विज्ञानले सुप्रसिद्ध नास्तिक वैज्ञानिक स्यान्डेजलाई ख्रीष्टियानमा रूपान्तरण गर्‍यो

विज्ञान र धर्मको विषयसित सम्बन्धित सम्मेलनमा छलफल विश्वको उत्पत्तिमा केन्द्रित हुनेथियो । वैज्ञानिकहरू दुई भागमा विभाजित हुनुपर्थ्यो— परमेश्वरमाथि विश्वास गर्ने र परमेश्वरमाथि विश्वास नगर्ने । मञ्चमा वैज्ञानिकहरूको भिड लागेको थियो ।

वैज्ञानिकहरूको त्यस सम्मेलनमा अलान आर. स्यान्डेजले पनि भाग लिएका थिए । स्यान्डेज बिसौँ शताब्दीका अमेरिकाका अत्यधिक प्रभावशाली खगोलविद् थिए । सहभागीहरूमध्ये धेरैले तिनलाई नास्तिकको रूपमा चिन्थे होलान् । निस्सन्देह, स्यान्डेज परमेश्वरमाथि विश्वास नगर्ने वैज्ञानिकहरूको समूहमा गएर मिसिन्थे भनी अपेक्षा गरिएको थियो ।

तर त्यहाँ अनपेक्षित कुरो भयो । तिनी परमेश्वरमाथि विश्वास गर्नेहरूको समूहमा गए । अझै छक्क पार्ने कुरो के थियो भने पचास वर्षकै उमेरमा ख्रीष्टियान भएका थिए भनी तिनले त्यहाँ सार्वजनिक रूपमा पर्दाफास गरे ।

भौतिक शास्त्रले महाविस्फोटलाई व्याख्या गर्न नसक्ने भएकोले यसको पछाडि अलौकिक तत्त्व रहेकै हुनुपर्छ भन्ने स्यान्डेजको ठम्याइ रहेको थियो । पदार्थ, अन्तरिक्ष, समय र शक्तिको आकस्मिक उत्पत्तिले कुनै न कुनै किसिमको पराभौतिक अस्तित्वको आवश्यकतालाई दर्शाउँछ ।

स्यान्डेजले भनेका छन्, “मेरो विज्ञानले मलाई संसार विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा निकै जटिल छ भन्ने निष्कर्षमा पुर्‍यायो ।” पछि तिनले पत्रकारलाई बताए, “अस्तित्वको रहस्यलाई म अलौकिक शक्तिद्वारा मात्रै बुझ्न सक्छु ।”

ख्रिस्टाब्द १९२६ मा अमेरिकामा जन्मेका स्यान्डेजले पहिलो पटक तर्कसङ्गत रूपमा विश्वको आरम्भको मिति निधो गरेका थिए । पहिलो क्वासर पत्ता लगाउने वैज्ञानिक पनि तिनी नै थिए । तिनी बिसौँ शताब्दीका सर्वाधिक प्रभावशाली खगोलविद्‌हरूको सूचीमा पर्छन् । १९५३ मा विद्यावारिधि गरेका तिनी खगोलविद् एडविन हब्बलका सहयोगीसमेत भएका थिए ।

हब्बलको निधनपश्चात् स्यान्डेजले हब्बलको खोजलाई जारी राखे । स्यान्डेज खोजको लागि खुरन्धार लागि पर्थे । तिनले आफ्नो जीवनकालमा ५०० भन्दा बेसी शोधपत्र प्रकाशित गरे । २०१० मा ८४ वर्षको दीर्घायुमा यस धरती नछाडुन्जेलसम्म तिनी सक्रिय खोजकर्ता बनिरहे । विभिन्न पुरस्कारहरू हात पारेका स्यान्डेजले आफू ख्रीष्टियान भएका घोषणा गरेपछि धर्म र विज्ञानसित सम्बन्धित मनग्गे निबन्धहरू लेख्न सुरु गरे ।

यसरी आधुनिक वैज्ञानिक खोजहरूले संसारकै विख्यात नास्तिक खगोलविद्लाई आस्तिकवादमा मात्र रूपान्तरण गरेनन्, तर ख्रीष्टियानमा पनि ।

Facebook Comments

Powered by Youth Circle