दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई

हाम्रो देशको उत्तरपट्टि रहेको छिमेकी मुलुक चीनको एउटा सानो नगरमा एक जना ख्रीष्टियान मिसनरी आइपुगिन् । लुटेराहरूको एउटा समूहले त्यस नगर र त्यसमा भएको हरेक कुरोलाई भर्खरै नष्ट पारेको रहेछ । त्यसपछि एक जना स्थानीय ख्रीष्टियानले भग्नावशेषमा परिणत भएको आफ्नो घरलाई देखाए ।

छत जलेर नष्ट भएको थियो; घरका काठपातहरू खरानी भएका थिए; सग्लो वस्तु मुश्किलैले फेला पार्न सकिन्थ्यो । आफ्ना बाइबल र भजन किताबलाई देखाउँदै दुःखी भएर ती ख्रीष्टियानले भने, “तिनीहरूले मेरा बाइबल र भजन किताबलाई पनि जलाइदिए!”

ती स्थानीय ख्रीष्टियानले भग्नावशेषबाट आफ्नो चिनियाँ भाषाको भजन किताबबाट एउटा पाना टिपे । आगोले नजलाएको पाना त्यही मात्र रहेछ । मिसनरीले आफ्नो हातमा लिएर त्यसलाई पढे, “दुनियाँ रमाऊ र ग्रहण गर ख्रीष्ट प्रभु राजालाई ।” यो ख्रीष्टीय भजन ३८ का शब्दहरू हुन् र अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गरिएको भजन हो । अङ्ग्रेजीमा एक करोडभन्दा बेसी पटक हेरिएको यस भजनलाई युटुबमा हेर्न र सुन्न सकिन्छ ।

के यो प्रभुको उपस्थिति हुँदा पूर्ण विनाशको बिचमा पनि रमाउन सकिन्छ भन्ने प्रस्ट सन्देश होइन र ? त्यो नजलेको पानाले ती लुटेराहरूलाई यही सन्देश दिँदै थियो कि प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभएकोले दुनियाँ रमाओस् ।

यो क्यारोलसम्बन्धी लोकप्रिय भजन हो । भजनसंग्रह ९८ को दोस्रो आधा भागका वचनहरूमा आधारित रहेर प्रसिद्ध भजन लेखकसाथै ईश्वरशास्त्री आइज्याक वाट्सद्वारा रचित यो भजन पहिलो पटक ख्रिस्टाब्द १७१९ मा प्रकाशनमा आएको थियो ।

आइज्याक केवल ५ फिट अग्ला थिए र तिनको बडेमाको शिरलाई तिनको शरीरले थाम्न सक्दैन जस्तो देखिन्थ्यो । तिनको नाक बाङ्‌गिएको थियो; तिनका आँखा साना थिए भने तिनको शरीर कमजोर थियो । शारीरिक रूपमा तिनीसित आकर्षित गर्ने कुरो केही पनि थिएन । तथापि इतिहासमा तिनको नाउँ अमर छ । तिनले करिब ७५० ओटा भजन लेखे जसमध्ये केहीलाई अझै पनि गाइन्छ । परमेश्वरका मानिसहरूलाई बाइबल धर्मशास्त्रका वचनहरूलाई अर्थपूर्ण तवरले पद्यमा गाउन सक्षम तुल्याउनु नै तिनको दर्शन थियो ।

Facebook Comments

Powered by Youth Circle