येशू शान्तिका राजकुमार हुनुहुन्छ– अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टर

जिम्मी कार्टर संयुक्त राज्य अमेरिकाका उनन्चालिसौँ राष्ट्रपति हुन् जसले ख्रिस्टाब्द १९७७-१९८१ सम्म सेवा गरे । कार्टर सेन्टर नामक गैरसरकारी संस्थामा तिनले पुर्‍याएको योगदानको तारिफ गर्दै २००२ मा तिनलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । विकासोन्मुख मुलुकहरूमा शान्ति सम्झौताको पहल गर्न, चुनावको अवलोकन गर्न अनि रोग रोकथामसाथै उन्मूलनलाई बढवा दिन तिनले प्रचुर मात्रामा यात्रा गरेका छन् । घरवारविहीनहरूलाई घर बनाइदिने संस्था ह्याबिट्याट फर ह्युमानिटीमा पनि तिनी नै मुख्य पात्र हुन् । तिनले विविध शीर्षकहरूमा केही पुस्तकहरूसमेत लेखेका छन् ।

१९२४ मा अमेरिकाको एउटा अस्पतालमा कार्टरको जन्म भएको थियो जहाँ तिनकी आमा नर्स भएर काम गर्थिन् । अस्पतालमा जन्म लिने प्रथम राष्ट्रपति कार्टर नै हुन् । तिनी जेठा छोरा थिए ।

नेपाली भूमिमा समेत पाइला टेकेका कार्टरले ११ वर्षकै कलिलो उमेरमा प्रभु येशू ख्रीष्टमाथि भरोसा गरेका थिए । तिनले बाल सङ्गतिमा सिकाउने गर्थे र तिनी जर्जियामा पर्ने आफ्नो गृह नगर प्लेन्सस्थित मारानाथा ब्याप्टिस्ट चर्चका डिकन हुन् । तिनी दैनिक प्रार्थना गर्छन् र येशू ख्रीष्‍ट तिनको जीवनमा प्रेरणाको स्रोत हुनुहुन्छ ।

कार्टर सम्भवतः ह्वाइट हाउस (श्वेत गृह) मा आसिन हुने सर्वाधिक समर्पित ख्रीष्टियान राजनीतिज्ञ हुन् । आफ्नो शासनअवधि र त्यसपछिको समयमा इभान्जलिकल ख्रिस्टियमतलाई मूलधारमा ल्याउन तिनी मूख्य माध्यम बनेका थिए ।

समष्टिगत बाइबलको सन्देश साँचो छ भनी विश्वास गर्ने कार्टर येशूको ख्रीष्टको पुनरुत्थानको पक्षमा यसरी तर्क गर्छन्, “येशूको पुनरुत्थानमाथि भएको मेरो भरोसा मेरो ख्रीष्टियान विश्वासबाट आउँछ, कुनै वैज्ञानिक प्रमाणको खाँचोबाट होइन ।”

२००२ मा नोबेल शान्ति पुरस्कार हात पार्दा तिनले प्रभु येशूलाई यसरी उचालेका थिए, “म येशू ख्रीष्टको आराधना गर्दछु जसलाई हामी ख्रीष्टियानहरू शान्तिका राजकुमार मान्छौँ ।” ईश्‍वरशास्‍त्रका ज्ञाता नभए तापनि कार्टरले जीवनमा बाइबलबाट धेरै कुरा सिकेका छन्, “मेरा अधिकांश ज्ञान मेरो अनुभव र बाइबलमा उल्लिखित पाठहरूबाट आउँछन् ।” बाइबल तिनको जीवनको महत्त्वपूर्ण हिस्सा थियो, “बाइबल र बाइबलको अध्ययन मेरो जीवनको महत्त्‍वपूर्ण भाग बनेको छ ।”

Facebook Comments

Powered by Youth Circle