भाइकिङ्गहरूको रूपान्तरण ख्रीष्‍टको सुसमाचारीय शक्‍तिको एउटा सर्वोत्तम नमुना हो

आठौँ शताब्दीदेखि एघारौँ शताब्दीसम्म उत्तरी युरोपमा बसोबास गर्ने भाइकिङ्गहरू लुटमारको लागि कहलिएका थिए । यिनीहरू अत्यन्तै हिंस्रक मानिसहरू थिए । तिनीहरूले लुटेका भूमिमा बसोबास गर्ने ख्रीष्‍टियानहरूले यसरी प्रार्थना गर्थे, “हे परमेश्‍वर, हामीलाई भाइकिङ्गहरूबाट बचाउनुहोस् ।” खास गरी मठाश्रमहरूजस्ता धार्मिक संस्थाहरू तिनीहरूका निसानामा पर्थे किनकि तिनमा बहुमूल्य वस्तुहरू राखिन्थे र सुरक्षाको दृष्‍टिकोणबाट ती कमजोर थिए । तिनीहरूले लुटपाट गर्नुका अतिरिक्‍त पुरुषहरू, स्‍त्रीहरूसाथै बालबालिकाहरूलाई पनि मार्ने गर्थे । लुटेर बाँकी रहेका थोकहरूमा तिनीहरूले व्यवस्‍थित ढङ्गमा आगो लगाइदिन्थे ।

यस्ता डरलाग्दा मानिसहरूलाई केले परिवर्तन गर्‍यो ? येशू ख्रीष्‍टको सुसमाचारले । सुसमाचार पुग्दा सुरु-सुरुमा विद्रोह जनाए तापनि समय बित्दै गएपछि तिनीहरूले सुसमाचारको महत्त्वलाई बुझे र तिनीहरू परिवर्तित ख्रीष्‍टियानरू भए । तिनीहरूले आफ्ना लुटमारहरू त्यागिदिए । रक्‍तपात, कालो जादु, शिशु हत्या, दासप्रथासाथै बहुविवाहजस्ता पुराना अभ्यासहरू अवैधानिक भए ।

ओलाफ द्वितीय नर्वेका राजा थिए जो भाइकिङ्ग थिए । करिब ९९५ मा नर्वेमा जन्मेका तिनले ख्रिस्टाब्द १०१५-१०२८ सम्म शासन गरे । एक महत्त्वपूर्ण ऐतिहासिक पात्रको रूपमा तिनको सम्झना गरिन्छ । यी राजाले फ्रान्स, स्पेन, स्विडेन, डेनमार्क हल्यान्डसाथै इङ्गल्यान्डमा लुटपाट मात्र मच्‍चाएका थिएनन्, तर प्रधान बिशपको समेत हत्या गरेका थिए । तर यी भयङ्कर डरलाग्दा डाँकु ओलाफ ख्रीष्‍टियान बने । सुसमाचार तिनले चाहेका कुरो थिएन, तर सुसमाचार तिनको सही औषधी थियो । आफू ख्रीष्‍टियान हुनेबित्तिकै तिनले आफ्नो राज्यभरि ख्रीष्‍टियान विश्‍वासको बारेमा प्रचार गरे र मण्डलीहरू स्थापना गरे । चाँडै नै नर्वेभन्दा बाहिर तिनको प्रभाव फैलियो । तिनी मध्यकालीन ख्रीष्‍टियान जगत्‌का नायक बने जसको मृत्युले नर्वेको रूपान्तरणमा उल्लेखनीय भूमिका खेल्यो ।

संसारका विभिन्‍न मुलुक, संस्कृति र जातिहरूका बिचमा नैतिकताको स्तरलाई उकासी सभ्यता निर्माणमा ख्रीष्‍टियान शिक्षाले उल्लेखनीय भूमिका निर्वाह गरेको छ जसमध्ये भाइकिङ्गहरूको परिवर्तन र हिंस्रक नर्वेली राजा ओलाफको रूपान्तरण मननयोग्य नमुना छ । सम्भवतः भाइकिङ्गहरूको जीवन परिवर्तन प्रभु येशू ख्रीष्‍टको सुसमाचारको शक्‍तिको सर्वोत्तम नमुना हो ।

Facebook Comments

Powered by Youth Circle