बारम्बार आत्महत्या गर्ने प्रयास गरेका कुपरलाई बाइबलले बदल्यो

३२ वर्षको उमेरमा विलियम कुपरले आफ्नो जीवनमा ठुलो सङ्कष्टमय परिस्थितिको सामना गर्नुपर्‍यो । अफिमबाट निर्मित औषधि पिएर तिनले आत्महत्या गर्ने कोसिस गरे । तर तिनी मरेनन् ।

त्यसपछि तिनले घोडाले तान्ने वाहन भाडामा लिए र चालकलाई थेम्स नदीको पुलमाथि निर्मित साँघुमा लैजाने आज्ञा दिए । त्यहाँबाट हाम्फालेर आत्महत्या गर्ने मनसाय थियो कुपरको । त्यस बेला लन्डनमा बाक्‍लो कुइरो लागेको थियो । तिनीहरूले आफ्नो यात्रालाई एक घण्टासम्म जारी राखे तापनि छनोट गरिएको स्थल आइपुगेन । दिक्क मानेर ओर्लन खोज्दा कुपर छक्क परे किनकि कुइरोको कारणले तिनीहरूले उही ठाउँमा पो चक्कर लगाइरहेका रहेछन्! अन्त्यमा तिनी आफ्नै घरको ढोकाको सङ्घारमा देखा परे ।

भोलीपल्ट बिहान चक्कुले आत्महत्या गर्ने प्रयत्न गरे । फेरि पनि बाँचे । आफैलाई झुन्ड्याएर यस धरतीबाट बिदा हुन खोजे तर बेहोस मात्र भए । पटक-पटक आत्महत्या गर्न खोज्दा पनि तिनी सफल भएनन् ।

एक बिहानको कुरो हो । प्रसन्न मुद्रामा हुँदा तिनले बाइबल हातमा लिई पावलले रोमीहरूलाई लेखेका पत्रको एउटा पद पढे, “परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चित्तको बलिदान स्वरूप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित्त विश्वासद्वारा ग्रहण गर्नुपर्दछ । यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो, किनभने उहाँको ईश्वरीय धैर्यमा अगाडिका पापहरूलाई उहाँले वास्ता गर्नुभएको थिएन” (रोमी ३:२५) । तत्कालै विश्वास गर्ने शक्ति प्राप्त गरे कुपरले । परमेश्वरको क्षमा दिन सक्ने शक्तिमा हर्षित भए तिनी । तिनले आफ्नो जीवन येशूको पाउमा सुम्पे ।

पछि कुपर अठारौँ शताब्दीका निकै प्रसिद्ध भजन लेखक कहलाइए । १७३१ मा इङ्गल्यान्डमा जन्मेका तिनी आफ्नो समयका औधी लोकप्रिय भजन लेखक बने । तिनलाई स्वच्छन्दतावादी कविताको अग्रदूतको रूपमा पनि आदर गरिन्छ । एक जना लेखकका अनुसार त तिनी “सर्वश्रेष्ठ आधुनिक कवि” हुन् ।

कुपरले दासप्रथाको विरुद्धमा पनि मनग्गे कविताहरू रचे । तिनी दासप्रथाको खरो विरोधी थिए । दासप्रथाको विरुद्धमा लेखिएको तिनको एउटा कवितालाई नागरिक अधिकार अभियानका हिमायती डा. मार्टिन लुथरले बारम्बार उद्धृत गरे ।

यसरी बारम्बार असफल हात्महत्या गर्ने चेष्टा गरेका कुपर बाइबलीय खण्डको परिणामस्वरूप सामान्य विश्वासीको रूपमा मात्र बाँचेनन्, तर लोकप्रिय भजन लेखकसाथै सामाजिक सुधारक पनि बने ।

Facebook Comments

Powered by Youth Circle