ख्रीष्टियानहरूका लागि मृत्यु केवल छाया हो

१८९५ मा अमेरिकामा जन्मेका डोनाल्ड जी. बार्नहाउस प्रचारक, पास्टर, ईश्वरशास्त्रीसाथै लेखक थिए । ख्रिस्टाब्द १९२७ देखि १९६० मा आफ्नो मृत्यु नहुञ्जेलसम्म तिनले अमेरिकाको पेन्सलभेनियामा स्थापित टेन्थ प्रेसबिटेरिएन चर्चमा पास्टरीय सेवाकार्य गरेका थिए । द बाइबल स्टडी आवर नामक तिनको रेडियो कार्यक्रम आजसम्म पनि जारी छ र आज यस कार्यक्रम डाक्टर बार्नहाउस एन्ड द बाइबल नाउँले परिचित छ । १९३१ बाट तिनले रेभेलेसन नाम पत्रिका प्रकाशित गर्न थाले जसमा तिनका प्रवचन, आख्यानसाथै अर्थ खोलाइहरू छापिन्थे । यस पत्रिकाले १९ वर्षसम्म निरन्तरता पाएको थियो ।

मनग्गे लेख रचनासाथै पुस्तकहरूका लेखक बार्नहाउसले रूथसित बिहे गरे र यी दम्पत्तिबाट चार छोरी जन्मे । क्यान्सरको कारण पत्नीको मृत्युपश्चात् छोरीहरूलाई हुर्काउने जिम्मा तिनको काँधमा आयो । तिनले सम्भवत: अरू कसैले नगर्ने कुरो गरे अर्थात् तिनले आफ्नै पत्नीको अन्त्येष्टि सेवा सञ्चालन गरे ।

पास्टर बार्नहाउस आफ्ना छोरीहरूसँगै अन्त्येष्टि सेवाको लागि जाँदै थिए । जीवनमा आइपरेको त्यस दु:खद परिस्थितिको बारेमा छोरीहरूलाई केही भन्न मन लाग्यो पास्टरलाई । कार हाँक्दै गर्दा तिनीहरू ट्राफिक बत्तीमा आएर रोकिए । दिन उज्यालो थियो । सूर्यको किरण तिनीहरूको कारभित्र प्रवेश गरी तिनीहरूलाई न्यानो पार्दै थियो । तिनीहरूको पछाडि एउटा ट्रक आएर रोकियो । ट्रकको छायाले तिनीहरूको कारको भित्री भागलाई अँध्यारोमा परिणत गरिदियो । त्यस परिस्थितिलाई प्रयोग गर्दै पास्टरले आफ्ना छोरीहरूलाई सोधे, “तिमीहरूलाई केले प्रहार गरेका चाहन्छयौ— छाया कि ट्रक ?” एक जनाले उत्तर दिइन्, “बुबा पनि कस्तो वाहियात प्रश्न सोध्नुहुन्छ! छायाले हामीलाई चोट पुर्‍याउन सक्दैन । मलाई त ट्रकले भन्दा छायाले नै प्रहार गरोस् ।”

त्यसपछि पास्टरले तिनीहरूकी आमाको मृत्युबारे व्याख्या गर्ने कोसिस गरे । पास्टरले भने कि उनको मृत्यु केवल छायाको प्रहारजस्तो थियो; येशू उनको ठाउँमा आउनुभयो र ट्रकले उहाँलाई हान्यो । तिनले भजनसंग्रह २३ बाट परिचित वचनहरू उद्धृत गरे, “मृत्युको अन्धकारमय घाटी भएर जानुपरे तापनि म कुनै खतरादेखि डराउनेछैनँ, किनकि तपाईं मेरो साथमा हुनुहुन्छ ।”

Facebook Comments

Powered by Youth Circle