दश आज्ञामध्ये एउटा आज्ञाले झुटो गवाही दिन निषेध गर्छ, “आफ्नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू” (प्रस्थान २०:१६) । तर यहोशूको पुस्तकमा राहाबले झुट बोलिन्, “तर त्यस स्त्रीले ती दुई मानिसलाई लगेर लुकाएकी थिई । त्यसले भनी, ‘हो, ती मानिसहरू मकहाँ आएका थिए, तर तिनीहरू कहाँबाट आएका हुन् मलाई थाहा भएन । साँझपख सहरको मूल ढोका बन्द गरिने बेलामा तिनीहरू निस्केर गए । ती मानिसहरू कता गए, मलाई थाहा छैन । झट्टै तिनीहरूका पछि गयौ भने तिनीहरूलाई भेट्टाउनेछौ'” (२:४-५) । राहाबले झुट बोले तापनि यरीहोमाथि आक्रमण गर्दा इस्राएलीहरूले उनी र उनको परिवारलाई बचाए, “तर राहाब वेश्या, त्यसका बाबुका परिवार र त्यससँग भएका सबै जनालाई यहोशूले बचाइदिए, किनभने यहोशूले यरीहोमा जासूसी गर्न पठाएका दूतहरूलाई त्यसले लुकाएकी थिई । अनि आजसम्म इस्राएलीहरूका बीचमा नै त्यो रहेकी छे” (यहोशू ६:२५) । के परमेश्वरले राहाबको झुटलाई अनुमोदन गर्नुभयो ?
राहाब कनानस्थित यरीहो सहरकी वेश्या थिइन् । उनी यहूदाका कुलका सल्मोनकी पत्नी र बोअजकी आमा थिइन् । येशूको वंशावलीमा राहाबको नाउँ उल्लिखित छ (मत्ती १:५) । हिब्रूको पुस्तकमा उनलाई विश्वासद्वारा जिउने सन्तको रूपमा चित्रण गरिएको छ, “जासूसहरूलाई राम्रो स्वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्या नाश भइनन्” (११:३१) । याकूब उनलाई धर्मी स्त्री भन्छन्, “त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र ?” (२:२५) । यहोशू २-६ मा राहाबको बारेमा चर्चा गरिएको छ । यरीहोमाथि आक्रमण गर्नुअगि यस सहरको भेद लिन इस्राएलीहरूले आफ्ना दुई जना जासुस पठाए र राहाबले झुट बोली यी दुई जनालाई लुकाएका थिए ।
झुट बोल्नु पाप हो भनी पुरानो र नयाँ करारका विभिन्न खण्डहरूले प्रस्टसित बताएका छन् (लेवी १९:११; हितोपदेश ६:१६-१९; एफिसी ४:२५; कलस्सी ३:९) । परमेश्वरले झुटलाई घृणा गर्नुहुन्छ (हितोपदेश १२:२२) र उहाँले कहिल्यै झुट बोल्नुहुन्न (गन्ती २३:१९) । त्यसो हो भने झुट बोल्ने राहाबलाई परमेश्वरले कसरी आशिष् दिन सक्नुभयो ? के उहाँले राहाबको झुटलाई अनुमोदन गर्नुभयो ?
झुट बोलेकी कारण परमेश्वरले राहाबलाई आशिष् दिनुभयो भनी बाइबलमा कतै पनि उल्लेख गरिएको छैन । बाइबलमा कहीँ पनि उनको झुटको तारिफ गरिएको छैन न त उनको वेश्यावृत्तिको । बरु उनको समग्र विश्वासको भने तारिफ गरिएको छ । उनले देखाएकी साहसको प्रशंसा गरिएको छ । यो कुरो साँचो हो कि उनले राजाका मानिसहरूलाई झुट बोलिन् तर उनका मनग्गे तारिफयोग्य कदमहरू पनि छन्: उनले यहोवे परमेश्वरमाथि आफ्नो विश्वास देखाइन्; मदतको लागि पुकारा गरिन्; इस्राएली गुप्तचरहरूलाई दया देखाइन्; तिनीहरूलाई साहसपूर्वक लुकाएर भगाउने काम गरिन् र आफू यरीहोकै बासिन्दा भए तापनि उनी यरीहोका दुष्ट मानिसहरूको पक्षमा खडा भइनन्, बरु परमेश्वरका जाति इस्राएलका मानिसहरूको पक्षमा लागिन् ।
निस्सन्देह राहाबले नैतिक द्विविधाको सामना गरेकी थिइन् । जासुसहरूलाई लुकाएको विषयमा साँचो कुरा बोली तिनीहरूका ज्यान जोगाउनु असम्भव थियो भनी उनले राम्ररी बुझेकी थिइन् । त्यसैले अरूको जीवन बचाउन उनले झुट बोलिन् । गुप्तचरहरूको बारेमा साँचो बोल्नुभन्दा तिनीहरूको ज्यान जोगाउनु महत्त्वपूर्ण थियो ।