जनवरी १८ बाट मैले होली अर्डीको आत्मकथा पढ्न सुरु गरेँ । Not God’s Type: An Atheist Academic Lays Down Her Arms उनको आत्मकथाको शीर्षक रहेको छ । ६ दिन (जनवरी १८-२३) मा ८ घण्टा लगाएर उक्त कृति आद्योपान्त सकेँ । साहित्यमा विद्यावारिधि गरेकी अर्डी आफै यसका लेखिका हुन् । २०१४ मा प्रकाशित यस रचनामा २१५ पृष्ठ छन् ।
पुस्तक पठन यात्रामा यो मेरो १०३ औँ पुस्तक हो । यो किताब उनको आफ्नै व्यक्तिगत जीवन यात्राको बारेमा हो । नास्तिकबाट कसरी ख्रीष्टियान बनिन् भनी उनले यस कृतिमा अवगत गराएकी छन् ।
आफ्नो आत्मकथामा अर्डी व्यक्त गर्छिन्, “मैले मेरो जीवनमा कहिल्यै प्रार्थना गरेकी छैनँ; म कहिल्यै मण्डली सेवामा गएकी छैनँ । ख्रिस्टमसको अर्थ उपहारहरू हो भने इस्टरको अर्थ चकलेट । त्योभन्दा अरू केही होइन ।” उनलाई न येशूको बारेमा थाहा थियो न मण्डलीको बारेमा, “मलाई येशूको बारेमा केही थाहा थिएन र म मण्डली जाँदिनथ्येँ ।”
३१ वर्षको उमेरमा आइपुग्दा उनी कलेजका नास्तिक प्राध्यापक बनिसकेकी थिइन् । उनलाई आफ्नै तरिकाले सोच्न मन पर्थ्यो । ख्रीष्टियानहरूको बारेमा अपमानपूर्ण टिप्पणी गर्दा उनी रमाउँथिन् । उनको लागि परमेश्वरमाथिको विश्वास अन्धविश्वाससिवाय केही थिएन । उनी लेख्छिन्, “मैले परमेश्वरमा विश्वास गर्दिनथ्येँ र बाइबल लोककथासाथै दन्त्यकथाहरूको सङ्कलन थियो भन्ने मेरो अनुमान थियो ।” विश्वास आफैमा तर्कहीन छ भन्ने उनको बुझाइ थियो । ख्रीष्टियान आस्थाको लागि कुनै साक्षी छैन र यसलाई “केवल विश्वासद्वारा” स्विकारिनुपर्छ भनेर उनले बुझेकी थिइन् । विश्वास भन्ने अवधारणाले नै उनलाई त्रसित तुल्याउँथ्यो ।
तर एक दिनको कुरो हो । एक जना आदरणीय र तीक्ष्ण बुद्धि भएको मान्छेले अर्डीको सामु तिनी ख्रीष्टियान भएका खुलासा गरे जसले परमेश्वरको विषयमा सत्यताको खोजी गर्न प्रेरित गर्यो अर्डीलाई ।
परिचित लेखक जे. आर. आर. टोल्किनका रचनाहरूले उनको परिवर्तनमा भूमिका खेल्न थाले । उनको धर्मान्तरण अकस्मात् भएको थिएन, न त तुरुन्तै । नदेखिने स्रोतबाट आएको बत्तीजस्तै टोल्किनका कृतिहरूबाट परमेश्वरको अनुग्रह चम्कन सुरु गर्यो । उनी मण्डली जान थालिन् ।
उनले सी. एस. लेविसजस्ता प्रभावशाली रक्षाशास्त्रीहरूका कृतिहरू पढ्न थालिन् र परमेश्वरको अस्तित्वको लागि तर्कसङ्गत साक्षीहरू भएका देख्दा छक्क परिन् ।
आत्मकथामा अर्डी भन्छिन्, “म विश्वको व्याख्याको खोजीमा थिएँ जसले अर्थ दिन सकोस् । यस बिन्दुमा आइपुग्दा मेरो प्रकृतिवादी दृष्टिकोण अपर्याप्त थियो भनी मैले महसुस गरेसकेकी थिएँ । यसले विश्वको उत्पत्तिलाई व्याख्या गर्न सक्दैनथ्यो, न त नैतिकतालाई ।” अर्कोतिर परमेश्वरको अस्तित्वलाई स्वीकार गरिने दृष्टिकोणमा विश्वको उत्पत्ति र नैतिकताको अस्तित्व दुवै कुराको अर्थ लाग्थ्यो ।
जुन बाइबललाई अर्डीले दन्त्यकथाको पुस्तक भन्थिन् अनुसन्धानपश्चात् त्यो विश्वसनीय भएको पाइन् । येशूको बारेमा बताउने सुसमाचारीय पुस्तकहरू ऐतिहासिक बयान थिए भनी उनले महसुस गरिन् । अन्तत: अर्डीको जीवनमा एउटा यस्तो क्षण आयो जुन बेला उनले येशूलाई आफ्ना प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गरिन् । उनी स्मरण गर्छिन्, “मेरो पूरै जीवनमा पहिलो पटक मैले प्रार्थना चढाएँ ।”
यसरी आफ्नो खोजमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निश्चयतामा पुगिन् अर्डी । नयाँ करार साँचो छ र येशू वास्तविक हुनुहुन्छ भन्ने निष्कर्षमा पुगिन् । बौद्धिक प्राध्यापक अर्डीले नास्तिकवादलाई त्याग गरिन् अनि आफ्नो खोजपश्चात् उनी ख्रीष्टियान बनिन् ।