नास्तिकवादी वैज्ञानिक डाउकिन्सको भ्रम

ख्रिस्टाब्द २००६ मा अक्सफोर्ड विश्वविद्यालयका जीवशास्त्री रिचार्ड डाउकिन्सले The God Delusion नामक पुस्तक प्रकाशित गरे । परमेश्वरमाथिको विश्वास भ्रम हो भनी नास्तिकवादी प्राध्यापक डाउकिन्सले यस कृतिमा तर्क गरेका छन् ।

ख्रिस्टाब्द २००७ मा रक्षाशास्त्री अलिस्टर म्याकग्रेथ र मनोवैज्ञानिक जोना कोलिकट म्याकग्रेथले The Dawkins Delusion? Atheist Fundamentalism and the Denial of the Divine नामक पुस्तक प्रकाशित गरे । यो पछिल्लो पुस्तकमा पहिलो पुस्तकको खण्डन गरिएको छ ।

पुस्तक पठन यात्रामा यो मेरो ९९ औँ पुस्तक हो । डिसेम्बर १४-२० मा ४ घण्टा खर्चेर मैले ९६ पृष्ठको यस कृतिलाई पढेर सकेँ ।

यस सङ्क्षिप्त पुस्तकमा जम्मजम्मी ४ ओटा अध्याय छन्: (१) के हामी परमेश्वरको बारेमा भ्रममा परेका हौँ ? (२) के विज्ञानले परमेश्वरलाई अप्रमाणित गरेको छ ? (३) कसरी धर्मको सुरुआत भयो ? (४) के धर्म खराब हो ?

डाउकिन्सले विश्वासलाई साक्षीको अनुपस्थितिमा गरिने अन्धो भरोसा भनी परिभाषित गरेका छन् । तर यो विश्वासबारे ख्रीष्टियान परिभाषा होइन । ख्रीष्टियान विश्वासले हाम्रो समझलाई तासीमा थन्काउनुपर्छ वा सामान्य बुद्धिसाथै इतिहासलाई खुल्लमखुल्ला अपमान गर्नुपर्छ वा अन्धो रूपमा विश्वास गर्नुपर्छ भनी आग्रह गर्दैन । ख्रीष्टियान विश्वास साक्षीको उपस्थितिमा गरिने भरोसा हो ।

संसारलाई बुझ्न विज्ञान मात्र एउटा विश्वसनीय सामग्री हो भनी डाउकिन्सले आफ्नो पुस्तकमा घरीघरी जोड दिएका छन् । हाम्रा लागि विज्ञान विभिन्न दृष्टिकोणबाट वरदान साबित भए तापनि यसका सीमाहरूलाई भुल्नुहुँदैन । विज्ञानले सबै प्रश्नको जवाफ दिन सक्दैन । जीव कसरी यस धरतीमा आइपुग्यो भनी विज्ञानले खोज्न सक्छ तर ऊ किन यहाँ छ भनी विज्ञानले पत्ता लगाउन सक्दैन । यो उसको सीमाभन्दा बाहिरको कुरो हो । सत्यता र अर्थको खोजीमा दर्शनशास्त्र, धर्म, इतिहाससाथै साहित्यका आआफ्नै ठाउँ छन् । कुनै समय विज्ञान र धर्म एक-अर्काका शत्रुजस्ता देखिए तापनि ती परिपूरक मात्रै होइनन् तर आवश्यक छन् भनी दाबी गरिएको छ ।

परमेश्वरको अनस्तित्व अर्थात् परमेश्वर अस्तित्वमा हुनुहुन्न भन्ने विश्वास नै नास्तिकवादको आधारभूत जग हो । तर नास्तिकवादले मनग्गे प्रश्नको तर्कसङ्गत जवाफ दिन सक्दैन: शून्यता हुनुको साटो किन विश्व अस्तित्वमा छ ? हामी किन यहाँ छौँ ? हामी कहाँ जाँदै छौँ ? जीवको अर्थ के हो ? आदि । अर्कोतिर, बिसौँ शताब्दीमा पत्ता लागेका खोजपछिका खोजहरूले यो विश्व अनन्त नभई यसको थालनी भएको थियो भनी देखाउँछन् । यसको थालनी भएको थियो भने यसको कारक के हो ? परमेश्वरको अस्तित्वको स्वीकारले यो जायज प्रश्नको जवाफ दिन्छ ।

Facebook Comments

Powered by Youth Circle