आत्महत्या गर्न तम्सेका रबीमा बाइबलको वचनले नयाँ आशा जगाइदियो

आफ्नो आत्मकथामा रबी जकरिया लेख्छन्, “रक्षाशास्त्र भनेको प्रश्नहरूको जवाफ दिनु मात्र होइन तर मानिसहरूको जवाफको प्रश्न गर्नु पनि हो र तिनीहरूका प्रश्नहरूको प्रश्न गर्नु पनि हो । तपाईंले कसैको प्रश्नमाथि प्रश्न तेर्साउनुहुँदा तपाईंले उसलाई उसका आफ्ना पूर्वानुमानहरूबारे मनन गर्न बाध्य पार्नुहुने छ । हाम्रा पूर्वानुमानहरू जाँचिनुपर्छ ।”

७ जनवरीबाट रबीको आत्मकथा पढ्न सुरु गरेँ । मेरो लागि रबी अपरिचित नाउँ होइन । मैले तिनका कृतिहरू पहिले नै पढिसकेको मात्र होइन तर तिनको धर्मान्तरण अर्थात् नाटकीय परिवर्तनबारे पनि सचेत थिएँ । तर विश्व प्रसिद्ध यी रक्षाशास्त्रीसाथै वक्ताको जीवन सबिस्तार ढङ्गमा जानी जीवनमा पाठहरू सिक्ने उद्देश्येले तिनको आत्मकथा पढेर सिद्ध्याएँ । तिनको आत्मकथाको शीर्षक Walking from East to West: God in the Shadows रहेको छ । ११ दिन (जनवरी ७-१७) मा १३ घण्टा खर्चेर २४० पृष्ठको यस कृतिलाई पढेर सकेँ । यसका लेखक रबी जकरिया आफै हुन् । यसलाई ख्रिस्टाब्द २००९ मा प्रकाशित गरिएको थियो ।

पुस्तक पठन यात्रामा यो मेरो १०२ औँ पुस्तक हो । कुनै बेला कसैले मलाई “तपाईं नेपालको रबी जकरिया हुनुहुन्छ” भन्दा मेरो नाक ठुलो भएको थियो । निस्सन्देह, रक्षाशास्त्रको सवालमा म रबी जकरियाकै मार्गमा हिँडिरहेको भए तापनि तिनको तहमा पुग्नु भनेको मेरो लागि दशवटा सगरमाथा चढे बराबर होला ।

ख्रिस्टाब्द १९४६ मा रबी हाम्रै छिमेकी मुलुक भारतको चेन्नईमा जन्मेका थिए । सानै छँदा तिनको परिवार दिल्ली प्रस्थान गर्‍यो जहाँ तिनी हुर्के । तिनका पिता सरकारी कर्मचारी थिए । परिवारका पाँच जना सन्तानमध्ये रबी सबैभन्दा बेखुसी बालक थिए । तिनी आफूलाई असफल देख्थे, “मेरो वरिपरि भएको हरेकले सफलता हासिल गरेको थियो तर आफ्नो जीवनमा जतिसुकै गहन खोजी गरे तापनि मैले असफलता नै देख्थेँ ।”

१७ वर्षको उमेरमा रबीले विष सेवन गरी आत्महत्या गर्ने कोसिस गरे । अस्पतालको बेडमा पस्रिरहँदा आमाले छोरोको लागि पढेकी वचनले तिनको जीवनमा नाटकीय परिवर्तन ल्याउन मदत पुर्‍यायो । आमाले यूहन्नाको सुसमाचारबाट पढेकी थिइन्, “म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ ।” ‘जीवित’ शब्दले रबीको ह्रदय छोयो र तिनले आफ्नो जीवन प्रभु येशूको चरणमा सुम्पे । तिनले मनमनै प्रार्थना गरे, “हे येशू, यस्तो किसिमको जीवन दिने तपाईं नै हुनुहुन्छ भने म यो चाहन्छु । कृपा गरी मलाई यस अस्पतालको शैय्याबाट सकुशल बाहिर लैजानुहोस् र म प्रतिज्ञा गर्दछु कि सत्यताको खोजीमा म हर सम्भाव्य प्रयास गर्ने छु ।” तिनी पुरानो रबीबाट नयाँ रबी बने । मर्ने प्रयास पानीको बाफझैँ बिलाएर गयो । अब जिउने आशा मात्र पलाएन तर जीवनमा केही गर्ने मनसाय पनि । १९६६ मा रबीको परिवार क्यानडा बसाइँ सर्‍यो ।

नर्मन गेइस्लर, जी. के. खेस्टेर्टोन, सी. एस. लेविसजस्ता विख्यात रक्षाशास्त्रीहरूद्वारा प्रभावित रबीले नबिल कुरेसी, लि स्ट्रोबेल, फ्र्याङ्क टुरिक, पावल कोपानजस्ता परिचित रक्षाशास्त्रीहरूका जीवनमा गहन प्रभाव पारेका छन् । सारा संसारलाई ख्रीष्टियान रक्षाशास्त्रको बारेमा सिकाउन आफ्नो जीवनको अमूल्य चार दशक अर्पण गरेका तिनी RZIM (Ravi Zacharias International Ministry) का संस्थापक थिए । ३० ओटाभन्दा बेसी पुस्तकका लेखक रबीको क्यान म्यान लिभ विदआवट गड? ले स्वर्ण पदक हात पार्‍यो । ७० ओटाभन्दा बेसी मुलुकमा पुगिसकेका रबीले कम्तीमा पनि १० ओटा मानार्थ विद्यावारिधि पाएका छन् । तिनका प्रवचनहरूद्वारा हजारौँ मानिस प्रभुमा आएका छन् ।

“परमेश्वरलाई तपाईंको गन्तव्यको रचनाकारको रूपमा देख्नुभन्दा अर्को कुनै महान्‌तर खोज छैन ।”

Facebook Comments

Powered by Youth Circle