अङ्ग्रेज प्राकृतिक इतिहासका पिता जोन रे एक शसक्त ख्रीष्टियान थिए

जोन रेलाई अङ्ग्रेज प्राकृतिक इतिहासका पिता मानिन्छ । रसायनशास्‍त्री रोबर्ट बोएलेसँगै तिनी पनि रोएल सोसाइटीका संस्थापक सदस्य थिए । वनस्पतिशास्‍त्र र प्राणीशास्‍त्र दुवैमा तिनी आफ्नो समयका महान्‌तम अधिकारी थिए । तिनको हिस्टोरिया प्लान्टरममा उल्लिखित बोट-बिरुवाहरूको वर्गीकरण आधुनिक जीव वर्गीकरणशास्त्रको लागि एउटा महत्त्वपूर्ण खुड्किलो थियो ।

ख्रिस्टाब्द १६२७ मा इङ्गल्यान्डमा जन्मेका जोन १६ वर्ष लागेपछि तिनलाई क्याम्ब्रिज विश्वविद्यालयमा पठाइयो । शिक्षालयमा अध्ययन गर्नुका अतिरिक्त तिनको प्रचार गर्ने आदत पनि थियो । क्याम्ब्रिजमा तिनले प्राकृतिक इतिहासको अध्ययन गर्दै आफ्नो अधिकांश समय बिताए । यो एउटा यस्तो अध्ययन थियो जसको निम्ति तिनले आफ्नो जीवनकै अधिकांश हिस्सा लगानी गरे  ।

जोन एक बलिया ख्रीष्‍टियान मात्र थिएनन् तर सृष्‍टिवादी पनि थिए । तिनीद्वारा प्राकृतिक ईश्‍वरशास्‍त्रबारे लिखित मनग्गे कृतिहरूमध्ये यो एउटा मुख्य कृति होः The Wisdom of God Manifested in the Works of the Creation. यस कृतिमा तिनले वर्णन गरेका छन् कि प्रकृति र अन्तरिक्षमा भएका सबै साक्षी परमेश्‍वरका सृष्‍टि हुन् जसलाई बाइबलमा पुष्‍टि गरिएको छ । यो तिनको सर्वाधिक लोकप्रिय र प्रभावशाली पुस्तक थियो । हाम्रो तर्कशास्त्र र अनुभवले बताउँछ कि हरेक रचनाको पछाडि रचनाकार हुनैपर्छ । सत्रौँ शताब्दीका अधिकांश वैज्ञानिकहरूका लागि यो तर्क सामान्य थियो । पछिल्ला वैज्ञानिक खोजहरूले यस तर्कलाई अझै बलियो बनाउँदै लगेका छन् । परमेश्वरको अस्तित्वको पक्षमा पेस गरिने अधिकांश तर्कहरूमध्ये यो एउटा बलियो तर्क हो जसलाई सोद्देश्यपूर्ण तर्क भनिन्छ ।

जोनका रचनाहरूले परमेश्‍वरलाई सृष्‍टिकर्ताको रूपमा उल्लेख गरे जसको बुद्धि सृष्‍टिका कामहरूमा छर्लङ्ग देखिएको छ । तिनका अनुसार उहाँ सबै थोकका उद्धारकर्ता पनि हुनुहुन्छ । तिनले वनस्पतिशास्‍त्र, प्राणीशास्‍त्र र प्राकृतिक ईश्‍वरशास्‍त्रबारे २३ ओटा कृति प्रकाशित गरे । दुर्बलताका बाबजुत पनि तिनी ७७ वर्षसम्म बाँचे । ख्रिस्टाब्द १७०५ मा यस धरतीबाट बिदा भएका तिनको शवलाई सन्त पत्रुस तथा सन्त पावल समाधि-स्थलमा दफन गरिएको थियो जहाँ तिनको स्मारक खडा छ ।

Facebook Comments

Powered by Youth Circle