याकूबले कोसित कुश्ती लडे— स्वर्गदूत वा परमेश्वर (उत्पत्ति ३२:२२-३२) ?

याकूबको कुश्तीबारे उत्पत्ति ३२:२२-३२ मा वर्णन गरिएको छ । तपाईं यस कुश्तीबारे परिचित हुनुहुन्न भने विवरण यस प्रकार छ:

त्‍यस रात याकूब उठे, र तिनका दुई पत्‍नी, दुई कमारी, र एघारै छोराहरूलाई लिएर यब्‍बोक नदी तरे । तिनले तिनीहरूलाई खोलाको पारि पठाएपछि, त्‍यसै गरी तिनले आफूसित भएका सबै कुरा पनि पठाए । यसरी याकूबचाहिँ एकलै छोड़िए । अनि एक जना व्‍यक्ति उज्‍यालो नहोउञ्‍जेल तिनीसित कुश्‍ती लड़े । यी व्‍यक्तिले याकूबलाई जित्‍न नसकेका देखेर याकूबका कम्‍मरको खोक्रो भाग छोए, र उनीसित कुश्‍ती लड्‌दालड्‌दै याकूबको कम्‍मरको गेड़ी फुस्‍क्‍यो । तब ती व्‍यक्तिले भने, “उज्‍यालो हुन लाग्‍यो । मलाई जान देऊ ।” तर याकूबले भने, “मलाई आशीर्वाद नदिउञ्‍जेल म तपाईंलाई जान दिन्‍नँ ।” उनले तिनलाई भने, “तिम्रो नाउँ के हो ?” तिनले भने, “याकूब ।” त्‍यस व्‍यक्तिले भने, “अब उप्रान्‍त तिम्रो नाउँ याकूब होइन तर इस्राएल हुनेछ, किनभने तिमीले परमेश्‍वर र मानिसहरूसँग लड़न्‍त गर्‍यौ, अनि विजयी भयौ ।” तब याकूबले उनलाई सोधे, “बिन्‍ती छ, मलाई भन्‍नुहोस्, तपाईंको नाउँ के हो ?” तर उनले उत्तर दिए, “मेरो नाउँ तिमी किन सोध्‍छौ ?” अनि उनले तिनलाई आशीर्वाद दिए । यसकारण याकूबले त्‍यस ठाउँको नाउँ पनीएल राखे, किनकि “परमेश्‍वरको सम्‍मुखै परे तापनि मेरो ज्‍यान बाँच्‍यो” भनी तिनले भने । तिनको कम्‍मरले गर्दा तिनी खोच्‍याई-खोच्‍याई हिँड़ेर पनीएल नाघिसक्‍दा सूर्योदय भयो । तिनका कम्‍मरको नसो छोइएको हुनाले आजसम्‍म इस्राएलीहरू कम्‍मरको नसो खाँदैनन्‌ ।

बाइबलमा याकूब एक महत्त्वपूर्ण पात्र हुन् जो इसहाकका छोरा र अब्राहामका नाति थिए । रिबेकाबाट जन्मेका जुम्ल्याहा दाजुभाइमध्ये याकूब कान्छा थिए भने एसाव जेठा ।

आफ्ना मामा लाबानको घरमा धेरै वर्ष बिताएपछि याकूब आफ्नो सपरिवार लिएर मातृभूमि इस्राएल फर्कन चाहे । आफ्ना दाजु एसावको आशिष्‌लाई हडपेका वर्षौंपश्चात् याकूब अझै चिन्तित थिए । तिनको मनमा कौतुहुलता थियो: के मेरा दाजु एसावले मलाई अझै घृणा गर्छन् त ? के तिनी मसँग बदला लिने दाउमा छन् ?

याकूबले एसावकहाँ सन्देशवाहकहरू पठाए जसबाट याकूबले जानकारी पाए कि एसावले वास्तवमै तिनको हानि गर्न चाहेका रहेछन् । तसर्थ याकूबले तयारीका साथ दाजुलाई भेट गर्न चाहे । तर तिनले एसावलाई भेट गर्नुअगि एउटा रहस्यपूर्ण घटना घटन पुग्यो अर्थात् कुनै एक जना व्यक्तिसित तिनी कुश्तीमा फसे । प्रश्न यो हो कि याकूबसित कुश्ती लड्ने व्यक्ति को थिए ?

यस प्रश्नबारे बाइबलका प्रतिष्ठित विद्वान्‌हरूले आआफ्ना राय दिएका छन् । सुधारवादी मार्टिन लुथरले यसलाई पुरानो करारकै निकै अस्पष्ट खण्ड ठाने । ईश्वरशास्त्री जोन काल्भिनले यसलाई ‘केवल दर्शन’ भने । कतिले यो पूरै घटनालाई सपनाको रूपमा उल्लेख गरी समस्याको समाधना गर्ने कोसिस गरेका छन् भने कतिले आलङ्कारिक ढङ्गमा बुझ्ने प्रयास गरेका छन् ।

याकूबसित कुश्ती लड्ने ती व्यक्ति वास्तवमै को थिए भन्ने प्रश्नको जवाफ होशे १२:३-५ मा पाइन्छ, “गर्भमा तिनले आफ्‍नो दाजुको कुर्कुच्‍चो पक्रे, र जवान भएपछि तिनले परमेश्‍वरसँग लड़न्‍त गरे । तिनले स्‍वर्गदूतसित लड़न्‍त गरे, र उनलाई जिते । तिनी रोए र उनीसित निगाहको निम्‍ति बिन्‍ती गरे । तिनले बेथेलमा उहाँलाई भेटे, र उहाँसँग तिनले बातचीत गरे— सर्वशक्तिमान्‌ परमप्रभु परमेश्‍वरसँगै । उहाँको नाउँ प्रसिद्ध छ ।”

याकूबले “परमेश्‍वरसँग लड़न्‍त गरे” भनी पद ३ मा प्रस्टसित बताइएको छ । तर पद ४ मा “तिनले स्‍वर्गदूतसित लड़न्‍त गरे” भनेर पनि व्यक्त गरिएकोले याकूबका प्रतिस्पर्धीको पहिचानबारे अन्योल हुनु अस्वाभाविक होइन । तिनले परमेश्वरसँग लडन्त गरे कि स्वर्गदूतसँग ?

यसको समाधानको लागि हामीले थियोफेनी (अर्थात् परमेश्वर-दर्शन) भन्ने अवधारणालाई बुझ्नुपर्ने हुन्छ । त्रिएकताका दोस्रो व्यक्तित्व अर्थात् येशूको देहधारणअगिको प्रकटीकरणलाई परमेश्वर-दर्शन भनिन्छ । बेथलेहेममा जन्मनुअगि येशू स्वर्गदूतको रूपमा पुरानो करारमा घरीघरी प्रकट हुनुभयो । उदाहरणको लागि, परमप्रभुका दूत हागारकहाँ देखा परे (उत्पत्ति १६:७) र ती दूत परमप्रभु नै थिए भनी उत्पत्ति १६:१३ मा बताइएको छ । मोशाको जीवनमा अर्को उदाहरण पाइन्छ । जलिरहेको पोथ्राको ज्वालामा परमप्रभुका दूत मोशाकहाँ प्रकट भए (प्रस्थान ३:२) र ती दूत परमेश्वर थिए भनी प्रस्थान ३:४ मा बताइएको छ । यसरी पुरानो करारमा स्वर्गदूतको रूपमा प्रकट हुनुहुने व्यक्तित्व मानव चोला धारण गर्नुअगि येशूको प्रकटीकरण थियो । यसको अर्थ स्वर्गदूतका सबै प्रकटीकरण देहधारणअगि येशूका प्रकटीकरण हुन् भन्न खोजिएको होइन । कुन-कुन प्रकटीकरण देहधारणपूर्वका हुन् या होइनन् भन्नाका लागि सन्दर्भलाई हेरिनुपर्छ ।

“तिमीले परमेश्वर … सँग लडन्त गर्‍यौँ” भन्ने ती व्यक्तिको भनाइ (उत्पत्ति ३२:२८), “परमेश्वरको सम्मुखै परे तापनि मेरो ज्यान बाँच्यो” भन्ने याकूबको अभिव्यक्ति (उत्पत्ति ३२:३०) र याकूबले “परमेश्‍वरसँग लड़न्‍त गरे” भन्ने होशेको विवरणबाट हामी निष्कर्ष निकाल्न सक्छौँ कि याकूबले जोसँग कुश्ती लडे ती व्यक्ति केवल स्वर्गदूत नभई परमेश्वर हुनुहुन्थ्यो । उहाँ त्रिएकताको दोस्रो व्यक्तित्व अर्थात् येशू हुनुहुन्थ्यो जो मानवीय चोला धारण गर्नुअगि पुरानो करारमा पटक-पटक प्रकट हुनुभयो ।

Facebook Comments

Powered by Youth Circle