“मैले ख्याल गरेको पहिलो कुरो यही हो कि दर्शनशास्त्रबारे हकिङ्गको भनाइ दर्शनशास्त्रसम्बन्धी भनाइ नै हो । यो विज्ञानसम्बन्धी भनाइ होइन भन्ने कुरो प्रस्ट छ– बरु यो त विज्ञानबारे पराभौतिकशास्त्रीय भनाइ हो । त्यसकारण दर्शनशास्त्र मरेको छ भन्ने तिनको भनाइ आफैमा बाझिएको छ । यो तार्किक बेमेलताको एउटा उत्तम उदाहरण हो ।” यो God and Stephen Hawking: Whose Design Is It Anyway? नाम गरेको पुस्तकबाट साभार गरिएको अंश हो । यहाँ लेनोक्सले दर्शनशास्त्र मरेको छ भन्ने हकिङ्गको भनाइको खण्डन गर्दै छन् ।
पुस्तक पठन यात्रामा यो मेरो ९७ औँ पुस्तक हो । पुस्तकका लेखक हुन्, जोन सी. लेनोक्स । मैले ४ दिन (नोभेम्बर २७-३९) मा ९७ पृष्ठको यस सानो कृतिलाई पढेर सिद्ध्याएँ । यो ख्रिस्टाब्द २०११ मा प्रकाशित रचना हो ।
ख्रिस्टाब्द २०१८ यस धरतीबाट बिदा भएका स्टिफेन हकिङ्ग भौतिकशास्त्रीसाथै लेखक थिए । तिनलाई आइन्स्टाइनपछि महान्तम वैज्ञानिक मानिन्छ । तर हकिङ्गले आफू नास्तिक भएका घोषणा गरे ।
ख्रिस्टाब्द १९४३ मा आएरल्यान्डमा जन्मेका जोन सी. लेनोक्स गणितज्ञ, विज्ञानका दार्शनिकसाथै ख्रीष्टियान रक्षाशास्त्री हुन् । तिनले धर्म, विज्ञानसाथै नीतिशास्त्रजस्ता विषयहरूमा मनग्गे लेखेका छन् ।
माथि उल्लिखित पुस्तकमा लेनोक्सले स्टिफेन हकिङ्गको धारणाको खण्डन गरेका छन् । पुस्तकलाई ५ भागमा विभजान गरिएको छ जुन यस प्रकार छन्:
१. महत्त्वपूर्ण प्रश्नहरू
चाहे तपाईं अमेरिकामा बस्नुभएको होस् वा नेपालमा, हरेक व्यक्तिको जीवनमा यी प्रश्नहरू अत्यधिक महत्त्वपूर्ण छन्: हामी यहाँ किन छौँ ? जीवनको उद्देश्य के हो ? हामी कहाँ जाँदै छौँ ? के विश्व नै सबै थोक हो वा त्योभन्दा पर केही छ ?
परमेश्वर हामीले बुझेका विश्व र नबुझेका विश्व दुवैका सृष्टिकर्ता हुनुहुन्छ । म जति धेरै उहाँको सृष्टिलाई बुझ्छु त्यति नै धेरै उहाँप्रति मेरो आराधना बढ्छ ।
२. परमेश्वर वा प्राकृतिक नियम
हकिङ्गले भनेका छन्, “गुरुत्वाकर्षणजस्तो नियम अस्तित्वमा भएकोले विश्व आफै शून्यताबाट सृजित हुन सक्छ र हुने छ ।” लेनोक्सले यस भनाइमा तीनवटा भुल देखेका छन्: तिनको भनाइ अन्तर्विरोधी छ; नियमले सृजना गर्ने काम गर्दैन र आत्म-सृजना तर्कहीन छ । वाहियात कुरो वाहियात नै हुन्छ चाहे त्यो विश्व-प्रसिद्ध वैज्ञानिकको मुखबाट नै किन ननिस्कोस् ।
आकाशमा उड्ने विमानले कसरी काम गर्छ भनी प्राकृतिक नियमले व्याख्या गर्न सक्छ, तर सर्वप्रथम यो कसरी अस्तित्वमा आयो भनी यसले व्याख्या गर्न सक्दैन । प्राकृतिक नियमले विमानलाई अस्तित्वमा ल्याएको होइन भन्ने कुरो सुस्पष्ट छ । यसको आविष्कारको लागि त कल्पनाशक्ति, तर्कशक्ति, बौद्धिकतासाथै सृजनशीलताको खाँचो पर्यो ।
प्राकृतिक नियमसित आफै अस्तित्वमा आउने क्षमता हुँदैन । त्यसको लागि रचनाकारको खाँचो पर्छ ।
३. परमेश्वर वा बहुविश्व
सृष्टिमा चेतनशील रचनाकारको हात भएको सुस्पष्ट तथ्यलाई हटाउन नास्तिकवादी वैज्ञानिकहरूले पिण्ड/शक्ति, प्राकृतिक नियमहरूलाई त्यसको श्रेय दिँदै आएका छन् । व्यवस्थित विश्व रचनाकारको नतिजा होइन भनी हकिङ्ग भन्छन् । किन विश्व व्यवस्थित छ त ? हकिङ्गको जवाफ हो– बहुविश्व । विश्वहरूको सङ्ख्या अनगिन्ती भएकाले विश्वमा जेसुकै पनि हुन सक्छ भनी बहुविश्वको अवधारणाले बताउँछ ।
तर बहुविश्वको अवधारणा पूर्णत: अनुमानमा आधारित छ । यो वैज्ञानिक सिद्धान्त होइन ।
४. यो कसको रचना हो ?
नास्तिकवादको आखिरी सत्यता भनेको विश्व हो भने आस्तिकवादको आखिरी सत्यता परमेश्वर हो ।
विश्वले कसरी काम गर्छ भनी प्राकृतिक नियमले हामीलाई बताउँछ तर किनको जवाफ प्राकृतिक नियमसित छैन । शून्यता हुनुको साटो किन केही कुरो (विश्व) अस्तित्वमा छ ? हामी किन अस्तित्वमा छौँ ? विश्वमा किन यी प्राकृतिक नियमहरू छन् अरू होइन ? प्राकृतिक नियमले हामीलाई यी प्रश्नहरूको जवाफ दिँदैन । यसको लागि हामी अझै पर जानुपर्छ जहाँ हामी परमेश्वरलाई भेट्छौँ ।
५. विज्ञान र तार्किक क्षमता
विज्ञान र धर्मको बिचमा गहन द्वन्द्व छ भनी हकिङ्ग भन्छन् । आफूसित भएको तर्कको प्रयोग गरी हकिङ्ग विज्ञान र धर्मको बिचमा द्वन्द्व देख्छन् जब कि त्यही तर्कको प्रयोग गरी विज्ञान र धर्मको बिचमा लेनोक्स मिलाप देख्छन् । लेनोक्स भन्छन्, “म जति धेरै विज्ञानलाई बुझ्छु, त्यति धेरै परमेश्वरमा विश्वास गर्दछु ।”
सारमा, यो सम्पूर्ण विश्व कहाँबाट आयो ? यसको सबैभन्दा तर्कसङ्गत जवाफ हो– परमेश्वर । यो विश्व किन व्यवस्थित छ ? यसको सबैभन्दा तर्कसङ्गत जवाफ हो– परमेश्वर ।