किम दे जुङ्ग दक्षिण कोरियाका आठौँ राष्ट्रपति थिए जसले ख्रिस्टाब्द १९९८-२००३ सम्म शासन गरे । २००० मा नोबेल शान्ति पुरस्कार जितेका किमलाई “एसियाको नेल्सन मन्डेला” भनेर पनि चिनिन्छ ।
ख्रिस्टाब्द १९२४ मा किमको जन्म दक्षिण कोरियामा मध्यम वर्गीय किसान परिवारमा भएको थियो । परिवारमा जन्मेका सात सन्तानमध्ये तिनी माहिला थिए । १९५४ मा राजनीतिमा प्रवेश गरेका किम १९६७ मा आइपुग्दा सुप्रसिद्ध प्रतिद्वन्द्वी अगुवा बनिसकेका थिए ।
१९७३ मा किम अपहरणमा परे । दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिसाथै तानाशाह पार्क चुङ्ग हिको कार्यक्रमको आलोचना गरेकाले किमलाई जापानको राजधानी टोकियोको होटलबाट अपहरण गरिएको थियो । अपहरणमा पर्दा परमेश्वरले तिनलाई कसरी अचम्म तरिकाले बचाउनुभएको थियो भनी ख्रिस्टाब्द २००० मा नोबेल शान्ति पुरस्कार हात पार्दा तिनले जानकारी गराएका थिए:
“परमेश्वर सधैँ मसँग हुनुहुन्छ भन्ने विश्वाससहित म बाँचेको छु र म त्यसलाई निरन्तरता दिने छु । १९७३ को अगस्तमा म जापानमा निर्वासित हुँदा दक्षिण कोरियाको सैनिक सरकारका इन्टेलिजेन्स प्रतिनिधिहरूद्वारा टोकियोको होटलबाट मलाई अपहरण गरियो । त्यस घटनाको समाचारले संसारलाई चकित तुल्यायो । ती प्रतिनिधिहरूले मलाई समुद्रीतटमा रोकिराखेको तिनीहरूको डुङ्गामा लगे । तिनीहरूले मलाई बाँधे; मेरा आँखा छोपिदिए अनि मेरो मुख बन्द गरिदिए । तिनीहरूले मलाई डुङ्गाबाट फ्याँक्नै खोज्दा येशू ख्रीष्ट मेरो सामु स्पष्ट रूपमा देखिने गरी प्रकट हुनुभयो । म उहाँमा टाँसिएँ र मलाई बचाउन मैले उहाँलाई बिन्ती चढाएँ । ठिक त्यही क्षणमा मृत्युको क्षणबाट मलाई बचाउन आकाशबाट एउटा विमान ओर्लियो ।”
देश आर्थिक सङ्कष्टले जेलिएको बेलामा राष्ट्रपतिको पद सम्हालेका भए तापनि किमले दक्षिण कोरियाली अर्थतन्त्रमा औधी सुधार ल्याए ।
२००८ मा किमले पोर्टल्यान्ड विश्वविद्यालमा मानार्थ विद्यावारिधि प्राप्त गरेका थिए जहाँ तिनले “चुनौती, प्रतिक्रिया र परमेश्वर” नामक शीर्षकमा आफ्नो भाषण प्रस्तुत गरे ।
२००९ मा ८५ वर्षको दीर्घायुमा पूर्वराष्ट्रपति किमको निधन भएको थियो । दक्षिण कोरियाली इतिहासमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि पाउने पार्क चुङ्ग हिपछि तिनी दोस्रा व्यक्ति बने ।