कति जना अपराधीले येशूको अपमान गरे— एक जनाले वा दुवै जनाले ?

प्रभु येशू ख्रीष्ट क्रूसमा झुन्ड्याइनुहुँदा उहाँका दायाँ र बायाँ दुई जना डाँका पनि उहाँसँगै क्रूसमा टाँगिएका थिए । एक जनाले वा दुवै जनाले येशूको अपमान गरे भन्ने सम्बन्धमा सुसमाचारका विवरणहरू बेमेल भएका जस्ता देखिन्छन् ।

  • मत्ती— “अनि उहाँसँग क्रूसमा झुन्ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे” (मत्ती २७:४४) ।
  • मर्कूस— “उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे” (१५:३२) ।
  • लूका— “क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, ‘के तिमी ख्रीष्ट होइनौ ? तिमी आफैलाई र हामीलाई बचाऊ'” (२३:३९) ।

यी तीनवटा प्रतिवेदनलाई एक अर्कामा तुलना गरेर पढ्दा हामी प्रस्ट हुन्छौँ कि लेखकद्वय मत्ती र मर्कूसका भनाइअनुसार दुवै अपराधीले येशूको निन्दा गरे जब कि लूकाको अभिलेखअनुसार केवल एक जनाले । तब तर्कसङ्गत प्रश्न यो हो कि क्रूसमा टाँगिएका कति जना अपराधीले येशूको अपमान गरे— एक जनाले (लूका २३:३९) वा दुवै जनाले (मत्ती २७:४४ र मर्कूस १५:३२) ?

सुरुमा दुवै जना डाँकाले क्रूसमा टाँगिनुभएका मुक्तिदाता येशूको अपमान गरे । सम्भवतः येशूको महान्‌तालाई देखेर पछि एक जनाचाहिँले पश्चात्ताप गर्‍यो ।

येशू क्रूसमा टाँगिनुहुँदा उहाँले भन्नुभएको थियो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन् सो जान्दैनन्” (लूका २३:३४) । क्रूसबाट येशूले बोल्नुभएका सातवटा वाणीमध्ये यो पहिलो वाणीलाई क्षमाको वाणी भनिन्छ । रोमी सिपाहीहरूलगायत अन्य जति पनि येशूलाई क्रूसमा टाँग्न संलग्न थिए तिनीहरूलाई क्षमा दिइयोस् भनी येशूले पितासँग बिन्ती गर्नुभयो । येशूको उदाहरण र वचनबाट प्रभावित भई पश्चात्ताप नगर्ने अपराधीलाई हप्काउँदै पश्चात्ताप गर्नेचाहिँले भन्यो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस् ? हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्” (लूका २३:४०-४१) । पश्चात्तापी अपराधीको निवेदनलाई स्वीकार गर्नुहुँदै येशूले उसलाई प्रतिज्ञा गर्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ” (लूका २३:४३) ।

तब यी सबै विवरणलाई विश्लेषण गरी हामी निष्कर्ष निकाल्न सक्छौँ कि सुरुमा दुवै जनाले येशूको अपमान गरे जसको विषयमा मत्ती र लूकाले अभिलिखित गरेका छन् । पछि दुईमध्ये एक जनाले पश्चात्ताप गर्‍यो जसको विषयमा लूकाले लेखेका छन् ।

Facebook Comments

Powered by Youth Circle