ख्रीष्टियान राजनीतिज्ञ विल्बरफोर्सको सक्रियतामा दास प्रथा उन्मूलन भयो

“सर्वशक्तिमान् परमेश्वरले मेरो सामु दुईवटा महान् उद्देश्य राखिदिनुभएको छ: दास व्यापारको उन्मूलन र नैतिकताको सुधार”, २८ वर्षको उमेरमा विलियम विल्बरफोर्सले आफ्नो जर्नलमा परमेश्वरको बोलावटलाई यसरी व्यक्त गरेका थिए ।

विलियम विल्बरफोर्स ख्रीष्टियान राजनीतिज्ञ, ईश्वरशास्त्रीसाथै सामाजिक सुधारक थिए । तिनकै निरन्तर सक्रियतामा ब्रिटिस साम्राज्यबाट दास व्यापार सदाको निम्ति उन्मूलन भएको थियो । तिनको मृत्युको तीन दिनअगि संसदले दास उन्मूलन कानुन १८३३ पारित गरेको थियो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्‍यो ।

ख्रिस्टाब्द १७५९ मा इङ्गल्यान्डमा जन्मेका विल्बरफोर्स परिवारमा एकला छोरा थिए । १७८५ मा तिनी ख्रीष्टियान बने र त्यसपछि तिनको जिउने शैलीमा परिवर्तनका रेखाहरू देखा परे ।

सोर्‍हौँ शताब्दीमा नै ब्रिटिसले दास व्यापार गर्न थालेको थियो । अफ्रिकाबाट लाखौँ दासलाई किनेर वेस्ट इन्डिजमा निर्यात गरिन्थ्यो जहाँ ती दासहरूले चिनी, सुर्ती र कपास उत्पादन गर्थे । तिनीहरूको उत्पादन नै ब्रिटिस सरकारको ८० प्रतिशत विदेशी आय थियो । दास व्यापार ब्रिटिस आम्दानीको एउटा प्रमुख हिस्सा नै बनेको थियो । यस्तो पृष्ठभूमिमा कानुनी रूपमा दास व्यापारको उन्मूलन फलामको चिउरा चपाउनुसरह थियो ।

१७८९ मा विल्बरफोर्सले संसद भवनमा दास प्रथाको विरुद्धमा खरो भाषण गरे । दास व्यापार अन्याय र मानवीय प्रतिष्ठाको विरुद्धमा थियो भन्ने तिनको तर्क थियो । १७८१ देखि संसदमा झन्डै प्रत्येक वर्ष नै दास प्रथाको विरुद्धमा विधेयक पेस गरिएको भए तापनि विलियम विल्बरफोर्स र तिनको पक्षमा मत हाल्नेहरू पटक-पटक पराजित भए । निरन्तर प्रयासको बाबजुत १८०७ मा दास व्यापार कानुनी रूपमा उन्मूलन भयो । २८३ भोट निर्मूलनको पक्षमा खसेको थियो भने केवल १६ ओटा मत त्यसको विपक्षमा ।

दास प्रथा कानुनत: गैरकानुनी भए तापनि हजारौँ दास फुक्का भइसकेका थिएनन् । तसर्थ विल्बरफोर्सले आफ्नो बाँकी जीवन अफ्रिकासाथै विश्वका अन्य मुलुकहरूमा भएका दासहरूको अधिकारको पक्षमा वकालत गरी बिताए । अन्तत: १८३३ मा दास उन्मूलन कानुन १८३३ पारित भयो जसले दास प्रथालाई ब्रिटिस साम्राज्यबाट प्रभावकारी ढङ्गमा निषेध गर्‍यो । निश्चय नै यो विल्बरफोर्सको जीवनको महान्‌तम प्राप्ति थियो । तिनको मृत्युको एक महिनापश्चात् दासत्व उन्मूलन कानुन पारित गरी झन्डै ८ लाख अफ्रिकी दासलाई फुक्का गरियो जसको निम्ति हर्जानास्वरूप अरबौँ रुपियाँ खर्च गरिएको थियो ।

Facebook Comments

Powered by Youth Circle