अनैतिकताको सागरमा डुबेका अगस्टिनको जीवनमा बाइबलद्वारा नाटकीय परिवर्तन आयो

मैले हालै पढेर सकेको कृतिको नाउँ Confessions हो । यसमा १३ ओटा पुस्तक (वा भाग) छन् । सन्त अगस्टिनद्वारा लिखित यो कृति तिनको आत्मकथा हो । चौथो शताब्दीको अन्त्यतिर रचित यस कृतिलाई सुरुमा ल्याटिन भाषामा लेखिएको थियो । तिनले आफ्नो युवावस्थालाई कसरी पापको सागरमा डुबाए र कसरी येशूमा नयाँ जन्म पाए भनी कृतिमा वर्णन गरिएको छ । यसलाई अगस्टिनको सर्वाधिक महत्त्वपूर्ण कृतिहरूमध्ये गनिन्छ । मध्ययुगका लेखकहरूका लागि यो प्रभावशाली रचना साबित भयो ।

पुस्तक पठन यात्रामा यो मेरो १०६ औँ पुस्तक हो । ३५३ पृष्ठको यस कृतिलाई पढेर सिद्ध्याउन मलाई ११ दिन (फेब्रुअरी ७-१७) मा १७ घण्टा लाग्यो । मैले ख्रिस्टाब्द २००८ मा प्रकाशित संस्करण पढेँ ।

आफ्नो युवा अवस्थालाई अनैतिकताको खाडलमा हिँडाएका अगस्टिनको परिवर्तन नाटकीय पाराले भएको छ । ख्रिस्टाब्द ३८६ को ग्रीष्म ऋतुमा इटालीको मिलान सहरको बगैँचामा बसिरहँदा तिनले एउटा बच्चाको आवाज सुने । त्यो आवाजले भन्दै थियो, “उठाऊ र पढ । उठाऊ र पढ ।” गीतको भाकामा आएको बच्चाको यस आवाजलाई सुरुमा तिनले बेवास्ता गरे तापनि यो परमेश्वरबाट आएको आज्ञा थियो भनी ठानी तिनले बाइबल खोले र तिनका आँखा यी वचनहरूमा परे, “दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं । मोजमज्जामा, मतवालीपनामा, व्यभिचारमा, भ्रष्टचारमा, झगडामा र डाहमा होइन । तर प्रभु येशू ख्रीष्टलाई धारण गर र पाप-स्वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्यान नदेओ ।” यी वचनहरू रोमी १३:१३-१४ का हुन् ।

अगस्टिनले ३२ वर्षको उमेरमा येशूलाई आफ्ना प्रभु र मुक्तिदाता भनी स्वीकार गरे । ३८७ मा मिलानका बिशप एम्ब्रोजले अगस्टिन र उनका छोरा अदेदातसलाई बप्तिस्मा दिए ।

अगस्टिन ईश्वरशास्त्री, दार्शनिक, रक्षाशास्त्रीसाथै लेखक थिए । पाश्चात्य ख्रिस्टियमत र पाश्चात्य दर्शनशास्त्रको विकासमा तिनका रचनाहरूले उल्लेखनीय भूमिका निर्वाह गरे । १०० ओटाभन्दा बेसी कृति लेखेका अगस्टिनका परमेश्वरको सहरस्वीकारोक्ति (Confessions) सर्वाधिक महत्त्वपूर्ण रचनाहरू हुन् ।

१३ नोभेम्बर ३५४ मा अगस्टिनको जन्म उत्तर अफ्रिका (हाल अल्जेरिया) को रोमी सहर तागास्तेमा भएको थियो । तिनकी आमा मोनिका एक भक्त ख्रीष्टियान थिइन् भने तिनका बुबा प्याट्रिक अन्यजाति थिए जो मृत्युशैय्यामा ख्रीष्टियान भएका थिए ।

ख्रीष्टमा आइसकेपछि तिनले आफ्नो शिक्षण पेसालाई त्यागिदिए र बाँकी जीवन प्रभुको सेवकको रूपमा बिताउने प्रण गरे । ३५ वर्षसम्म हिप्पोका बिशप बनेका अगस्टिनले पास्टरीय सेवामा दिएका योगदानहरूका अतिरिक्त तिनले कैयौँ प्रवचनहरू र पत्रहरू कोरे जसमध्ये झन्डै १,००० ओटा प्रवचन र २५० ओटा पत्र विद्यमान छन् । हिप्पोको बगालको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा तिनले विभिन्न झुटासाथै बाइबल विपरीत गैरख्रिस्टियान शिक्षाहरूको सामना गरे ।

अगस्टिनलाई प्राचीन मण्डलीको एक महत्त्वपूर्ण प्रतिभाको रूपमा आदर गरिन्छ । पाश्चात्य ख्रिस्टियमतमा तिनको प्रभाव आजसम्म पनि कायमै छ । तिनको शिक्षालाई धर्मको उच्चतम प्राप्तिको रूपमा व्याख्या गरिन्छ । सुसमाचारको प्रतिरक्षाको लागि मण्डली तिनीप्रति ऋणी छ ।

परमेश्वरले एउटा पतित मान्छेलाई उठाई उहाँको एउटा असल भाँडो बनाउन सक्नुहुन्छ भन्ने ज्वलन्त उदाहरण हो, अगस्टिनको जीवनी ।

Facebook Comments

Powered by Youth Circle