।

३. पापीहरूसँगै चिनिन

आआफ्ना पाप स्वीकार गर्दै पापीहरू बप्तिस्मा लिन यूहन्नाकहाँ आउँदै थिए । तिनीहरूलाई मुक्तिदाताको खाँचो थियो भन्ने विश्वासको बाहिरी चिन्हस्वरूप तिनीहरूले बप्तिस्मा लिँदै थिए । येशू पनि पापीहरूसँगै चिनिन आउनुभयो ताकि त्यस चिनारीद्वारा उहाँ तिनीहरूका सट्टामा मर्न सक्नुभएको होस् । “किनकि हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौं भनेर पाप नचिन्‍नुहुनेलाई परमेश्‍वरले हाम्रा खातिर पाप बनाउनुभयो” (२ कोरिन्थी ५:२१) ।

४. मसीहका कामहरू पूरा गर्न

लूकाले लेखेका छन्, “परमेश्‍वरले नासरतका येशूलाई पवित्र आत्‍मा र शक्तिले अभिषेक गर्नुभयो” (प्रेरित १०:३८) । परमेश्वरले कहिले येशूलाई मसीहका कामहरू पूरा गर्न शक्तिले अभिषेक गर्नुभएको थियो ? उहाँको बप्तिस्माको समयमा । बप्तिस्मासँगै येशू स्वर्गबाट आउनुभएका योग्य राजाको रूपमा उभिनुभयो । “यिनी मेरा प्रिय पुत्र हुन्‌, यिनीसँग म अति प्रसन्‍न छु” भन्ने पिताको वाणी येशू मसीहको रूपमा कामकाज गर्न सक्षम हुनुहुन्छ भन्ने अभिव्यक्ति थियो ।

निष्पाप हुनुभएर पनि येशूले किन बप्तिस्मा लिनुभयो ? सबै धार्मिकता पूरा गर्न, उहाँ नै मसीह हुनुहुन्छ भनी सार्वजनिक रूपमा घोषणा गर्न, उहाँ पापीहरूको सट्टामा मर्नुपर्ने भएकोले पापीहरूसँगै चिनिन र मसीहका कामहरू पूरा गर्न ।

Facebook Comments

Powered by Youth Circle