विश्व प्रसिद्ध उपन्यासकार टाल्सटाय येशूको शिक्षाबाट अत्यन्तै प्रभावित थिए

लिओ टाल्सटाय विश्व साहित्यमा एक ओजस्वी नाउँ हो । रुसी उपन्यासकार टाल्सटायलाई एक महान्‌तम स्रष्टाको रूपमा आदर गरिन्छ । वार एन्ड पिसअन्ना करेनिना नामक दुईवटा शक्तिशाली उपन्यासका लागि तिनी सुविख्यात छन् । तिनका कृतिहरूले तिनको जीवन कालमा मात्र नभएर अनुगामी इतिहासमा पनि विचारणीय प्रभाव पारेका छन् ।

ख्रिस्टाब्द १८२८ मा रुसमा जन्मेका टाल्सटायले दुई वर्ष नपुग्दै आफ्नी आमा गुमाए । कुलीन परिवारमा जन्मेका टाल्सटायले उपन्यास अन्ना करेनिनालाई पूर्णता दिएसँगै तिनी आत्मिक सङ्कष्टको भूमरीमा जेलिए । तिनी निकै निराश भए । जीवनको उद्देश्य प्राप्तिको लागि तिनले सङ्घर्ष गरे । अन्तत: आत्महत्या गरी आफ्नो जीवनलाई पाखा लगाउने विचार गरे तापनि तिनी रोकिए ।

१८७९ मा टाल्सटाय ख्रिस्टियमतमा आए । १८८४ मा तिनले ह्वाट आई बिलिभ नामक पुस्तक लेखे जसमा तिनले खुला रूपमा ख्रीष्टियान विश्वासलाई स्वीकार गरेको तथ्यलाई अभिलिखित गरेका छन् । तिनले येशू ख्रीष्टको शिक्षामाथि विश्वास गरे, खास गरी डाँडाको उपदेश (मत्ती ५-७) बाट तिनी औधी प्रभावित थिए ।

डाँडाको उपदेशको एउटा अंशमा येशूले भन्नुभएको छ, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्‍दछु, दुष्‍टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्‌काउला, त्‍यसलाई अर्को गाला पनि थापिदेऊ । यदि कोही मानिसले मुद्दा चलाएर तिम्रो दौरा लिने दाबी गर्छ भने, त्‍यसलाई तिम्रो खास्‍टो पनि दिइहाल । यदि कसैले तिमीलाई एक किलोमिटर जान बाध्‍य गर्छ भने, ऊसँग दुई किलोमिटर गइदेऊ । तिमीसँग माग्‍नेलाई देऊ, र तिमीसँग कर्जा लिन चाहनेलाई इन्‍कार नगर” (मत्ती ५:३८-४२) । येशूको यस शिक्षालाई टाल्सटायले हिंसारहित आज्ञाको रूपमा बुझेका थिए । तिनको बुझाइअनुसार यो शान्तिवादको सिद्धान्त हो । जर्ज फक्स, विलियम पेन र जोनाथन डाइमोन्डजस्ता हिंसारहित शिक्षा सिकाउने परिचित ख्रीष्टियान अगुवाहरूबाट तिनले पत्रहरू प्राप्त गर्थे । महात्मा गान्धीमाथि टाल्सटायको औधी प्रभाव परेको थियो ।

आर्थिक भौतिक उन्नतिबाट नभई मानवीय स्वभावको असल अवस्थालाई वृद्धि गरेर सिद्ध समाजको स्थापना गर्न सकिन्छ भन्ने टाल्सटायको विचार रहेको थियो । तत्कालीन रुसी अर्थोडक्स मण्डलीसित तिनको पूर्णतः सहमति नभए तापनि ख्रीष्टको शिक्षाको सारमा तिनी रमाएका थिए ।

Facebook Comments

Powered by Youth Circle