घिनलाग्दा पापहरू गरेका लोत (उत्पत्ति १९) कसरी ‘धार्मिक’ हुन सक्छन् (२ पत्रुस २:७-८) ?

उत्पत्तिको विवरणअनुसार लोतले घिनलाग्दा पापहरू गरेका छन् । तिनले समलिङ्गीहरूलाई आफ्ना कन्या छोरीहरू मात्र दिने प्रस्ताव गरेनन् तर मद्यले मात्तिएको अवस्थामा तिनका छोरीहरू नै तिनीसित सुते (उत्पत्ति १९) । तर पत्रुसले आफ्नो दोस्रो पत्रमा लोतलाई ‘धार्मिक’ भनेका छन्, “उहाँले दुष्‍टहरूका कामुकताबाट अति दु:खित भएका धार्मिक लोतलाई बचाउनुभयो । (ती मानिसहरूका माझमा बस्‍दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्‍दा र सुन्‍दा, तिनी आफ्‍नो धार्मिक आत्‍मामा व्‍याकुल हुन्‍थे” (२ पत्रुस २:७-८) । तब हामी तर्कसङ्गत प्रश्न गर्न सक्छौँ— त्यस्ता घिनलाग्दा पापहरू गरेका लोत कसरी ‘धार्मिक’ हुन सक्छन् ?

अब्राहामको भतिजोको रूपमा लोत बाइबलमा परिचित छन् । लोत तेरहका नाति र हारानका छोरा थिए । लोतको जन्म सम्भवत: कल्दीहरूको ऊरमा नै भएको थियो ।

उत्पत्तिको विवरणअनुसार लोतले सदोममा बस्ने छनोट गरे जहाँका मानिसहरू दुष्ट थिए, “यसैकारण लोतले यर्दनको जम्‍मै बेँसी रोजेर पूर्वतिर लागे । यसरी यिनीहरू छुट्टिए । अब्रामचाहिँ कनान देशमा नै बस्‍न लागे । लोतचाहिँ बेँसीका सहरहरूमा वास गरे । तिनले आफ्‍नो पाल सदोमसम्‍म सारे । सदोमका मानिसहरू दुष्‍ट थिए, र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे” (उत्पत्ति १३:१२-१३) । क्रुद्ध समलिङ्गी भिडलाई लोतले सहवासको लागि आफ्ना दुई कन्या छोरी दिने प्रस्ताव गरे, “हे मेरा दाजुभाइ हो, कृपा गरी यस्‍तो दुष्‍ट काम नगर्नुहोस्‌ । कुनै मानिससित सहवास नभएका मेरा दुई छोरीहरू छन्‌ । बरु म तिनीहरूलाई नै तपाईंहरूकहाँ बाहिर ल्‍याइदिनेछु । तपाईंहरूको इच्‍छाअनुसार तिनीहरूसित व्‍यवहार गर्नुहोस्‌ । तर यी मानिसहरूलाई केही नगर्नुहोस्‌, किनकि उनीहरू मेरो छानामुनि आएका मेरा पाहुना हुन्‌” (उत्पत्ति १९:७-८) । यति मात्र नभएर मद्यले मात्तिएको अवस्थामा तिनका छोरीहरू नै तिनीसित सुते, “त्‍यसै रात तिनीहरूले आफ्‍ना पितालाई दाखमद्य खुवाए, र जेठीचाहिँ आफ्‍ना पिताकहाँ गएर सुती । … यसरी तिनीहरूले त्‍यस रात पनि आफ्‍ना पितालाई दाखमद्य खुवाए, र कान्‍छीचाहिँ गएर उहाँसित सुती । … यसरी लोतका दुवै छोरीहरू आफ्‍ना पिताबाट गर्भवती भए” (उत्पत्ति १९:३३-३६) । यस्ता घिनलाग्दा पापहरूमा फसेका लोत कसरी ‘धार्मिक’ हुन सक्छन् ?

२ पत्रुस २:७-८ मा लोतको व्याख्याको लागि तीन पटक (नेपाली बाइबलमा केवल दुई पटक) ‘धार्मिक’ शब्दको प्रयोग गरिएको छ । ‘धार्मिक’ एउटा सापेक्ष शब्द हो । लोतको धार्मिकतालाई सन्दर्भअनुसार बुझिनुपर्छ । लोत सदोमका अति नै दुष्टसाथै भक्तिहीन मानिसहरूका बिचमा बसेका थिए । तिनीहरूले “परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे ।” तिनीहरूको अपराधले सीमा नाघेको थिए । त्यसैले परमेश्वरले सदोम र गमोरालाई नष्ट गर्नुभयो । लोत सिद्ध नभए तापनि तिनी सदोमका मानिसहरूजस्तै अत्यधिक दुष्ट भने थिएनन् । सदोमका मानिसहरूको तुलनामा तिनी धार्मिक थिए । त्यसैले तिनीहरूका बिचबाट परमेश्वरले तिनलाई बचाउनुभएको थियो, “यसरी बेँसीका सहरहरू सर्वनाश गर्नुहुँदा परमेश्‍वरले अब्राहामलाई सम्‍झनुभयो । लोत बसेको सहरलाई उहाँले नष्‍ट पार्नुहुँदा त्‍यस सर्वनाशको बीचबाट लोतलाई निकाल्‍नुभयो” (उत्पत्ति १९:२९) ।

४ फिट उचाइ भएको मान्छे अग्लो कि होचो भन्ने प्रश्नको जवाफ सापेक्ष हुन्छ । ३ फिटको मान्छेसँग तुलना गरियो भने त्यो अग्लो हुन्छ भने ५ फिटको मान्छेसँग तुलना गरियो भने होचो हुन्छ । सदोमका अति नै दुष्ट मानिसहरूको तुलनामा लोत ‘धार्मिक’ नै थिए ।

अर्को कुरो, मान्छे जतिसुकै दुष्ट भए तापनि सुसमाचारको कारण धर्मी हुन सक्छ । अब्राहामले परमेश्वरमाथि विश्वास गरे र तिनी धर्मी ठहरिए (रोमी ४ र गलाती ३) । जसरी आज हामी “विश्वासद्वारा धर्मी” ठहरिन्छौँ (रोमी ५:१), त्यसै गरी लोत विश्वासद्वारा धर्मी ठहरिएका थिए । तिनले उही परमेश्वरमाथि विश्वास गरे जुन परमेश्वरमाथि अब्राहामले विश्वास गरे र हामी विश्वास गर्छौं ।

तर के आफ्ना छोरीहरूसँग लोतको यौन सम्बन्धलाई बाइबलले अनुमोदन गर्छ त ? लोत र तिनका छोरीहरूले पाप गरे भन्ने कुरामा कुनै प्रश्न नै छैन । तर हामीले के भुल्नुहुँदैन भने बाइबलमा उल्लिखित हरेक कुरोलाई बाइबलले अनुमोदन गर्दैन । बाइबलले जस्तो देख्छ त्यस्तै लेख्छ । त्यसकारण बाइबलमा प्रभुका महान् दासहरूका कमजोरीसाथै पापहरू पनि उदाङ्गो पारिएका छन् । तर ती हाम्रो अनुसरणको लागि भने अवश्य होइन । लोत र तिनका छोरीहरूको क्रियाकलाप ठिक भएकोले त्यसलाई बाइबलमा लेखिएको होइन, तर त्यो घट्न पुगेकोले उल्लेख गरिएको हो । बाइबलले यस्तो अधर्मको समर्थन गर्दैन बाइबलमा हामी वर्णनात्मक र निर्देशनात्मक गरी दुई किसिमका विवरण पाउँछौँ । लोतको घटना निर्देशनात्मक नभई वर्णनात्मक हो अर्थात् जे घटेको थियो त्यसको बारेमा लेखिएको हो । हामीलाई त्यस्तै गर भनेर निर्देशन दिइएको छैन । यस भिन्नतालाई बुझिएन भने बाइबलले पाप गर्न सिकाउँछ भनी गलत किसिमले निष्कर्ष निकाल्नुपर्ने हुन्छ । परमेश्वरको इच्छाबाट नभई स्वार्थी इच्छाबाट उब्जेका यस्ता दुष्ट कार्यहरू हामीले नदोहोर्‍याऔँ भनेर ती “हाम्रै शिक्षाको निम्ति लेखिएका हुन्” (१ कोरिन्थी १०:११) ।

Facebook Comments

Powered by Youth Circle