उपहारस्वरूप प्राप्त बाइबल पढेर नास्तिक मेरीले येशूलाई अङ्गालिन्

परमेश्वर र यस जीवनबारे “मेरा धेरै प्रश्नहरू थिए जसलाई मण्डलीले वास्तवमै जवाफ दिने कोसिस गरिरहेको थिएन”, मेरी जो सार्प आफ्नो आत्मकथा Why I Still Believe: A Former Atheist’s Reckoning with the Bad Reputation Christians Give a Good God मा लेखिन्छन् । “धेरैभन्दा धेरै मण्डली र कलेजहरूले असल तरिकाले तर्क गर्ने सिपहरू सिकाउन्” भनी उनी इच्छा व्यक्त गर्छिन् । यो मेरी कसरी नास्तिकबाट प्रभावशाली रक्षाशास्त्री बनिन् भन्नेबारे लिखित पुस्तक हो । यो उनको आत्मिक यात्राबारे रचित आत्मकथा हो ।

पुस्तक पठन यात्रामा यो मेरो १०७ औँ कृति हो । मेरी जो सार्प यसका रचनाकार हुन् । ७ दिन (फेब्रुअरी १८-२४) मा साढे आठ घण्टा लगानी गरी मैले यो कृतिलाई पढेर सिद्ध्याएँ । २४० पृष्ठको यो कृति ख्रिस्टाब्द २०१९ मा छापिएको थियो ।

मेरी जो सार्प नास्तिक थिइन् । परमेश्वरमाथि उनको रत्तिभर पनि विश्वास थिएन । उनी मण्डलीमा हुर्केकी थिइनन् । उनी त्यस्तो ठाउँमा हुर्किन् जहाँ ख्रीष्टियान प्रभाव घट्दो थियो । त्यसैले उनलाई ख्रीष्टियान विश्वास र बाइबलको बारेमा खासै थाहा थिएन । तर उनी प्राकृतिक सौन्दर्यबाट भने मोहित हुन्थिन् । लाग्थ्यो, उनको दुनियाँ नै त्यही थियो । कला र सङ्गीतमा उनी आकर्षित थिइन् । तर यी कुराहरूले उनको मनमा एउटा कौतुहुलता जगाइदिए— के विश्व अर्थात् युनिभर्समा भौतिक वस्तुभन्दा अर्को कुनै अस्तित्व होला ?

हामी किन यहाँ छौँ ? यी सबै सौन्दर्य र आश्चर्य केका लागि हुन् ? हामी जिउँछौँ र मर्छौं अनि के सबै कुरा सकिन्छन् त ? उनको मनमा यस्ता-यस्ता प्रश्नहरू नाच्न थाले । यी प्रश्नहरूसित जुधिरहँदा एक दिन उनलाई सङ्गीत पढाउने शिक्षकले दीक्षान्तको उपलक्ष्यमा यसो भन्दै उपहारस्वरूप एउटा बाइबल दिए, “कलेजबाट बाहिर जानुभएपछि तपाईंले कठिन प्रश्नहरूको सामना गर्नुपर्ने हुन्छ । तपाईंले यसलाई पल्टाउनुहुने छ भनी म आशा गर्दछु ।” असभ्य हुन नचाहेकीले मेरीले धन्यवाद त व्यक्त गरिन् तर आफ्नो शिक्षकबाट उनले त्यो अपेक्षा गरेकी थिइनन् । शिक्षक ख्रीष्टियान थिए ।

जीवन अगाडि बढ्दै गर्दा मेरीका शिक्षक सही साबित भए । उनले जीवनमा कठिन प्रश्नहरूको सामना गर्नुपर्‍यो: जीवनको अर्थ के हो ? यसको लक्ष्य के हो ? यसको मूल्य के हो ?

परिणामत: मेरीले उपहारस्वरूप पाएकी बाइबल पढ्न सुरु गरिन् । उनलाई ख्रीष्टियान आस्थाको बारेमा केही थाहा रहेनछ भन्ने बोध भयो । उनले वास्तविक ख्रिस्टियमत इतिहास-केन्द्रित पो रहेछ, यो कुनै काल्पनिक कुरो रहेनछ भनेर महसुस गरिन् । यो हिजोको लागि थियो र आजको लागि पनि रहेछ भन्ने उनलाई बोध भयो । उक्त बाइबल पढेपछि परमेश्वर अस्तित्वमा हुनुहुँदोरहेछ भनी उनले विश्वास गरिन् । तर येशूलाई आफ्ना मुक्तिदाताको रूपमा स्वीकार गर्न भने उनी तयार भइनन् ।

आफ्नो अनुसन्धानमा मेरीले बुझ्न थालिन् कि मानव-जाति नै समस्या हो भने त्यसको समाधान मानव-जातिमा पाईंदैन, त्यसको समाधान मान्छेभन्दा पर हुनुपर्छ । ख्रीष्टियान दृष्टिकोणले त्यही नै सिकाउँछ अर्थात् मानिस पापी छ र यसको समाधान मान्छे आफैले गर्न सक्दैन तर येशू पापको समाधानकर्ता हुनुहुन्छ । उनलाई यस दृष्टिकोणको अर्थ लाग्यो । अन्तत: २० वर्षको उमेरमा मेरीले येशूलाई आफ्ना व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरिन् ।

हाल मेरी आफ्नो ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने स्त्रीको रूपमा परिचित छिन् । उनी रक्षाशास्त्री (अर्थात् अपोलोजिस्ट हुन्) । उनी विश्वविद्यालयमा रक्षाशास्त्रका सहायक प्राध्यापकसाथै एउटा रक्षाशास्त्रसम्बन्धी सेवाकार्यको संस्थापक अध्यक्ष हुन् । उनी रक्षाशास्त्रको लागि अन्तर्राष्ट्रिय वक्ता हुन् ।

Facebook Comments

Powered by Youth Circle