युरोप महादेशमा पहिलो पटक छापिएको मुख्य पुस्तक हो– गुटेनबर्ग बाइबल । यसको प्रकाशनसँगै पश्चिमी जगत्मा छापाको दुनियाँमा नयाँ युगको सुत्रपात भयो । धातुबाट निर्मित चलायमान टाइपद्वारा आफ्नो नवआविष्कृत छापाखानाको प्रयोग गरी जोहानेस गुटेनवर्गले यस बाइबललाई छापेका थिए । छापाखानको उदयसँगै सञ्चारको दुनियाँमा नयाँ उपलब्धि हासिल गरियो ।
जोहानेस गुटेनबर्गले यस बाइबललाई छापेकाले तिनकै नाउँबाट यसको नाउँ गुटेनबर्ग बाइबल राखिएको हो । गुटेनबर्ग पन्ध्रौँ शताब्दीका जर्मनीका आविष्कारक थिए ।
ल्याटिन भाषामा छापिएको यस बाइबललाई ४२ हरफको बाइबल भनेर पनि चिनिन्छ किनकि यसका पानाहरू ४२ हरफ भएका दुईवटा स्तम्भमा छापिएका थिए ।
गुटेनबर्ग छापाखानको लागि दक्ष व्यक्ति थिएनन् । बरु तिनी धातुको काममा पोख्त थिए जुन काम धातुबाट निर्मित चलायमान टाइपको प्रयोग गरी पुस्तक प्रकाशनको लागि निकै महत्त्वपूर्ण साबित भयो । पन्ध्रौँ शताब्दीको मध्यतिर गुटेनबर्गले बाइबल छाप्दा तिनले आफ्नो नयाँ छापाखानाको विकासको लागि पहिले नै बिस वर्ष बिताएका थिए भनी विश्वास गरिन्छ ।
गुटेनबर्गले १८० प्रति बाइबल छापेका थिए भनी विश्वास गरिन्छ जसमध्ये ४९ ओटा (आंशिक वा पूर्ण) अहिले पनि जर्मनी, बेलायत, अमेरिका, रुसजस्ता संसारका विभिन्न देशमा विद्यमान छन् । तिनले छापेका एक प्रति बाइबलको मूल्य सरदर कर्मचारीको तीन वर्षको तलब बराबर पर्थ्यो ।
१८० वटै बाइबल छाप्न तिनदेखि पाँच वर्षको समयावधि लागेको थियो र १४५६ सम्ममा यी सबै बाइबल छापिएका थिए । ल्याटिन भाषामा छापिएको यस गुटेनबर्ग बाइबलमा जम्माजम्मी १,२८६ पृष्ठ थिए । छाप्ने सम्पूर्ण प्रक्रिया हातैले गरिएको थियो । गुटेनबर्ग बाइबलले पुस्तकहरूको छपाइमा मात्र गहन प्रभाव पारेन, तर बाइबलका भावी संस्करणहरूमा पनि उत्तिकै प्रभाव पार्यो । पछिल्ला संस्करणहरूका लागि यो नमुना बन्यो ।
यी बाइबलहरू संसारकै सर्वाधिक मूल्यवान् पुस्तकहरूमा पर्छन् । ख्रिस्टाब्द १९७८ मा एउटा पूर्ण गुटेनबर्ग बाइबललाई २२ लाख अमेरिकी डलरमा बेचिएको थियो । आज गुटेनबर्ग बाइबलको एउटा पूर्ण प्रतिलाई करिब तीन अरब नेपाली रुपियाँ पर्छ भनी अनुमान गरिएको छ ।