बाइबल स्कुलकी छात्राले प्रश्न गरिन्, “सर, हामीले सुँगुरको मासु खान मिल्छ कि मिल्दैन ?” उनी लेवी ११ अध्यायमा अभिलिखित शुद्ध र अशुद्ध खानेकुराबारे सचेत थिइन् । पद ७ मा सुँगुरको मासु खान निषेध गरिएको छ, “अनि सुँगुर, किनभने त्यसको खुर पूरै चिरिएको त हुन्छ, तर उग्राउँदैन । त्यो तिमीहरूका निम्ति अशुद्ध हो ।” उनी उदयपुर जिल्लाकी विद्यार्थी थिइन् र उनको मण्डली नजिकैको अर्को मण्डलीको अगुवाले यही पदलाई आधार बनाएर सुँगुरको मासु खान हुँदैन भनी सिकाएको रहेछ । त्यसैले उनले प्रश्न गरेकी थिइन् । मासु खाने वा नखाने सम्बन्धमा बाइबलले के सिकाउँछ भन्ने बारेमा जवाफ यस प्रकार छ ।
मान्छेलाई सृष्टि गर्नुभएपछि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु । ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्” (उत्पत्ति १:२९) । यहाँ मान्छेलाई मासु खाने आज्ञा दिइएको छैन । त्यसैले सुरुका मानिसहरू शाकाहारी थिए भनी अनुमान गर्न सकिन्छ ।
जलप्रलयपश्चात् परमेश्वरले नोआ र तिनका छोराहरूलाई भन्नुभयो, “जीवित-जीवात सबै तिमीहरूका निम्ति आहारा हुनेछन् । मैले हरिया वनस्पति तिमीहरूलाई दिएझैँ सबै थोक म तिमीहरूलाई दिन्छु” (उत्पत्ति ९:३) । यहाँ मान्छेलाई अन्य प्राणीहरूको मासु खाने आज्ञा दिइएको छ । यहाँ आइपुग्दा मानिसहरू मांसाहारी बने ।
मिश्री दासत्वबाट छुटकारा पाई कनान देशतर्फ अगाडि बढिरहेका इस्राएलीहरूलाई परमेश्वरले मोशामार्फत भन्नुभयो, “इस्राएलीहरूलाई यसो भन्: पृथ्वीमा भएका सारा जीवित पशु-पन्क्षीहरूमा तिमीहरूले यीचाहिँ खानु हुन्छ । पशुहरूमध्ये खुर पूरै चिरिएका र उग्राउनेचाहिँ तिमीहरूले खानु हुन्छ । तापनि उग्राउनेहरू मात्र वा खुर चिरिएकाहरू मात्र तिमीहरूले खानुहुँदैन” (लेवी ११:२-४) । लेवी ११ अध्यायमा शुद्ध र अशुद्ध खानेकुराको सूची दिइएको छ । कुन-कुन प्राणीको मासु खान मिल्थ्यो र कुन-कुन प्राणीको मिल्दैनथ्यो भन्ने विषयमा यो पूरै अध्याय समर्पित छ ।
हामीले खाएका कुराले हामीलाई अशुद्ध पार्दैन भनी येशूले भन्नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ ? किनकि त्यो उसको हृदयमा होइन, तर पेटभित्र पस्तछ, र बाहिर निस्किहाल्छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो)” (मर्कूस ७:१८-१९) । तिमोथीलाई लिखित पहिलो पत्रमा पावलले पनि यस विषयमा सङ्केत गरेका छन्, “पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन् । झूट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ । तिनीहरू विवाह निषेध गर्छन् । विश्वास गर्नेहरू र सत्य जान्नेहरूले धन्यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृजनुभएका भोजनहरूबाट अलग्ग बस्ने आदेश दिन्छन्” (१ तिमोथी ४:१-३) ।
मासु खाने वा नखाने सम्बन्धमा बाइबलले के सिकाउँछ ? हामी शाकाहारी हुनुपर्ने हो वा मांसाहारी ? के मांसाहारी हुनेले सबै किसिमको मासु खान सक्छ कि निश्चित किसिमको मात्रै ?
मासु खाने वा नखाने विषयमा भएका बाइबलका सन्दर्भहरूलाई सही प्रकारले विश्लेषण गरिनुपर्छ । परमेश्वरले दिनुभएका यी आज्ञाहरू एकै पटक नभई विभिन्न समयमा दिनुभएको थियो । पछिल्लो प्रकाशले अगिल्लो प्रकाशलाई विस्थापित गर्छ भन्ने सिद्धान्तमा यो विषयको जवाफ पाइन्छ ।
सुरुमा मान्छे शाकाहारी थिए भनी अनुमान गर्न सकिन्छ । जलप्रलयपछि परमेश्वरले मानिसलाई अन्य कुनै पनि प्राणीको मासु खाने अनुमति दिनुभयो । पछि इस्राएलीहरूका बिचमा शुद्ध र अशुद्ध खानेकुराको बिचमा सूची तयार पारियो । येशूको मृत्युसँगै व्यवस्थाको अन्त्य भएकोले ख्रीष्टियानहरूलाई शुद्ध र अशुद्ध खानेकुराको नियमले बाँध्दैन । पुरानो करारका धेरै कुरा हामीलाई लागु हुँदैन जसमध्ये एउटा हो, शुद्ध र अशुद्ध खानेकुरा बिचको विभेद । शाकाहारी बन्ने कि मांसाहारी बन्ने ? यो तपाईंको स्वतन्त्रताको विषय हो । बाइबलले दुवैलाई अनुमति दिएको छ । हामी आफू बसेका संस्कृति र कानुनको ख्याल गरी सबै किसिमको मासु खान पनि सक्छौँ वा निश्चित किसिमको मात्र पनि वा कुनै किसिमको नखान पनि सक्छौँ । यो पनि व्यक्तिले छनोट गर्ने कुरो हो किनकि लेवी ११ अध्यायमा अभिलिखित शुद्ध र अशुद्ध खानेकुराको सूची हामीलाई लागु हुँदैन । मासु खाने वा नखाने वा कुन-कुन खाने भन्ने कुरो परमेश्वरले हामीलाई दिनुभएको स्वतन्त्रताको विषय हो । यस विषयमा पावलको अर्ती निर्णायक छ, “कसैले सबै थोक खान हुन्छ भनी विश्वास गर्छ, तर विश्वासमा कमजोर हुनेले चाहिँ सागसब्जी मात्र खान्छ । खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस् । किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ” (रोमी १४:२-३) ।
लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।