“सत्रौँ शताब्दीमा पहिलो पटक धर्मले विज्ञानसित भेट्दा जम्काभेट मैत्रीपूर्ण थियो । वैज्ञानिक क्रान्तिका अधिकांश संस्थापकहरू भक्त ख्रीष्टियानहरू थिए जसले विश्वास गर्थे कि तिनीहरूका वैज्ञानिक काममा तिनीहरूले सृष्टिकर्ताको रचनालाई अध्ययन गर्दै थिए ।” When Science Meets Religion: Enemies, Strangers, or Partners? नामक पुस्तकबाट साभार गरिएको यस अंशमा परमेश्वरप्रति वैज्ञानिक क्रान्तिका वैज्ञानिकहरूको धारणा कस्तो थियो भन्ने कुरो प्रस्ट छ ।
पुस्तक पठन यात्रामा यो मेरो १०० औँ पुस्तक हो । यसका लेखक हुन्, इयान जी. बारबुर । मैले पढेको बारबुरको यो पहिलो कृति हो । ख्रिस्टाब्द १९९९ मा टेम्प्लेटन पुरस्कार (हाल यसको धनराशी १७ करोड रुपियाँभन्दा बढी छ) जितेका तिनी विज्ञान र धर्मबिचको सम्बन्धका ज्ञाता थिए । २६३ पृष्ठको यस कृति पढेर सक्न मलाई ११ दिन (डिसेम्बर २१-३१) लाग्यो । लेखक परिचित वैज्ञानिक मात्र होइनन्, तर ईश्वरशास्त्री पनि हुन् ।
यो किताब धर्म र विज्ञानबिचको सम्बन्धबारे लिखित पुस्तक हो । विज्ञान र धर्म एक-अर्काका शत्रु हुन् ? कि मित्र ? कि एक-अर्कामा अपरिचित ? विज्ञान र धर्मबिचको सम्बन्धबारे भएका महत्त्वपूर्ण सवालहरूबारे रचनाकारले आफ्नो कृतिमा सम्बोधन गरेका छन् ।
६ ओटा अध्यायमा विभाजित पुस्तकको पहिलो अध्यायमा विज्ञान र धर्मबारे चारवटा दृष्टिकोण प्रस्तुत छन् । दोस्रो अध्यायले खगोल विज्ञान र सृष्टिबारे चर्चा गर्छ भने तेस्रो अध्यायले क्यान्टम भौतिकशास्त्रका आशयहरूबारे । चौथो अध्यायमा विकासवाद र जारी सृष्टिबारे उल्लेख गरिएको छ भने पाँचौँमा आनुवंशिक विज्ञान, स्नायु विज्ञानसाथै मानवीय स्वाभावबारे । छैटौँ अध्यायले परमेश्वर र प्रकृतिबारे चर्चा गर्छ ।
विज्ञान र धर्मबिचको सम्बन्धलाई विचारकहरूले विभिन्न दृष्टिकोणबाट बुझ्ने गर्छन् । कसैले यी दुईको बिचमा द्वन्द्व छ भन्छ त कसैले यी दुई स्वाधीन छन् भन्छ । कसैले धर्म र विज्ञानको बिचमा संवाद हुन सक्छ भनेर बुझ्छ त कसैले यी एक-अर्कामा परिपूरक छन् भनेर बुझ्छ । पुस्तकमा यी चारवटै दृष्टिकोणलाई उल्लेख गरिएको छ ।
वैज्ञानिक भौतिकवाद र बाइबलीय अक्षरानुसरण दुवै नै गलन हुन् भनी देख्न लेखक हामीलाई मदत गर्छन् । धर्म र विज्ञानबिचको सम्बन्धबारे अध्ययन गर्ने जोसुकैको लागि यो एउटा महत्त्वपूर्ण कृति हो ।